सोनिया राई, जसले चौबन्दी र फरियामै मुम्बई म्याराथन दौड़िन्

0
4581

दार्जीलिङ, 19 जनवरीः आइतवार टाटा मुम्बई म्याराथनमा दार्जीलिङकी सोनिया राईले सबैको ध्यान आफूतिर तान्न सफल बनिन्।

चौबन्दी र फरिया लगाएर अन्तर्राष्ट्रिय स्तरको यस म्याराथनमा उनी चौबन्दी र फरिया लगाएर दौड़ेकी थिइन्।

परम्परालाई भत्काउँदै दौड़ जित्नका लागि होइन तर भारतीय गोर्खा र दार्जीलिङ पहाड़का गर्व र परिचय देखाउनमुम्बई म्याराथनमा पुगेकी सोनिया 42 किलोमिटरको फुल म्याराथनमा दशौं स्थान ओगट्न सफल भइन्।  उनले 4 घण्टा 16 मिनट 42 सेकेन्डमा दौड़ पूरा गरिन्।

अन्तर्राष्ट्रियस्तरको टाटा मुम्बई म्याराथनमा मलाई दौड़ जित्नभन्दा बढ़ी हामी गोर्खाको गर्व र परिचय देखाउनु थियो”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले थपिन्, “यसैले मैले चौबन्दी र फरिया लगाएर दौड़िने निर्णय गरेकी हुँ, जसमा म सफल पनि भएकी छु।

चौबन्दी र फरिया लगाएर दौड़िनु केही असहज हुने कुरा त हो। तर मैले यो असहजतालाई ठूलो मानिनँ”, सोनियाले थपिन्। उनका अनुसार 42 किलोमिटरको दौड़मा 9622 धावक थिए, यसमा उनी दशौं स्थानमा आउन सफल भइन्।

26 वर्षीय सोनिया राई दार्जीलिङस्थित रामपुरे बस्तीनिवासी हुन्। जनवरी 2017 देखि दौड़िन शुरु गरेकी उनले पछिल्ला केही वर्षयता क्षेत्रीय र राज्यस्तरीय म्याराथनमा धेरैपटक अरूभन्दा आफूलाई अब्बल राख्दै आएकी छन्।

टाटा मुम्बई म्याराथनमा भने उनले पहिलोपटक सहभागिता जनाएकी थिइन्।

दार्जीलिङलाई प्रतिनिधित्व गरेर चौबन्दी र फरिया पहिरिएर टाटा मुम्बई म्याराथनमा दौड़िनु पाउँदा आफैलाई उत्साहित अनुभूत गरिरहेकी छु”, उनले थपिन्, “यसले मलाई धेरै कुरा सिकाएको छ। आउँदा म्याराथनहरूमा पनि यसै गरी चौबन्दी र फरिया लगाएर दौड़िने सोचेको छु।

सोनियासँगै दार्जिलिङका अन्य चार धावक क्रमैले छिरिङ ल्हमु भोटिया, जतिन छेत्री, विक्रम राई र रितेश राईले पनि टाटा मुम्बई म्याराथन दौड़िएका थिए।

छिरिङ ल्हमु भोटिया र जतिन छेत्रीले 40 देखि 45 वर्ष आयुका दौड़मा भाग लिएका थिए, जसमा 43 वर्षीय छिरिङ ल्हमु भोटियाले 11औं स्थान ओगटिन्। रितेश राई र विक्रम राईले 42 किलोमिटरको फुल म्याराथनमा भाग लिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here