मई महिनाको मध्यदिन अनि सिलगढीको गर्मी! उफ्फ, सही नसक्नु!
मनमनै सोच्दै दार्जीलिङबाट भर्खरै सिलगढ़ी पुगेको सन्दीप फटाफट प्यासेन्जर झारेर नजिकैको एउटा होटलमा पस्यो।
“लु गुरुजी के खान्छस, भन। आज त फाक्सा लाङ्सा दुवै छ” – होटलको मालिकले सोध्यो। होटलका मालिक महेन्द्र उसका साथी पनि हुन्।
“अहिले खान्नँ। भर्खर रोहिणीमा मःमः खाएर झरेको। नुहाएर एक निद्रा सुत्छु। अहिले हिँड्ने बेलामा खान्छु। राखिदे।”
– सिँड़ीबाट तलामाथि चढ्दै भन्यो उसले।
“ला…. ईः चाबी नलगी कहाँ गाको?” – महेन्द्रले फुत्त फालिदिएको चाबी दुवै हातले च्याप पक्रियो उसले।
सन्दीप र महेन्द्रको भेट पहिलोचोटि बेङ्ग्लोरमा भएको थियो। दुवै एकै रेस्टुरेन्टमा तीन वर्ष वेटर काम गरेपछि अलिअलि कमाएको पैसाले घर फर्केर केही गर्ने सल्लाहअनुसार दुवैले बेङ्लोर छाड़ेर सन्दीपले गाड़ी किनी दार्जीलिङदेखि सिलगढ़ी खेप्न थाल्यो।
महेन्द्रले पहिले नै सिलगढ़ीमा बाबुचाहिँले किनिराखेको जमिनमा दुईतले बिल्डिङ बनाएर तलामुनि रेस्टुरेन्ट र तलामाथि चार कोठा निकालेर दुईटामा आफू बस्ने दुईटाचाहिँ गेस्ट राख्ने बनायो। तर उसले नचिनेकाहरूलाई दिँदैन थियो। चिनाजना कोही अभर परेका अनि साथीहरूलाई चाहिँ सस्तै दाममा बस्न दिन्थ्यो।
सन्दीप उसको होटलमा दिनहुँ नै जान्थ्यो। ढिलो भए त्यहीँ बास बस्थ्यो। महेन्द्रले कति मनाही गर्दा पनि फोकटमा कहिले बसेन र कहिले खाएन पनि सन्दीपले।
“थाप साथी तैंले पनि दुःख गरेर बनाएको होटल हो यो। नानीहरू पढ्दैछन्। तिनीहरूलाई दिएको सम्झेर राख।”- भनेर जहिल्यै महेन्द्रको टेबलमा पैसा राखिदिएर निस्कन्थ्यो ऊ।
“दुई बजीतिर सुतेको मान्छे एकैचोटि 6 बजी उठिस्। अहिले नअत्ताली ल।” – भर्खर उठेर – “ल्या……. टाइम त निक्कै गएछ। उज्यालोमै घर पुग्छु सोचेको आज। भएन।” – भन्दै अतालिँदै गरेको सन्दीपलाई महेन्द्रले भन्यो।
दुवै हाँस्छ्न्।
“खाना खाइहाल्। के खान्छस? फाक्सा कि लाङ्सा?” –महेन्द्र।
“खै फाक्सै खाउँ होलाउ। खै भाउजु र नानीहरू चाहिँ?”- सोध्यो सन्दीपले।
“पर चम्पासरी गा‘को छ। उसको भदैको बर्थडे रे।” – सन्दीपलाई भात पस्किदिँदै भन्यो महेन्द्रले।
“कि बस आज। एतिबेला के जान्छ्स् उकालो? भोलि सिद्दै पेसेन्जर लिएर जा।” –फेरि महेन्द्रले भन्यो।
“हैट हुँदैन नि। भोलि त रिजर्भ छ। बिहान पाँच बजी टुरिष्टलाई टाइगर हिल पुऱ्याएर पुरै सेभेन पोइन्ट घुमाउनु पर्छ।” – खपाखप भात खाँदै भन्यो सन्दीपले।
एकछिनपछि खाना खाइवरी विदा मागेर गाड़ी लिई दार्जीलिङतिर लाग्यो सन्दीप।
सुकना पुरै जाम छ।
“के भएछ हौ भाइ अगाड़ि“?
– खिड्कीबाट फुत्त टाउको निकालेर अगाड़िको ड्राइभरलाई सोध्यो।
“आँ….दा! बोलेरोले बाइकलाई दिएछ नि ड्याम्मै। मान्छे मारेछ, खै बीएच नम्बरको गाड़ी रहेछ। दुईजना थियो हरे बाइकमा केटाकेटी । एकजना मरेछ एकजनालाई चाहिँ अलिक चोट मात्र लागेको छ रे!” – अगाड़िको ड्राइभरले भन्यो।
“ल्या.. हौ! कतिबेला भाइ?” – फेरि सन्दीपले सोध्यो।
“आँ…..दा! दुईतीन घण्टा त भयो हरे नि। खै के हो हो, झमेलाम् भएछ। मान्छेहरूको भीड़ले जाम गरेको होला। आँ…. यहीं रात पर्ने रै’छ नि दा! टुरिष्ट गाड़ीमै निदाउनु आँटिसक्यो मेरो त।” – अलिक झिँजो मान्दै जवाब दियो उसले।
जाम खुल्दा नखुल्दै झमक्क साँझ पऱ्यो निकै परसम्म बिस्तारै कुदिरहेका गाडीहरू उकालो भेट्नेबित्तिकै स्पिड पक्रन थाल्छन्।
गाडीमा मज्जाले गीत बजाउँदै आउँदै गरेका सन्दीपले शनि मन्दिर काटेर अलि अगाड़ि आइपुग्दा डिलपट्टि केही देख्यो। पहिले त अँध्यारोमा त्यति ठिम्याउन सकेन उसले। तर, छेउमा आइपुग्दा लामो केश छोड़ेको र लामै हल्का गुलाबीजस्तै देखिने गाउन लाएकी बाहिरबाट सेतो स्वेटर र एउटा लामो कालो तर सानो ब्याग बोकेकी केटी हातको इसाराले गाड़ी रोक्यो।
“कहाँ जानुहुने?” – सोध्दा नसोध्दै सेकेन्ड सिटमा बस्यो त्यो केटी।
“एति राती कहाँ जानुभाको? त्यै पनि यस्तो जीउमा?”
केटीले कुनै जवाब नफर्काउँदा उसलाई अप्ठ्यारो लाग्यो होला भनेर फेरि प्रश्न दोहोऱ्याएर सन्दीपले। तर छेउमा आइपुग्दा दुई जीउकी देख्दा केही अभर परेछ भन्ने सोचेर उसले गाड़ी रोकिदिएको थियो।
“घर कहाँ हो तपाईंको?”
लुकिङ ग्लासमा हेरेर सोध्यो उसले। केटी अलिक छलिन्छिन। अब उ आफैलाई अप्ठ्यारो लाग्यो।
“कहाँ उत्रिनु हुन्छ?”
“अलिक पर।” यति मात्र भनेर फेरि केटी चुप लाग्यो।
पछाड़िबाट सुँकसुँक गर्दै हल्का रोएको आवाज सुनेर गीतको भोल्युम अलिक घटायो उसले। तर, केही सोध्ने भने आँटै गरेन।
“बस, यहींसम्म।”- सोनादा काटेर अलिक घरहरू पातलिँदै गर्दा केटीले भनी। उसले गाड़ी रोकिदियो।
कता गयो होला रातीहुँदो छोरी मान्छे? यस्तो जीउमा यसरी एक्लै हिँड्दा अभर पो पर्ने हो कि! उ सोचाइमा पर्छ। फर्केर हेर्दा निक्कै पछाड़िको सिँड़ीबाट अलिक मुन्तिर दुई-चारवटा ससाना घर भएतर्फ ती केटी जाँदैगरेको देखेपछि उसलाई ढुक्क लाग्छ।
एकछिन लामो सास फेरेर गाड़ी अघि बढ़ाउनै लागेको थियो उसले देख्यो – अहो! अघि त्यस केटीले बोकेको कालो ब्याग त उसको सेकेन्ड सिटमै पो रहेछ।
गाड़ी मज्जाले लक गरेर, हातमा ब्याग झुण्डाएर अघि केटी गएकोपट्टि लाग्यो ऊ।
अघि सड़कबाट चार-पाँचवटा मात्रै देखेको घर तल पुग्दा निक्कै बाक्लै गाउँजस्तै लाग्यो उसलाई। अब कहाँ खोज्ने ती केटीलाई ।
एक ठाउँ थुप्रै मान्छे भेला भएको देखेर केटीबारे सोधिखोजी गर्न गयो ऊ। आँगनमा कुनै चिजलाई मान्छेहरूले घेरिराखेका रहेछन्। उसलाई पनि के रहेछ भनेर हेरौँ हेरौँ लागेर भीड़लाई हटाउँदै अघि बढ़्यो। भुइँमा एउटा लास लड़िरहेको देखेपछि उसले ठिम्याएर हेर्न थाल्यो। लामो केश, गोरो अनुहार मात्र देखिने गरी जम्मै शरीर सेतो लुगाले ढाकिएको थियो। शरीरको बीच भाग अर्थात् पेट अलिक चुचो देखिन्थ्यो। लासलाई छोड़ेर उसको ध्यान अलिक पर भुइँमा नै लड़ेर हातमा कालो सानो ब्याग च्यापेर – “मेरो छोरी! के भयो नि यस्तो? हे भगवान्!” -भन्दै रुँदैगरेकी एउटी अधबैंसे आइमाइपट्टि जान्छ। उसले हतार हतार आफ्नो हातमा झुण्डाएर ल्याएको ब्याग हेर्छ। केही पक्रेकोजस्तै उसले मुठी कसिलो गरी बाँधेको छ, तर हात भने खाली रहेछ।
“मैले त बाइक बिस्तारै चलाउँदै थिएँ नि! अचानक त्यो गाड़ी अगाडिबाट आएर ड्याम्म दियो। एकछिन त आँखाअघि अँध्यारो भयो केही थाह पाइनँ। भरै अलिक पर मेरो बुढ़ी खुनसरि भएर लड़ेको देख्दा मात्रै झसङ्ग भएँ। मेरो बुढ़ी, मेरो नानी, मैले एक्कैचोटि गुमाउनु पऱ्यो। कति अभागी म……..”
उसको छेउमा एकपट्टिको हातमा प्लास्टर लाएर, सेतो डोरीले घिच्रोपट्टिबाट बाँधेर झुण्डाइएको, अलिक च्यातिएको जिन्सप्यान्ट र हल्का ग्रे कलरको बीचबीचमा खुनको धब्बा लागेको भेस्ट लगाएको पच्चीस तीसको देखिने केटा रोइरहेको थियो।