सिलगढ़ी, 18 नोभेम्बरः डाइरेक्टोरेट अव् रेभेन्यू इन्टलिजेन्स (डीआरआई)-ले करिब तीन किलोग्राम सुनको बिस्कुटसहित दुईजनालाई पक्राउ गरेको छ।
जानकारीका अनुसार डीआरआईले सिलगढ़ी जङ्क्शन क्षेत्रबाट 36 वटा सुनको बिस्कुटसहित मिदलाज र यसुफ नामक दुईजना युवकलाई पक्राउ गरेको हो।
सुनको बिस्कुटको कुल ओजन 2 किलो 985 ग्राम छ, जसको बजारमूल्य 1 करोड़ 51 लाख रहेको बताइएको छ।
डीआरआई सूत्रका अनुसार दुवैले उक्त सुनको बिस्कुट एक वाहनको सिटमुनि लुकाएर राखेका थिए।
आज दुवैलाई अदालतमा प्रस्तुत गरियो। केरकारअवधि उनीहरूले उक्त सुनको बिस्कुट इन्डो-म्यान्मार सीमाबाट
ल्याएको स्वीकारेको पनि बताइएको छ।
उल्लेखनीय छ, पछिल्लो 9 नोभेम्बरका दिन खोरीबारी थानाअन्तर्गत् चेङ्ग्रामारी चेकपोस्टमा नाका चेकिङअवधि पुलिस र आबकारी विभागको संयुक्त टिमले डब्ल्यूबी 74/7178 नम्बरको वाहनबाट 130 वटा सुनको बिस्कुटसहित बरामद गर्नका साथै वाहनका चालकसहित तीनजनालाई पक्राउ गरेको थियो। बरामद सुनको ओजन 21 किलोग्राम, 573 ग्राम थियो, जसको बजार मूल्य 30 करोड़भन्दा अधिक थियो।