दार्जीलिङ फोटोग्राफी सोसाइटीद्वारा तीनदिने फोटो प्रदर्शनी आयोजित

0
1534

दार्जीलिङ, १८ अक्टोबर : स्थानीय चौरस्तामा तीनदिने छैटौं वार्षिक फोटो प्रदर्शनी शुरु भएको छ। फोटोग्राफीको माध्यमबाट दार्जीलिङको प्रचार-प्रसारको उद्देश्य राखेर दार्जीलिङ फोटोग्राफी सोसाइटी (डीपीएस)-द्वारा यो फोटो प्रदर्शनी राखिएको हो।

बिहीवारदेखि शुरु भएको यो फोटो प्रदर्शनी भोलि अर्थात् शनिवार सकिनेछ। डीपीएसका सदस्य चेतन छेत्रीले यस फोटो प्रदर्शनी आयोजनको उद्देश्यबारे बोल्दै दार्जीलिङ पहाड़लाई फोटोग्राफीमार्फत् प्रचार प्रसार गर्ने उद्देश्य राखेर दार्जीलिङ फोटोग्राफी सोसाइटीले प्रतिवर्ष यस्तो फोटो प्रदर्शनी आयोजन गर्ने सोच बनाएको बताए। छेत्री पेशाले व्यवसायी हुन्। यद्यपि फोटोग्राफीमा उनको लगाव गजबकै छ।

उनले दार्जीलिङ पहाड़ फोटोग्राफीका लागि अत्यन्त राम्रो स्थान भएका तापनि यसका लागि कुनै प्रकारको कार्यक्रमहरू आयोजित नहुनु दुःखको कुरा रहेको पनि बताए। दार्जीलिङ फोटोग्राफी सोसाइटी २०१४ मा गठन भएको छ।

अहिले यसका ६० पञ्जीकृत सदस्य तथा ३०,००० अनलाइन सदस्य छन्। डीपीएसका सदस्यहरू दार्जीलिङ पहाड़बाट मात्र छैनन्। तर, सिलगढ़ी, डुवर्स र सिक्किमबाट पनि छन्।

जानकारीका अनुसार सोसाइटीले समय समयमा अन्य मानिसहरूलाई पनि फोटोग्राफीका लागि प्रोत्साहित गर्दै आएको छ। छेत्रीका अनुसार अहिलेघरी सोशल मिडियामा धेरै प्रकारका फोटोहरू मानिसहरूले अपलोड गरिरहन्छन्।

विभिन्न सोशल साइटहरूमा अपलोड गरिएका फोटोहरूले राम्रो प्रतिक्रिया पनि पाइरहेका छन्। यसैले दार्जीलिङ फोटोग्राफी सोसाइटीले प्रतिमहिना फोटोग्राफी प्रतियोगिता राख्ने सोच बनाइरहेको उनको भनाइ छ।

‘‘दार्जीलिङबाहिर फोटोग्राफीलाई लिएर धेरै राम्रो कार्य भइरहेको छ। तर, दार्जीलिङमा यस्तो कुनै मञ्च छैन। तथापि हामीले यहाँ यसका लागि कार्य गर्ने कोशिश गरिरहेका छौं’’, छेत्रीले भने।

ल्याण्डस्केप, पोर्टेट, वनस्पति एवं जीवजन्तु, दार्जीलिङका ग्रामीण क्षेत्र, फेशनलगायतका फोटो प्रदर्शनीमा राखिएका छन्, जुन बिक्रीका लागि पनि उपलब्ध छन्।

जानकारीका अनुसार एउटा फोटोको मूल्य १,५०० देखि २,५०० तोकिएको छ। छेत्रीका अनुसार फोटोको बिक्री पनि राम्रै भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here