सङ्गीत साधक कैलाश भण्डारी

0
2162
कैलाश भण्डारी।

-राजेन प्रधान

दार्जीलिङ पहाड़ी क्षेत्र वा सिक्किममा अहिलेसम्म साउण्ड थेरापीको प्रयोग उति नभए तापनि हामीले साउण्ड थेरापीबाट हुने शारीरिक तन्दुरुस्ती वा स्वस्थताबारे धेरथोर सुन्दै आएका छौँ। सङ्गीतका सात स्वरका आ-आफ्नै अलग-अलग सात रङ्ग हुन्छन्। प्रत्येक स्वर तरङ्गको जुन रङ्ग हुन्छ, त्यसले शरीर र मनलाई प्रभावित पार्दछ।

सङ्गीतबाट जुन तरङ्ग निस्किन्छ, त्यसले मानवमनमा गहिरो प्रभाव पार्दछ। यो थेरापीबाट शरीरका सबै अङ्ग सक्रिय हुँदछन् र शरीरमा स्वतः स्फूर्ति आएको देखिन्छ वा महसुस गर्न सकिन्छ। सङ्गीतले मनुष्यको तनाउलाई कम गर्दछ तथा मानसिक रोगको उपचारमा पनि सहयोग पुर्‍याउँदछ। सङ्गीतमा दीपक रागबाट दीयोलाई जलाउने, मेघमल्हार रागबाट बादलबाट वर्षा खसाल्ने तथा मोहन राग सुनेर साँपहरू नाचेका कुराबाट के सिद्ध हुन्छ भने हाम्रो जीवनका लागि सङ्गीत एक सञ्जीवनी हो।

सङ्गीत व्यस्त मानव जीवनका लागि अपरिहार्य बन्दै गएको छ। यस प्रकार मानव जीवनमात्र नभएर अन्य चराचर जगतका लागि पनि सङ्गीतको महत्त्व रहिआएको थियो, रहिरहेको छ र रहिरहनेछ।

हुन त सङ्गीतको इतिहास धेरै लामो रहेको पाइन्छ। वैदिक युगमै सङ्गीतले समाजमा स्थान बनाइसकेको इतिहास पाउन सकिन्छ। सबैभन्दा प्राचीन ग्रन्थ ‘ऋग्वेद’-मा आर्यहरूको आमोद-प्रमोदको मुख्य साधन सङ्गीतलाई बताइएको छ। धेरै वाद्ययन्त्रको आविष्कार पनि ऋग्वेदकालमै भएको बताइन्छ।

‘यजुर्वेद’-मा सङ्गीतलाई धेरै मानिसको आजीविकाको साधन बताइएको छ। यसैबीच गीतिप्रधान वेद ‘सामवेद’ रचना भयो, जसलाई सङ्गीतको आदि वा मूलग्रन्थ मानियो। ‘सामवेद’-मा उच्चारणका दृष्टिले तीन र सङ्गीतका दृष्टिले सात प्रकारका स्वरको उल्लेख गरिएको पाइन्छ।

यो संसारमा सङ्गीत मन नपराउने सम्भवतः प्राणी छैन। सङ्गीतमा त्यो अभूतपूर्व शक्ति हुँदछ, जसले मानवमात्र नभएर पशु-पक्षीदेखि लिएर बोट-बिरुवालाई समेत गहिरो प्रभाव पार्ने गरेको वैज्ञानिकहरूले गरेको खोज-अनुसन्धानले सिद्ध गरेको छ।

सङ्गीतमा निहित शक्तिले  रोग-व्याधिको उपचार समेत हुने गरेको छ। हालसम्म गरिएको शोधमा आँखारोग वा हृदयरोगको उपचारमा सङ्गीतको प्रयोग धेरै सफल सिद्ध बनेको छ। सङ्गीतका स्वरहरूद्वारा पाचन सम्बन्धित रोगको उपचार पनि गर्न सकिन्छ। यसैले सङ्गीतको महत्त्व र महिमा अपरम्पार छ। सङ्गीतबिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन।

सङ्गीतलाई असाध्य माया गर्ने, सङ्गीतलाई आफ्नो जीवनको सार मान्ने, सङ्गीतलाई जीवनको खुशी मान्ने यो संसारमा हजारौं कलाकारहरू होलान्। ती कलाकारहरूले सङ्गीतलाई आफ्नो जीवनको लक्ष्य बनाएर सफल बनेका होलान्।

कोही कलाकार यस्ता पनि होलान्, जसले कलालाई आफ्नो जीवनको लक्ष्य बनाए तापनि यसमा भनेजस्तो सफलता हासिल गर्न पाएनन् वा पाएका छैनन्। किनभने मानव जीवन खोलाको पानीजस्तै सललल बग्न सक्दैन भन्ने यथार्थलाई हामी सबैले बुझ्दै आएका छौँ।

मानव जीवन उतार-चढ़ाउले भरिपूर्ण हुन्छ। अनेकौँ चुनौती र उकाली-ओह्रालीले भरिएको यो जीवन सबैले चाहेजस्तो कहाँ हुन्छ र! यसैले त दिनेश अधिकारीको शब्द तथा नातिकाजीको सङ्गीतमा स्वर साम्राज्ञी तारा देवीले ‘सोचेजस्तो हुन्न जीवन, देखेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ बोलको गीत गाएकी छन्। तथापि जीवनलाई सदैव सकारात्मक वा रचनात्मक दृष्टिकोणमा लिएर अघि बढ़े मानवलाई आफ्नो लक्ष्य वा गन्तव्यमा पुग्न कसैले रोक्न सक्दैन, केहीले छेक्न सक्दैन। यस्ता मानिसहरूले नै जीवनको अर्थलाई राम्ररी बुझ्न सकेका हुन्छन्।

मानव जीवन कहाँ दह वा पोखरीजस्तै जमेर बस्न सक्छ र! जीवन त चलायमान हुन्छ; चलायमान जीवनको यसै यात्रामा अनेकौँ आरोह-अवरोह, उतार-चढ़ाउ, उकाली-ओरालीहरू आउन सक्छन्। मानव जीवनलाई सार्थक, रोचक वा अर्थपूर्ण बनाउन यिनै आरोह-अवरोह, उतार-चढ़ाउ, उकाली-ओरालीले आ-आफ्नो पक्षबाट भूमिका निर्वाह गरिरहेका हुन्छन्। जीवनका यिनै यथार्थलाई आत्मसात गरेर जीवनको गतिलाई अघि बढ़ाउनेहरू नै अन्ततः सफल व्यक्तित्वमा रूपान्तरित हुन्छ। यसखाले धेरै उदाहरण हामीले पहिलाबाटै देख्दै आएका छौँ।

यसरी नै जीवनका अनेकौँ उकाली-ओरालीको सामना गरिसकेका एक कलाकारको नाम हो कैलाश भण्डारी। पहाड़की रानी दार्जीलिङको डाली, ब्लुमफिल्डमा जन्मेका भण्डारी यस्ता कलाकार हुन्, जो सङ्गीतलाई अगाध प्रेम गर्छन्, यसको सेवा-सुसार र गोड़मेल गर्न चाहन्छन् र यसैलाई सार्थक जीवनको कसी सम्झिन्छन्। तर, जीवन अघि भने झैँ कहाँ दह बनेर जम्मिएर बस्न सक्छ र! आफ्नो जीवनमा आइपरेका यस्ता अनेकौँ चुनौतीका कारण भण्डारीको यो परिकल्पनाले साकार हुन पाएन। यथापि उनी यति चाँड़ै हार मान्ने वा थाक्ने थरिका कलाकार होइनन्। जीवनमा जस्तै विघ्नबाधा आइपरे तापनि उनको सङ्गीतप्रतिको प्रेम विचलित हुन सकेको छैन।

दार्जीलिङ पहाड़को रमणीय गाउँ डालीमा परिवारका कान्छो छोरोका रूपमा हुर्किएका भण्डारीले जीवनको शुरुआती क्षणमा सुखपूर्ण जीवन बिताएकै हुन्। तर जब उनी किशोरावस्थामा पुगे, तब उनको परिवारमा ठूलो भुइँचालो आयो, जसले परिवार नै तहस-नहस पार्‍यो।

उनी किशोरावस्थामै हुँदा डाक विभागमा कार्यरत उनका ठूल्दाइको आकस्मिक निधन भयो। त्यसका दुई वर्षपछि आफ्नी लक्ष्मीजस्ती आमाको निधन भयो। यस्तो विकट् अवस्थामा उनको जीवनको लक्ष्य भँगालिएर कहाँ-कहाँ पुग्यो…! दार्जीलिङको सुखी जीवनबीच अनाचक आएको यो हावाहुण्डरीले उनलाई कोलाहलपूर्ण काठमाडौँ पुर्‍यायो।

यसभन्दाअघि उनले ब्लुमफिल्ड प्राथमिक पाठशाला र टर्नबुल उच्च विद्यालयबाट स्कुले जीवन पूरा गरे। उनी फुटबल र ब्याडमिन्टन खेलमा अब्बल दर्जाका खेलाड़ी थिए। 1989-90 मा उत्तर बङ्ग विश्वविद्यालयमा आयोजित अन्तरमहाविद्यालय ब्याडमिन्टन प्रतियोगितामा उनले आफूभित्र रहेको खेल प्रतिभा प्रदर्शन गर्दै अब्बल खेलाड़ीको श्रेणीमा आए।

यसै क्रममा 1989 मा दार्जीलिङमा अभिनेता शाहरुख खान र अभिनेत्री जुही चावला अभिनित हिन्दी चलचित्र ‘राजु बन गया जेन्टलम्यान’-को छायाङ्कन चलिरहेको थियो। यसै चलचित्रको एउटा गीतमा उनका दाइ हिमाल भण्डारी (शर्मा) र उनले नाच्ने अवसर पाएका थिए।

सङ्गीत क्षेत्रमा उनको पदार्पण 1982 मै भएको स्वयं उनी बताउँछन्। यस सन्दर्भमा उनी भन्छन्, “सङ्गीतप्रति मेरो रुचि सानै उमेरदेखि थियो। सङ्गीत मेरो तनमनमा बसेको छ।” यसैले उनले 1982 मा तत्कालीन दार्जीलिङको त्रिवेणी सङ्गीतालयमा सङ्गीत केन्द्रको शास्त्रीय सङ्गीतका प्रशिक्षक शिव कुमार गुरुजीबाट सङ्गीतका राग-तालबारे शिक्षा लिँदै यसै सङ्गीतालयका गायक पनि बने। यसैबीच उनले सङ्गीतकार अनिल ठटाल र वसन्त छेत्रीबाट पनि प्रशिक्षण लिए।

आफ्ना मनमिल्ने साथीहरूसित मिलेर उनीहरूले 1989 मै दार्जीलिङमा कला एकाडेमी म्युजिकल ग्रुप गठन गरे। यो साङ्गीतिक समूहमा अहिलेको दार्जीलिङका विशिष्ट सङ्गीत साधकहरू रहेका थिए। यसै साल बाबुल गजमेरले आफ्नो भिडियो फिल्म ‘भाग्य’-को एउटा गीतमा स्वर दिने भण्डारीलाई अवसर दिए। त्यसपछि वसन्त छेत्रीको सङ्गीत रहेको ‘सोच्थेँ प्रेम अचल, निश्चल उभ्छ भनेर, थाहा नै थिएन प्रेम नै ज्वाला बन्द भनेर’ बोलको गीतमा पनि उनले आफ्नो स्वर दिने सौभाग्य पाए।

दार्जीलिङको क्यापिटल हलमा पुराना र नयाँ कलाकारहरूको समागमस्वरूप आयोजित भव्य कार्यक्रममा सङ्गीतकार वसन्त छेत्रीले उनलाई यसै गीत प्रस्तुत गर्ने अवसर दिएका थिए। त्यसपछि उनले 1990 मा गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-द्वारा लोकधुनमा आधारित तथा आधुनिक गीतको पुरुष वर्गको प्रतियोगितामा रोशन मुखियाको शब्द र अनिल ठटालको सङ्गीतमा गीत पेश गरे। प्रतिस्पर्धात्मक कार्यक्रममा यो गीतले पहिलो पुरस्कार हासिल गरेपछि उनमा सङ्गीतप्रतिको झुकाउ झन बढ़ेर गयो।

यसरी सङ्गीत क्षेत्रमा आफूलाई स्थापित गर्ने प्रयास चलिरहेको समय नेपाली सङ्गीतका उज्ज्वल नक्षत्र  तथा विशिष्ट गायक किरण प्रधानले उनलाई काठमाडौँ आउने निमन्त्रणा पठाए। आफ्नो सपना पूरा गर्ने लक्ष्य लिएर उनी काठमाडौँ पुगे। यसै क्रममा उनले काठमाडौँमा चन्द्रकुमार लामा (ब्लोन)-बाट सङ्गीत प्रशिक्षण पनि लिए। त्यहाँ उनले रेडियो नेपालमा विक्रम संवत् 2052 स्वर परीक्षा दिए, जसमा उनले सफलता पनि हासिल गरे।

स्वर परीक्षा उत्तीर्ण गरेपछि उनमा अझ उत्साह र विश्वास बढ़ेर गयो। उनले गाएका गीतहरू त्यस समय रेडियो नेपालबाट पनि प्रसारित हुन्थे। काठमाडौँजस्तो व्यस्त शहरमा बसेर आफ्नो सङ्गीत कर्मलाई अघि बढ़ाउने क्रममा अचानक दार्जीलिङमा रहेका आफ्ना ठुल्दाइको निधनको समाचार पाएर उनी आफ्नो जन्मथलो दार्जीलिङ फर्किए।

ठूलो छोरोको आकस्मिक निधनले आमा शोकमा डुबिन्। यसैबीच उनलाई पनि रोगले चेप्न थाल्यो र आमाको स्याहार-सुसार गर्ने जिम्मेवारी आइपर्दा उनी पुनः काठमाडौँ जान पाएनन्। यसरी परिवारमा चलेको भीषण पैह्रोबीच उनले आफ्नो सङ्गीत कलालाई अघि बढ़ाउन पाएनन्। तथापि उनको मनभित्र भने सङ्गीत मरेको थिएन।

लगभग दुई दशकपछि दार्जीलिङको रिदम स्टुडियोद्वारा तयार पारिएको एवं रोशन मुखियाको शब्द तथा अनिल ठटालको सङ्गीत र जीवनप्रकाश प्रधानको सङ्गीत संयोजनमा रहेको म्युजिक भिडियोको ‘सोल्टिनीले लौ मार्‍यो गाजलु आँखा झिम्काइ, हेर्दा-हेर्दै मुस्कायो मुटुमा मेरो तीर हान्यौ’ बोलको गीतमा उनले आफ्नो स्वर दिए।

यसरी नै हालै भण्डारीको सङ्गीत यात्राको दोस्रो चरणको दोस्रो गीत ‘कसैको नजरमा म काँड़ा भएँ, आज आफैदेखि टाढ़ा भएँ’ गीत सार्वजनिक भएको छ। यो गीतमा ध्रुव मधुकर्मीको शब्द, चन्द्रकुमार लामा (ब्लोन)-को सङ्गीत र समीर शर्माको सङ्गीत संयोजन रहेको छ। सालबारीको साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको यो गीतको भिडियोग्राफी सोनादाको क्रिएशन सुशीलद्वारा गरिएको छ।

यस प्रकार गायक भण्डारीले आफ्नो सङ्गीत यात्राको दोस्रो चरणमा आफ्ना स्रोताहरूलाई उत्कृष्ट सङ्गीत दिएर खुशी प्रदान गर्न प्रतिबद्ध छन्।

हाल उनी सङ्गीतकार नरवीर रसाइलीद्वारा सङ्गीतबद्ध तथा विशिष्ट साहित्यकार कालूसिंह रनपहेंलीको शब्द रहेको गीतको तयारीमा लागिपरेका छन्। उनलाई सङ्गीतको संरक्षण-प्रवर्द्धनमा प्रतिबद्ध साङ्गीतिक संस्था र सङ्गीतप्रति रुचि राख्ने व्यक्तिविशेषहरूले यो क्षेत्रलाई अघि बढ़ाउन प्रोत्साहन दिन थालेपछि हाल अन्य केही नयाँ गीत सिर्जनामा उनी लागिपरेका छन्। मणिकमल छेत्री र अनिल ठटालको सङ्गीतमा उनको अर्को गीत पनि रेकर्डिङको तयारीमा छ।

आगत दिनका लागि गायक कैलाश भण्डारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। सङ्गीतको सेवामा आफूलाई समर्पित गर्न चाहना राख्ने भण्डारीको सङ्गीत यात्रा निरन्तर अघि बढ़िरहोस् भन्ने कामना।       

फोन नम्बरः 9851770273, 8617830040  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here