बोनस मुद्दा पुग्यो सरकारको टेबलमा, २० प्रतिशतकै मागमा श्रमिक सङ्गठनहरू अडिग

0
972

दार्जिलिङ, १८ सेप्टेम्बर दार्जिलिङ पहाड़का चियाश्रमिकहरूका बोनस मुद्दा सरकारको टेबलमा पुगेको छ।

बोनसको मुद्दा सरकारको टेबलमा पुगेपछि दार्जिलिङ पहाड़का श्रमिक सङ्गठनहरूले निराशा व्यक्त गरेका छन्।

तरै पनि यी सङ्गठनहरूले चियाश्रमिकहरूका बोनस मुद्दा जहाँ नै पुगे पनि आफूहरू २० प्रतिशतभन्दा कम्तीमा नझर्ने अनि एकैपल्टमा बोनस भुक्तान गर्नुपर्ने मागमा अडिग रहेको बताएका छन्।

यसै मुख्य माग विषयमा आज दार्जिलिङ पहाड़का ७ वटा श्रमिक सङ्गठन मिलेर युनाइटेड ट्रेड युनियन अव् दार्जिलिङ हिल्स नामक एक साझा सङ्गठन पनि तयार पारेका छन्,  जसमा गोजमुमो, गोरामुमो, गोर्खालीग (लक्ष्मण खेमा), क्रामाकपा, तृणमूल कङ्ग्रेस, कङ्ग्रेस र माकपाका श्रमिक सङ्गठनहरू सामेल छन्। यद्यपि, यस सङ्गठनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक सङ्गठन भने सामेल नरहेको बताइएको छ।

यसबारे जानकारी गराउँदै गोजमुमोको श्रमिक सङ्गठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका अध्यक्ष सुरज सुब्बाले भने, “बोनस विषयक पहिलो बैठक विफल भएपछि शीघ्रै दोस्रो बैठक हुने आशा गरेका थियौँ। तर चियाकमानका मालिकपक्षले दोस्रो बैठक गर्नअघि नै बोनस सम्झौताको जिम्मेवारी सरकारलाई दिएको स्पष्ट भएको छ। यस्तो गरिनु निराशाजनक कुरा हो।

उनका अनुसार १४ सेप्टेम्बरका दिन तराई र डुवर्सका चियाश्रमिकहरूका बोनस दर एकैपल्टको बैठकमा छलफल भएको थियो। जसको फलस्वरूप तराई-डुवर्सका चियाश्रमिकहरूले २० प्रतिशतको दरले बोनस पाउने भइसकेका छन्।

“तर, दार्जिलिङ पहाड़का चियाश्रमिकहरूका लागि बैठक अझैसम्म पनि छलफल नहुनु निराशाजनक छ। जसले कोरोना महामारीको समय आफ्नो जीवनलाई सङ्कटमा पारेर भए पनि चिया उद्योगको विकासको लागि इमानदारपूर्वक आफ्नो कर्तव्य निर्वाह गरे”, सुब्बाले थपे, “तर उनीहरूले पाउनुपर्ने अधिकारको समय चियाकमानका मालिकहरूले विभिन्न बहाना बनाउने गरेका छन्।”

चियाकमानका मालिकहरूका कारण पहाड़का चियाश्रमिकहरूको बोनस बैठक सिलगढ़ीमा हुने तय भएको जानकारी गराउँदै यो बैठक यो बैठक दार्जिलिङमै हुनुपर्ने सुरज सुब्बाले माग पनि गरेका छन्।

यसरी नै दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले पनि द्विपक्षीय वार्ताको माध्यमबाटै समाधान हुनुपर्ने चियाश्रमिकहरूको बोनस मुद्दा श्रम विभागको टेबलमा पुगेकोमा निराशा व्यक्त गर्दै भने, “तर यो मुद्दा जतासुकै पुगोस्, हामी २० प्रतिशतभन्दा एक पैसा पनि कम्ती दरको बोनसमा मान्ने छैनौँ। साथै सम्पूर्ण चियाकमानलाई एउटै वर्गमा राखिनुपर्छ।“

उल्लेखनीय छ, विगत केही वर्षअघिसम्म दार्जिलिङ पहाड़का चियाबगानहरूलाई ए, बी, सी र डी वर्गमा विभाजन गरिन्थ्यो अनि त्यसै वर्गको आधारमा बोनस दर तय गरेर भुक्तान गर्ने चलन थियो। तर, केही वर्षदेखि यता यो वर्गीकरणको प्रथा बन्द भएर गएको छ अनि सबै चियाकमानलाई एउटै वर्गमा राखेर सबैलाई एउटै दरको बोनस दिने चलन शुरू भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here