कोरोनाको महामारीमा ‘नस्लवाद’: विमलपन्थी मोर्चाले प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गर्ने

0
1148

दार्जीलिङ, १९ मार्चः कोरोना भाइरसलाई केन्द्र गरी देशका विभिन्न स्थानमा गोर्खालगायत र उत्तरपूर्वी राज्यका जनसाधारण र विद्यार्थीहरू लगातार नस्लवाद (रासिज्म)-को शिकार भइरहेको घटनाप्रति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्षका विमल गुरुङले तीखो शब्दमा भर्त्सना जनाएका छन्।

यसका साथै यस्तो घृणित घटनाप्रति शीघ्र देशका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई पत्राचार गर्ने पनि उनले बताएका छन्।

‘यस्तो संवेदनशील समयमा भारतमा बसोबास गर्ने सम्पूर्ण गोर्खा समुदायलाई सुरक्षित राख्ने जिम्मेवारी केन्द्र सरकारको हो’, गुरुङले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्।

कोरोना भाइरसको बढ़्दो प्रकोपको कारण आजको संवेदनशील समयमा देशका विभिन्न स्थानमा उत्तर पूर्वी क्षेत्रलगायत गोर्खाली समुदायका सर्वसाधारण जनता तथा विद्यार्थीहरू नस्लवाद (जाति विद्वेष)-को शिकार भइरहेको घटना दैनिकी प्रकाशमा आइरहेकोले आफू धेरै चिन्तित रहेको पनि बताएका छन्।

‘यस्तै घटनाहरूले हामीलाई भारतीय समाजको मूलधारामा सामेल हुनबाट वञ्चित गरिरहेको छ। पश्चिम बङ्गालको कोलकातामा हाम्रा नानीहरू नस्लवाद शिकार भएको घटनाले म झनै मर्माहत बनेको छु’, गुरुङले विज्ञप्तिमा भनेका छन्, ‘उत्तर पूर्वी क्षेत्रका सर्वसाधारण जनता कमसेकम आफ्नो राज्यमा त सुरक्षित नै छ। तर, हामी हाम्रै राज्यमा अवहेलित हुन्छौं/प्रताड़ित हुन्छौं।’

अर्कोतिर उनले अहिले विश्व महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट सङ्क्रमित हुनबाट जोगिनका लागि विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको दिशानिर्देशलाई पालन गर्ने विमलले मानिसहरूलाई अपीलसमेत गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here