पुतिनबारीका समस्याहरू देखाउँदै बिष्टले भने- जनता मूलभूत सुविधाबाट वञ्चित हुन नपरोस्

0
1064

सिलगढ़ी, 18 अक्टोबरः हिँड़ेर र ट्र्याक्टर चढ़ेर पुतिनबारी चियाबगान पुगेका सांसद राजु बिष्टले स्थानीय मानिसहरूले वर्षौंदेखि झेल्दै आएका समस्याहरू समाधानका लागि स्थानीय प्रशासन र राज्य सरकारसँग अनुरोध गरेका छन्।

पुतिनबारीका मानिसहरूले सहिरहेका आएका देखाउँदै उनले भनेका छन्, ‘हाम्रो देशले स्वतन्त्रता प्राप्त गरेको 73 वर्ष भइसक्दा पनि हाम्रा जनता सड़क र पानीजस्ता मूलभूत सुविधाहरूबाट वञ्चित हुन नपरोस् भनी सुनिश्चित गर्न म स्थानीय प्रशासन  र राज्य सरकारसँग अनुरोध गर्दछु।’

सिलगढ़ीदेखि करिब 10-12 किलोमिटर टाढ़ा रहेको पुतिनबारी चियाबारी पुगेपछि त्यहाँका समस्याहरू देखेर बिष्ट छक्क परेका थिए।

सांसदका अनुसार पुतिनबारी चियाबारी बङ्गालकै दोस्रो सबैभन्दा ठूलो शहरको नजिकै हुँदा हुँदै पनि यहाँका जनता भने सड़क सम्पर्कबाट आजका दिनसम्म वञ्चित रहेका छन्।

बिष्टले विशेषगरी पुतिनबारी चियाबगानलाई अन्य स्थानसँग जोड़्ने पुल भत्केको धेरै वर्ष भइसक्दा पनि अझसम्म त्यसको पुनर्निर्माणका लागि कुनै पहल नगरेको पनि बताएका छन्।

उनले बताएअनुसार हिउँदोमा नदीको जलस्तर घट्दा स्थानीय मानिसहरू ट्र्याक्टर चढ़ेर आउजाउ गर्ने गरे पनि बर्खाको समय खोलामा जलस्तर बढ़्दा क्षेत्रको यातायात सम्पर्क सिलगढ़ीसँग पूर्णतया विच्छिन्न हुनेगर्छ, जसका कारण 5,000 भन्दा स्थानीय मानिसले बिघ्नै कष्ट झेल्ने गर्छन्।

आज बिष्ट स्वयं पनि ट्र्याक्टरमै चढ़ेर नदी पार गरी पुतिनबारी पुगेका थिए।

‘पुतिनबारी बाह्य दुनियाँसँग जोड़्ने पुल धेरै वर्षअगाड़ि भत्किसकेको छ, तर राज्य सरकारले आजसम्म त्यो पुलको पुनर्निर्माण गर्ने कुनै प्रयास गरेको छैन। यथोचित सड़क सम्पर्कको अभावले गर्दा  समयमा अस्पताल पुऱ्याउन नसकिँदा अनेकौँ रोगीले उपचार नपाई ज्यान गुमाएका छन्।   विद्यार्थी, युवा, तथा वरिष्ठ नागिरकहरूले हरेक दिन अत्यन्तै कठिनाइ भोग्न परिरहेको छ’, उनले भनेका छन्।

पुतिनबारीपछि, सांसद राजु बिष्ट खोप्रेल र फूलबारीलाई जोड़्ने रक्तिखोला पुलको अवस्था हेर्न गएका थिए। त्यो पुललाई हालैको वर्षामा बगेको थियो। 25,000 भन्दा धेरै मानिसको जीवनरेखा नै रहेको यो पुल भक्तिनाले स्थानीय मानिसहरूको जीवन प्रभावित बनेको उनको भनाइ छ।

यो पुलको पुनर्निर्माणको सम्बन्धमा अघिबाटै एउटा अनुरोध-पत्र प्राप्त भएको र उक्त पत्रलाई आफूले त्यसैबेला जिल्लाशासक कार्यालयमा अग्रप्रेषित गरे तापनि स्थानीय जनताले दिएका जानकारीका अनुसार सम्बन्धित निकायले यो पुलको पुनर्निर्माणको दिशामा अहिलेसम्म कुनै पहल नगरेको पनि सांसद राजु बिष्टले बताएका छन्।

उनले थप भनेका छन्, ‘मैले जनतालाई यी गाउँहरूको सम्पर्क पुनर्बहाल गर्नका लागि मेरो क्षमतामा भएअनुसार सबैथोक गर्ने आश्वासन दिएको छु। सरकारको निर्वाचित प्रतिनिधिको रूपमा, हाम्रा जनताको पहुँच मूलभूत पूर्वाधारसम्म होस् भन्ने सुनिश्चित गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो। हाम्रो राजनीतिलाई खाली भोट पाउनमा मात्रै सीमित नराखेर, जनतालाई उनीहरूका मूलभूत अधिकार, सुविधा, तथा सेवाहरूबाट वञ्चित नगरियोस् भनी सुनिश्चित गर्नमा प्रयोग गरिनु पर्दछ भन्ने कुरोमा मेरो दृढ़ आस्था छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here