प्रकाश गुरुङको घर कुड्कीको विमल गुरुङद्वारा भर्त्सना, भने – यो मामिलाको न्यायालयले न्यायोचित अध्ययन गर्नुपर्छ

0
2304
गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)।
दार्जीलिङ, १७ नोभेम्बर : प्रकाश गुरुङको घर कुड्की गरिएको घटनालाई न्यायालयले न्यायोचित अध्ययन  गरिनुपर्ने माग गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङले गरेका छन्। शुक्रवार पुलिसले गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो) अध्यक्ष प्रकाश गुरुङको घर कुड्की गरेको थियो।
दार्जीलिङ महकुमाको रिम्बिक-लोधोमा समष्टिको लोधोमामा रहेको रहेको प्रकाश गुरुङको पैतृक घरमा उनकी भाउजु रोशनी गुरुङ बस्दै आएकी थिइन्।
पुलिसले गुरुङको घर कुड्की गर्दै घरभित्रका सबै सम्पत्ति लगेपछि यो घटनालाई लिएर गोजमुमो प्रमुखले तीखो शब्दमा निन्दा गरेका छन्।
शुक्रवार उनले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “जातीय मुक्तिका लागि माटोको आन्दोलनमा पुलिसी षड़यन्त्रबाट बाँच्न भूमिगत हुनुपरेका प्रकाश गुरुङ अपराधी होइनन्। भारतमा आज स्वतन्त्रता सेनानी भनेर पुजिनेहरू एक समय अधिकांश नै भूमिगत थिए, आज हामी इतिहासको त्यो पाटोमा अभिएका मात्र हौं।’’
यदि प्रकाश गुरुङ देशको कानूनमा अपराधीमा मानिलिइ हाले तापनि उनका घर परिवार भने उनीसँगै कदापि अपराधी नहुने गुरुङ भनाइ छ। पुलिसले घर कुड्की गरी उक्त घरमा बस्नेहरू आज बेघर बनेको गुरुङले बताएका छन्।
“उनीहरूको के दोष थियो। त्यो घरका सदस्यहरूमा पाँच वर्ष र नौ वर्षका नानीहरू पनि पर्दछन्, जो घरदेखि बाहिर बसेर पढ़्दैछन्। शीतकालीन विदामा ती नानीहरू कहाँ जानु केवल एउटा कठपुतलीलाई सत्तामा टाँसेर  राख्नु बङ्गाल सरकारले यस्तो अमानवीय कार्य गर्छ भने यो प्रजातन्त्रको हत्या हो”, उनले विज्ञप्तिमा थप लेखेका छन्, “देशको संविधान र कानूनको गरिमाको सुरक्षाबारे अब कसैले सोच्ने दिन आएको छ। चार-चारवटा अन्तरराष्ट्रिय सिमानाले घेरिएको पहाड़मा यस्तो घटना निरन्तर भए, त्यहाँ भोलि जुन स्थितिको जन्म हुन्छ, त्यसले देशको सार्वभौमिकतालाई  चोट पुऱ्याउन सक्छ। यसैले  केन्द्र सरकारलाई म देशको  सुरक्षा सन्दर्भमा यो  घटनालाई लिइदिने अपील गर्दछु।’’
आफूहरूले लड़्दै गरेका लड़ाइँ केवल उनीहरूको व्यक्तिगत स्वार्थको लड़ाइँ नरहेकोले  पहाड़का कानूनविद् र अधिवक्ताहरू बङ्गालको यस्ता कारबाहीहरूविरुद्ध बोलिदिने पनि गुरुङले अपील गरेका छन्। “हामीले लड़्दै गरेको लड़ाइँ केवल हाम्रो निम्ति मात्र होइन। यो लड़ाइँ सबैको भोलि जन्मिने भावी पिँढ़ीका लागि हो, जसमा तपाईंहरूको भोलि जन्मिने भावी पिँढ़ी पनि सामेल छन्। यसैले तपाईँहरूले हाम्रा लागि होइन, तपाईंहरूकै  भोलि जन्मिने भावी सन्तानको सुरक्षाका लागि पनि यस्तो कुरामा बोलिदिनुहोस्। तपाईंहरूको मौनताभित्र समग्र जाति नै  निस्सासिएको छ’’, अज्ञात स्थानबाट प्रेषित गरेको विज्ञप्तिमा उनले लेखेका छन्।
यसका साथै गुरुङले  राष्ट्रिय सुरक्षा एजेन्सीहरूमा कार्यरत् पहाड़, तराई-डुवर्सका अधिकारीहरूलाई घटनाको साँचो अध्ययन गरी सम्बन्धित निकाय र कानूनसम्बन्धित अधिकारीहरूलाई सूचित गरिदिने अनुरोध गरेका छन्। यस्ता घटनाहरू घरी घरी भइरहे, जनमानसमा कानूनप्रति वितृष्णा जन्मिने र यसले भोलिको दिनमा पहाड़मा घोर अशान्ति फैलिनसक्ने आशङ्का गुरुङको छ।
उनका अनुसारको देशको अखण्डतालाई जोगाउने परम कर्तव्य ती  अधिकारीहरूकै हातमा छ। “जो सुकैलाई पक्राउ गर्नु, पुलिसले सत्ताधारी दलको क्याडरजस्तो काम गर्नु, घरै कुड्की गरेर परिवारका अन्य सदस्यहरूलाई बेघर बनाउनुजस्ता घटनाहरूले संवेदनशील भू-भागमा नराम्रो परिणाम दिनसक्छ, यसबाट सबै सतर्क बसेको राम्रो हो’’, विमल गुरुङले विज्ञप्तिमा  भनेका छन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here