साहित्य अकादमी पुरस्कारको घोषणा, नेपाली भाषाको पुरस्कार पछि घोषणा गरिने

0
2207

नयाँ दिल्ली, १८ दिसम्बरः बुधवार साहित्य अकादमी पुरस्कार २०१९ को घोषणा गरिएको छ। यद्यपि नेपाली भाषाका लागि भने आज घोषणा गरिएन। जानकारीका अनुसार नेपाली भाषाका लागि साहित्य अकादमी पुरस्कारको घोषणा पछि गरिनेछ।

यसबारे जानकारीका साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नाम्दुङसँग सम्पर्क गर्दा कुराकानी हुनसकेन।

अर्कोतिर आज गरिएको घोषणाका अनुसार हिन्दी भाषाका नन्दकिशोर आचार्यकृत कविता सङ्ग्रह ‘छीलते हुए अपने को’-लाई साहित्य अकादमी पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी अङ्ग्रेजी भाषाका लागि कङ्ग्रेस नेता एवं सांसद शशि थरूरलाई उनको कृति ‘एन एरा अफ् डार्कनेस’-लाई प्रदान गरिनेछ।

साहित्य अकादमीका सचिव श्रीनिवासरावले एक बयानमा बताएअनुसार यसवर्ष ७  कविता-सङ्ग्रह, ४ उपन्यास, ६ कथा सङ्ग्रह, ३ निबन्ध सङ्ग्रह, १-१ गद्य, आत्मकथा र जीवनीका लागि साहित्य अकादेमी पुरस्कार घोषित गरिएको छ।

आज साहित्य अकादमीका अध्यक्ष डा. चन्द्र शेखर कम्बारको अध्यक्षतामा बसिएको कार्यकारी समितिको बैठकमा चयनित कृतिहरूलाई पुरस्कारका लागि मोहर लगाइएको हो। यसवर्ष उर्दूका लागि प्रा. शाफे किदवईकृत सवनेह-ए-सर सैयद : एक बाजजीद (जीवनी), असमियाका लागि जयश्री गोस्वामी महन्तकृत चाणक्य (उपन्यास) बाङ्ग्ला भाषाका लागि चिन्मय गुहाकृत घुमेर दरजा ठेले (निबन्ध)-लाई प्रदान गरिनेछ।

रावका अनुसार मणिपुरी भाषामा बेरिल थङ्गा (एल. बिरमङ्गल सिंह) –लाई ‘ई अमादी अदुनगीगी ईठत’ (उपन्यास), तमिल भाषामा चो. धर्मनलाई ‘सूल’ (उपन्यास), र तेलुगुमा बन्दि नारायणा स्वामीलाई ‘सेप्ताभूमि’ (उपन्यास) का लागि साहित्य अकादमी पुरस्कार २०१९ प्रदान गरिनेछ।

यसैगरी बोडोमा फुकन चन्द्र बसुमतारीलाई ‘आखाइ आथुमनिफ्राय’ (कविता सङ्ग्रह), कोंकणीमा निलबा आ. खाण्डेकारलाई ‘ध वर्डस्’ (कविता सङ्ग्रह), मैथिलीमा कुमार मनीष अरविन्दलाई ‘जिनगीक ओरिआओन करैत’ (कविता सङ्ग्रह), मलयालममा वी. मधुसूदनन नायरलाई ‘अचन पिरन्ना वीदु’ (कविता सङ्ग्रह), मराठीमा अनुराधा पाटिललाई  ‘कदाचित अजूनही’ (कविता सङ्ग्रह), संस्कृतमना पेन्ना-मधुसूदनःलाई  ‘प्रज्ञाचाक्षुषम्’ (कविता) –लाई  प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्रदान गरिनेछ।

यसलगायत कश्मीरी भाषाका लागि अब्दुल अहद हाज़िनीलाई  ‘अख़ याद अख़ कयामत’ (कथा सङ्ग्रह),  ओडियामा तरुण कान्ति मिश्रलाई ‘भास्वती’ (कथा सङ्ग्रह), पञ्जाबीमा किरपाल कज़ाकलाई ‘अन्तहीन’ (कथा सङ्ग्रह), राजस्थानीमा रामस्वरूप किसानलाई ‘बारीक बात’ (कथा सङ्ग्रह), सन्थालीमा काली चरण हेम्ब्रमलाई ‘सिसिरजली’ (कथा सङ्ग्रह), सिन्धीमा ईश्वर मुरजाणीलाई ‘जीजल’ (कथा सङ्ग्रह)-का लागि यो पुरस्कार प्रदान गरिनेछ।

अर्कोतिर, डोगरीमा ‘बन्दरालता दर्पण’ निबन्ध सङ्ग्रहका लागि ओम शर्मा ‘जन्द्रयाड़ी’ र गुजरातीमा ‘मोजमा रे’वुं रे!’ निबन्ध सङ्ग्रहका लागि रतिलाल बोरीसागरलाई यस वर्षको साहित्य अकादमी पुरस्कार प्रदान गरिनेछ।

आउँदो २५ फरवरी २०२० को दिन  दिल्लीमा आयोजित एक विशेष समारोहमा यी पुरस्कृत कृतिका सर्जकहरूलाई साहित्य अकादमी पुरस्कार अर्पण गरिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here