ड्रग्स तस्करको गिरोह 14 लाखको ड्रग्ससहित पक्राउ, पुलिस अफिसर पनि ड्रग्स तस्करीमा संलग्न

0
918
पत्रकारहरूलाई सम्बोधन गर्दै सिक्किम पुलिसका प्रवक्ता तथा डीआइजी रेञ्ज प्रवीण गुरुङ र अन्य पुलिस अधिकारी।

गान्तोक, 18 दिसम्बरः सिक्किम पुलिसले आजसम्मको सबैभन्दा ठूलो सङ्गठित ड्रग्स ऱ्याकेटको भण्डाफोर गरेको दावी गरेको छ।

पूर्व जिल्लाका पुलिस अधीक्षक डा. शिव प्रसाद येल्लासिरीको अगुवाईमा सिङ्ताम थानाले हिजो राज्यका विभिन्न स्थानमा छापा मारेर करिब 14 लाख रुपियाँ मूल्य बराबरको नशालु पदार्थसहित पाँचजनालाई पक्राउ गरेको छ।

सिक्किम पुलिसका प्रवक्ता तथा डीआइजी रेञ्ज प्रवीण गुरुङले आज पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो सङ्गठित ड्रग्स ऱ्याकेटको भण्डाफोर बताए।

उनले घटनाको जाँच चलिरहेको र अझ धेरैजना यस काण्डमा लिप्त हुनसक्ने बताए।

यहाँ उल्लेखनीय कुरा के छ भने अहिलेसम्म पक्राउ पर्ने आरोपीहरूमा एकजना एएसआई ऱ्याङ्कका पुलिस अधिकारी पनि सामेल छन्, जसलाई पुलिस युनिफर्ममै ड्रग्सको साथ पक्राउ गरिएको थियो।

डीआइजी गुरुङले बताएअनुसार पहिलेदेखि नै पुलिसको नजरमा रहेका एकजना कुख्यात ड्रग्स तस्कर दुई दिनअघि सिलगढ़ी झरेका थिए।

हिजो ती व्यक्ति एउटा रातो वेगानआर-मा चढ़ेर बिहानै सिक्किमतर्फ लागेका थिए।

रम्फू चेकपोस्टमा पुलिसको आँखा छलेर सिक्किम छिर्न सफल भएको उक्त वाहनलाई पछि सिङ्ताम पुलिसले टोपाखानी नजिक पक्राउ गऱ्यो।

त्यस समय वाहन ती पुलिस अधिकारीले चलाइरहेका थिए। वाहनबाट पुलिसले 23 हजार 260 क्याप्सुल स्पास्मो प्रोक्सिभन, 2 हजार ट्याब्लेट एनटेन, 52 ग्राम ब्राउन सुगर र 457 बोतल प्रतिबन्धित कफ सिरप जफ्त गरेको छ।

यसको हालको बजार मूल्य 10 लाखभन्दा अधिक बताइएको छ।

यसै क्रममा पूर्व सिक्किमको सामदुङको एउटा घरबाट पुलिसले 3 हजार 684 एसपी, 380 एनटेन र 21.24 ब्राउन सुगर साथै 1 लाख 20 हजार नगद जफत गरेको छ।

यहाँ जफत गरिएको नशालु पदार्थको बजार मूल्य करिब 4 लाख बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here