तृणमूल सरकारविरुद्ध 1 मार्चको दिन मेट्रो च्यानलमा अशोक भट्टाचार्य धरना बस्ने

0
1323
सिलगढ़ीका मेयर अशोक भट्टाचार्य।

सिलगढ़ी, 19 फरवरी :  राज्यको शासक दल तृणमूल कङ्ग्रेसविरुद्ध सिलगढ़ी नगरनिगमका मेयर अशोक भट्टाचार्य आगामी 1 मार्चको दिन धरना बस्नेछन्। उनी राज्य सरकारविरुद्ध कोलकाताको मेट्रो च्यानलमा धरना बस्ने भएका हुन्।

मङ्गलवार नगरनिगमको कार्यालयमा एक पत्रकार सम्मेलन आयोजन गरी मेयर भट्टाचार्यले यसबारे जानकारी गराएका हुन्।  यो धरना एकदिने हुनेछ।  स्मरणरहोस्, मेट्रो च्यानलमा केही दिन अघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्र र सीबीआईविरुद्ध तीन दिनसम्म धरना  बसेकी थिइन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मेयरले भने, “आउँदो 1 मार्चको दिन यदि धरनाका लागि अनुमति प्राप्त नभए तापनि सिलगढ़ीवासीको हितलाई ध्यानमा राखेर म मेट्रो च्यानलमा धरना बस्नेछु।”

उनले धरनाको अनुमति माग्दै कोलकाताका पुलिस आयुक्तलाई पत्राचार अघिबाटै गरिसकेको तर अहिलेसम्म पुलिस आयुक्तको तर्फबाट पत्रको कुनै जवाफ नआएको बताए।

उनका अनुसार राजनीतिक स्वार्थ प्राप्तिका लागि राज्यको शासक दल तृणमूल कङ्ग्रेसले विभिन्न प्रकारले नगरनिगमको कार्यमा हस्तक्षेप गरिरहेको छ।

“राज्यको यस्तो कार्वाही सङ्घीय ढाँचाविरुद्ध हो। सिलगढ़ीका मानिसहरूका लागि म धरना बस्न लागेको हुँ”, भट्टाचार्यले भने। राज्य सरकारले नगरनिगमलाई दिनुपर्ने कोष अड़्काएर शहरलाई आर्थिक समस्यामा ढकेलेको मेयरको आरोप छ।

उनका अनुसार यो धरनामा नगरनिगमका सबै वाममोर्चा पार्षद् तथा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ। यो धरनामा अघि आगामी 26 फरवरीको दिन माकपाले मित्र सम्मेलनी हलमा एक सम्मेलन आयोजन गरेको छ।

उल्लेखनीय छ, वाममोर्चाको अधीनमा रहेको सिलगढ़ी नगरनिगमलाई लिएर वाममोर्चा र तृणमूल कङ्ग्रेसबीच लगातार परस्परमा हिलोछेपाइ चलिरहेको छ। राज्यको शासक दलले राजनीतिक फाइदाका लागि कोष आवण्टन रोकेर बोर्डलाई लङ्गड़ो बनाउन खोजिरहेको तथा पटक पटक हस्तक्षेप गरिरहेको आरोप लगाइरहेको छ।

त्यहीं वाममोर्चा अधीनस्थ बोर्ड नगरनिगमको विकास गर्नमा पूर्ण रूपले विफल बनेको तृणमूल कङ्ग्रेसको आरोप  छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here