दार्जीलिङ, 19 मार्चः नेपाली भाषाको संरक्षण र संवर्धनका लागि नेपाली भाषा परिषद् स्थापनाको माग सांसद राजु विष्टले आज सदनमा उठाए।
डेढ़ करोड़ भारतीय गोर्खाले बोल्ने नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा मान्यता पाएको यतिका वर्ष बितिसक्दा पनि यस भाषाको संरक्षण र संवर्धनमा सरकारी पक्षबाट अहिलेसम्म कुनै ठोस पहल नगरिएको विषयलाई उनले सदनमा राखेका थिए।
विशेषगरी नेपाली भाषा पश्चिम बङ्गालको दोस्रो भाषा भए तापनि आजका दिनसम्म नेपाली भाषाको विकास र विस्तारमा कुनै समुचित पहल नभएको बताए।
यसका साथै उनले नेपाली भाषा संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गरिएको करिब तीन दशक बितिसक्दा पनि नेपाली भाषा समर्पित एउटै नेपाली टेलिभिजन र रेडियो च्यानल नरहनु दुःखको कुरा बताए। यसैगरी, सांसद राजु विष्टले शैक्षिक रूपमा नेपाली भाषाको संरक्षण र बढ़ावा दिनका लागि केही नगरेको बताए।
साथै मास मिडिया र शिक्षाविद्हरूमा पनि नेपाली भाषाको उपस्थिति नगण्य रहेको बुझाए।
“नेपाली भाषा पश्चिम बङ्गालको दोस्रो सरकारी भाषा भए तापनि त्यहाँका कुनै केन्द्रिय विश्वविद्यालयले नेपाली भाषालाई विषयको रूपमा प्रस्ताव गर्दैन”, विष्टले सदनमा थपे, “दार्जीलिङ पहाड़लगायत तराई डुवर्स, जहाँ नेपालीभाषा बोल्नेहरू बहुसङ्ख्यक छन्, त्यहाँ भाषाको शिक्षक र शिक्षण सामग्रीहरूको आभाव छ।”
उनले मानव संसाधान विकास मन्त्रीलाई नेपाली भाषा परिषद् स्थापनाको अनुरोध गर्दै यसले युवा एवं विद्यार्थीहरूबीच नेपाली भाषा संरक्षण र संवर्धनका लागि कार्य गर्ने पनि बताए।