दार्जीलिङ, 19 मार्चः गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाले आउँदो 15 अप्रेलसम्म ठूलो जमघट हुने आफ्ना सबै राजनीतिक कार्यक्रमलाई स्थगित गर्ने निर्णय लिएको यसका अध्यक्ष विनय तामाङले बताएका छन्।
कोरोना भाइरसको प्रकोप दार्जीलिङ पहाड़का गाउँ-बस्तीतिर पनि आउने आशङ्का बढ़िरहेको स्थितिलाई ध्यानमा राखेर आफ्नो पार्टीले यस्तो निर्णय लिएको उनको भनाइ छ।
यसका साथै विनयले अन्य राजनीतिक दलका नेतृत्वहरूलाई पनि आ-आफ्ना सबै राजनीतिक कार्यक्रमलाई जनहितका लागि स्थगित राख्ने अनुरोधसमेत गरेका छन्।
‘हाम्रा मानिसहरूका कल्याण र सुरक्षा गोर्खा जनमुक्ति मोर्चाको मुख्य प्राथमिकता हो’, एक विज्ञप्ति जारी गरी तामाङले भनेका छन्, ‘यसैलाई अनुसरण गर्दै जनताको सुरक्षाका लागि प्रशासनले दिएका सबै निर्देशको अनुसरण गर्नेछ।’
विनयले थप भनेका छन्, ‘हामी कोरोना नामक एक अदृश्य शत्रुसित लड़िरहेका छौं। यसर्थ सबै एकजुट भएर नै यो युद्ध लड्न अनिवार्य छ। हामी एक्लो-एक्लो भएर यो युद्ध जित्न सक्नेछैनौं। समग्र पहाडवासी एकजुट हुन अनिवार्य छ।’
यसैगरी उनले कोरोना भाइरसको सङ्क्रमण फैलिनदेखि रोक्नका लागि घरमै बस्ने तथा भीड़भाड़ र जमघटदेखि अलग बस्ने प्रण गर्ने मानिसहरूलाई अपील गरेका छन्।
अर्कोतिर, विनयले वर्तमान स्थितिलाई ध्यानमा राखेर तामाङले सबै धार्मिक समुदायका धर्मगुरुहरूलाई आ-आफ्ना धार्मिक कार्यक्रमहरूमा केही समयका लागि जमघट कम्ती गरिदिने अनुरोध पनि गरेका छन्।
‘आउँदा 14 दिनसम्म म स्वयं व्यक्तिगत रूपमा चियाकमानहरूमा गएर सचेतनामूलक एवं जनचेतनामूलक कार्यक्रमहरू गर्नका साथै उनीहरूलाई कोरोना भाइरसको प्रकोपको गम्भीरतालाई बुझ्ने, यसमाथि सतर्कता अप्नाउने तथा जीटीएको तर्फबाट दिइएका निर्देशहरू पालन गरिदिने अनुरोध गर्नेछु’, विज्ञप्तिमा विनयले भनेका छन्।
यसैबीच, उत्तरपूर्वी प्रान्तका र नेपाली समुदायमाथि कोलकातामा भइरहेको भेदभावपूर्ण क्रियाकलापमाथि पनि कठोर कारबाही गरिदिने मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अनुरोध गरेका छन्।
विज्ञप्तिमा उनले बताएअनुसार गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाले कोरोना भाइरसको बढ़्दो प्रकोपलाई ध्यानमा राखेर हेल्पलाइन नम्बर जारी पनि गरेको छ।
हेल्पलाइन निम्न छ
दार्जीलिङ
सुमन लकान्द्री – 8016208087
प्रमोद शर्मा – 9584241134
मिरिक
विवेक तामाङ – 9734153654
खरसाङ
दिवस छेत्री – 6295010581
विश्वास गुरुङ – 7602249409
कालेबुङ
कमल राई – 9563307674-
विनय घिसिङ – 8001210043