कोरोना भाइरसबाट बच्न सतर्कता शुरु, पर्यटकहरू पहाड़बाट फर्किन थाले

0
916

दार्जीलिङ, 19 मार्चः विश्वसँगै देशभरि फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर काउन्सिल फर द इण्डियन स्कूल सर्टिफिकेट एक्जामिनेशनले एक सर्कुलर जारी गरेर आईसीएसई र आईएसईका रहल विषयका परीक्षाहरूलाई पनि स्थगित गरेको घोषणा गरेको छ।

काउन्सिल फर द इण्डियन स्कूल सर्टिफिकेट एक्जामिनेशनका सचिव एवं मुख्य कार्यकारी ग्यारी एराथुनद्वारा जारी गरिएको यस सर्कुलरमा भनिएको छ, ‘देशभरि फैलिरहेको कोरोना भाइरसलाई ध्यानमा राखेर नै काउन्सिलले आज 19 मार्चदेखि आउँदो 31 मार्चसम्म हुने परीक्षाहरूलाई अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय लिएको हो।’

यद्यपि, उच्च माध्यमिक परीक्षा विषय लिएर अहिलेसम्म यसप्रकारको अधिसूचना जारी भएको छैन। किनभने, हाल उच्च माध्यमिकको परीक्षा पनि चलिरहेको छ। जुन परीक्षा आउँदो 27 मार्चका दिन समाप्त हुने तय छ।

स्मरण रहोस्, हाल राज्य सरकारको निर्देशअनुसार, राज्यका सम्पूर्ण शैक्षिक संस्थानलाई आगामी 15 अप्रेलसम्मका लागि बन्द राख्ने घोषणा गरिएको छ, जसअनुसार पहाड़का पनि सबै शैक्षिक संस्थान बन्द छन्।

अर्कोतिर, जीटीएले आजदेखि पहाड़मा पर्यटकहरूको आगमनमाथि पनि रोक लगाइसकेको छ।

यति मात्रै होइन, जीटीएले आफ्नो अधीनमा रहेका सम्पूर्ण पर्यटन स्थललाई पनि आजदेखि बन्द राख्न शुरु गरेको छ भने राजनैतिक कार्यक्रमहरूलाई पनि आगामी केही दिनसम्मका लागि ठप्प राख्ने भएको छ।

यसैबीच, आजदेखि दार्जीलिङमा रहेका पर्यटकहरूले पनि पहाड़ छोड्न थालिसकेका छन् भने पर्यटकहरूको आगमन लगभग शुन्य बनेको छ। तरै, पनि आम जनतामा कोरोना भाइरसले प्रभावित बनाउने डर अलिकति पनि कम्ती भएको छैन।

यसैले पनि दार्जीलिङ शहरमा बिस्तारै मानिसहरूको भीड़ कम्ती हुनथालेको आज स्पष्ट भएको छ।

यसैगरी दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले दार्जीलिङ शहरका 5 वटा स्थानमा हात धुनका लागि पानीको ट्याङ्की राखिदिने निर्णय गरेको छ।

ताकि शहर वरिपरि हिँड्डुल गर्ने मानिसहरूले कोरोना भाइरसबाट ब्चनका लागि हात धुन यो पानीको प्रयोग गर्न सकुन्।

कर्मचारी सङ्गठनले दार्जीलिङ बाटा दोकानअघि, जजबजार, गड्डीखान र चौरस्तामा पानीको ट्याङ्की राखिदिएको यसका उपाध्यक्ष प्रणय शर्माले बताएका छन्।

यति मात्रै होइन, दार्जीलिङ नगरपालिका प्रशासनले आजदेखि नगरपालिकाका कर्मचारीहरूका साथै नगरपालिका कार्यालयमा प्रवेश गर्नेहरूका लागि सेनिटाइजरको व्यवस्था गरिदिएको छ।

यसका लागि नगरपालिका प्रशासनले नगरपालिकाको मूलद्वारमा सेनिटाइजर राखिदिएको नगरपालिकाका सचिव सीपी राईले बताएका छन्।

यसैगरी दार्जीलिङ नगरपालिकाले बजारमा अधिक मूल्यमा सेनिटाइजर बिक्री भइरहेको विषयमाथि रोक लगाउने दिशामा उचित पहल गरिरहेको पनि बताएको छ।

नगरपालिका सचिव राईले भने, “यस विषयमा नगरपालिकाले स्वास्थ्य अधिकारीलाई पनि अघिबाटै निर्देश दिइसकेको छ र यदि अधिक मूल्यमा कसैले यस्ता आवश्यक सामग्री बिक्री गरेको भेट्टाइए, उचित कार्वाही गर्ने निर्णय लिएको छ।”

यसका साथै दार्जीलिङ पुलिस अधीक्षकको निर्देशअनुसार, आज दार्जीलिङ ट्राफिक पुलिसले दार्जीलिङ शहरभरि ब्लिचिङ पाउडर छर्किने काम गर्‍यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here