भाजपा छाड़ेर बाबुल सुप्रियो तृणमूल कङ्ग्रेसमा सामेल

0
834

कोलकाता, १८ सेप्टेम्बरः केही महिनाअघि मोदी मन्त्रिमण्डलबाट हटाइएपछि राजनीतिबाट सन्न्यास लिएको घोषणा गर्ने सांसद बाबुल सुप्रियो भाजपा छाड़ेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्।

आसनसोलमा तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको विशेष उपस्थितिमा उनी तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्।

यसअवसरमा तृकं सांसद डेरेक ओ ब्रायन पनि उपस्थित थिए।

आसनसोलमा भाजपाका टिकटमा लगातार दुईपटक सांसद निर्वाचित भएका बाबुल सुप्रियो तृणमूल कङ्ग्रेसमा सामेल भएपछि भाजपालाई थप ठूलो झट्का लागेको छ।

पछिल्लो विधानसभा चुनाउमा पराजित बनेपछि भाजपाका एकपछि अर्का नेता पार्टी छाड़ेर राज्यको सत्तारूढ़ दलमा सामेल भइरहेका छन्।

तृणमूल कङ्ग्रेसमा सामेल भएपछि उनले सांसद पदबाट राजीनामा दिने बताएका छन्।

जानकारीका अनुसार सोमबार सुप्रियोले ममता ब्यानर्जीसँग भेट गर्नेछन्।

तृणमूल कङ्ग्रेसका प्रवक्ता कुणाल घोषले आउँदा दिनमा भाजपाका धेरै नेता तृणमूल कङ्ग्रेसमा सामेल दावी गरेका छन्।

पछिल्लो जुलाई महिनामा मोदी मन्त्रिमण्डलको विस्तार गरिँदा बाबुल सुप्रियो छाँटिएका थिए, जसका कारण उनी पार्टीप्रति असन्तुष्ट बनेका थिए।

जुलाई महिनाकै ३१ तारिख उनले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका थिए। त्यसबेला उनले कुनै अन्य दलमा सामेल नहुने पनि बताएका थिए।

उल्लेखनीय छ, २०१४ –को लोकसभा चुनाउअघि गायक बाबुल सुप्रियो राजनीतिमा आएका थिए। त्यसै वर्ष उनी आसनसोलबाट निर्वाचित भए। त्यसबेला उनलाई राज्यमन्त्री बनाइएको थियो।

२०१९ मा पनि उनी भाजपाको टिकटमा दोस्रोपटक आसनसोलबाट सांसद निर्वाचित भएका थिए। मोदीको दोस्रो कार्यकालमा पनि उनलाई क्याबिनेट मन्त्री बनाइएको थियो। तर पछिल्लो जुलाई महिनामा भएको क्याबिनेट विस्तारमा बाबुल सुप्रियोलाई मन्त्री पदबाट हटाइएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here