नयाँ दिल्ली, 19 मार्चः कोरोना भाइरसको कारण विश्वभर उत्पन्न खतराबीच प्रधानमन्त्रीले आउँदो 22 मार्च आइतवारका दिन ‘जनता कर्फ्यु’-को आह्वान गरेका छन्।
आज देशलाई सम्बोधन गर्दै प्रम मोदीले 22 मार्चका दिन बिहान 7 बजेदेखि राति 9 बजेसम्म जनता कर्फ्यु लागू गर्न देशवासीसँग आह्वान गरेका हुन्। यसका साथै उनले जनता कर्फ्युका लागि देशवासीका लागि सहयोग र समर्थन पनि मागेका छन्।
“22 मार्चका दिन हाम्रो यो प्रयास, हाम्रो आत्मसंयम, देशहितमा कर्तव्य पालनको सङ्कल्पकै एक प्रतीक हुनेछ”, प्रधानमन्त्रीले थपे, “22 मार्चको जनता कर्फ्युको सफलता, यसको अनुभवले हामीलाई आउने चुनौतीहरूका लागि तयार पार्नेछ।”
यसका साथै उनले सम्भव भएमा कम्तीमा 10 जना व्यक्ति प्रतिदिन फोन गरी कोरोना भाइरसबाट बच्ने उपाय र जनता कर्फ्युबारे जानकारी गराउने अपील पनि देशवासीसँग गरेका छन्।
अर्कोतिर उनले कोरोनाजस्ता वैश्विक महामारीसँग जुझ्नका लागि सरकार पूर्ण रूपले तयार रहेको बताए। यसअवसरमा प्रधानमन्त्रीले खाद्यान्न, औषधिलगायत आवश्यक कुराहरूको कमी नहोस् भन्नखातिर सरकारले सबै प्रकारको कदम उठाइरहेको बताए।
यसका साथै उनले आतङ्कित भएर यी कुराहरूको अग्रिम जोगाड़का लागि ताँती नलाग्ने आग्रह गरे।