कोलकातालाई अचल बनाउने चेताउनी

0
914

दार्जीलिङ, 18 दिसम्बरः एमएसके, एसएसके साथै पारा शिक्षकहरूको वेतन अन्य सरकारी विद्यालयका शिक्षकहरू जत्ति नै हुनपर्ने तथा उनीहरूले पनि स्थायी शिक्षकहरूले जस्तै सहुलियत पाउनुपर्ने माग लिएर आउँदो 11 जनवरी 2021-का दिन कलकत्ता अचल बनाउने चेताउनी दिइएको छ।

राज्यभरिका करिब 3 लाख यस्ता अस्थायी शिक्षक-शिक्षिकाले आउँदो 11 जनवरीका दिन नवान्न अभियान गर्ने भएका छन्, जुन दिन उनीहरूले सम्पूर्ण कोलकातालाई नै अचल बनाउने पश्‍चिम बङ्गाल  शिक्षक एकता मुक्ति मञ्चका महासचिव मैदुल इस्लामले चेताउनी दिएका छन्।

आज यसै माग लिएर दार्जीलिङमा पनि एक ऱ्यालीको आयोजन गरिएको थियो।

स्थानीय रेलवे स्टेशन परिसरबाट शुरू गरिएको ऱ्याली जिल्लापाल कार्यालय पुगेर जिल्लापालसमक्ष एक ज्ञापन चढ़ायो।

उनले भने, “राज्यभरिका एमएसके, एसएसके, भोकेशनल, पारा शिक्षकहरू सबैभन्दा बेसी पीड़ित बन्न परिरहेका छन्। यी सबै शैक्षिक संस्थानमा कार्यरत् अस्थायी शिक्षक-शिक्षिकाहरूका 11 वटा सङ्गठन एकबद्ध बनी एक साझा मञ्चको गठन गरिएको छ। यसै मञ्चको नेतृत्वमा आउँदो 11 जनवरी 2021-का दिन नवान्न अभियानको आयोजना गरिनेछ।’’

मैदुल इस्लामका अनुसार ममता ब्यानर्जी सरकारले यी शैक्षिक संस्थानहरूमा कार्यरत अस्थायी शिक्षकहरूका लागि न पेन्शनको व्यवस्था गरिदिएको छ, न त असल वेतन नै दिइरहेको छ।

यसैले आउँदो 11 जनवरीका दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनीहरूसँग सकारात्मक कुरा नगरे, त्यस दिन सम्पूर्ण कलकत्तालाई नै अचल बनाउने उनको चेताउनी छ।

उनले यी अस्थायी शिक्षक-शिक्षिकाहरूको समस्या समाधानका लागि राज्यका शिक्षामन्त्रीलाई धेरैपल्ट ज्ञापन दिइसकेको बताउँदै हालसम्म यसमाथि कुनै ठोस कार्य नभएको बताए।

यसरी नै दार्जीलिङ एमएसके सङ्गठनका महासचिव छत्रसिंह निरौलाले पनि आफ्नो समस्यामाथि जोड़ दिँदै भने, “एमएसके, एसएसके, पारा शिक्षकहरूले पनि सरकारी विद्यालयका स्थायी शिक्षक-शिक्षिकाहरूले जस्तै सम्पूर्ण काम गर्नुपर्छ। तर, यी शिक्षकहरूलाई कुनै सहुलियत भने प्रदान गरिएको छैन। यसैले हामीले समान काम-समान वेतनको मागमा आज ऱ्याली निकालेर जिल्लापाललाई ज्ञापन दिएका हौं।

उनले थपे, “एमएसके, एसएसके, पारा शिक्षकहरूका लागि पनि पेन्शनको व्यवस्था हुनपर्छ साथै उच्च विद्यालयका शिक्षकहरूलाई जत्ति नै वेतन प्रदान गर्नुपर्छ।’’

निरौलाले यस विषय लिएर बङ्गगालभरिका सम्पूर्ण जिल्लाका जिल्लापालहरूलाई ज्ञापन दिने कार्य भइरहेको पनि जानकारी गराए।

उल्लेखनीय छ, हाल एमएसके, पारा शिक्षकहरूले मासिक 13 हजार रुपियाँ अनि एसएसकेका शिक्षकहरूले 10 हजार रुपियाँ वेतन पाइरहेको यी शिक्षक-शिक्षिकाहरूले बताएका छन्। यसबाहेक अन्य कुनै सहुलियत नपाएको पनि उनीहरूको गुनासो छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here