चुनाउपछि पनि चोपड़ामा हिंसा, गोली लाग्दा विद्यार्थी घाइते

0
1329
हिंसालाई साम्य बनाउन प्रयासरत सुरक्षाकर्मी। (फोटो साभार इन्टरनेट

चोपड़ा, 19 अप्रेल : लोकसभा चुनाउको दोस्रो चरणमा दार्जीलिङ संसदीय सीटमा भएको मतदानको एकदिनपछि शुक्रवार तृणमूल कङ्ग्रेस र भाजपाका समर्थकहरूबीच कथित रूपले हिंसात्मक झड़प भएको छ।

यो झड़पले क्षेत्रमा तनाउ सिर्जना भएको छ भने स्थानीय मानिसहरू त्रसित बनेका छन्। एक चुनाउ अधिकारीले यो जानकारी दिएका हुन्।

ती चुनाउ अधिकारीका अनुसार अज्ञात मानिसहरूले हाते बम फ्याँक्नका साथै गोलीबारी गरे, जसमा सातौं श्रेणीका एक विद्यार्थी घाइते भएका छन्।

अधिकारीले थप बताएअनुसार पुलिसको एक ठूलो दस्तालाई स्थिति नियन्त्रणमा गर्नका लागि घटनास्थलमा पठाइएको छ। स्थितिलाई नियन्त्रणमा राख्नका लागि पुलिसकर्मीले  सम्भव भएजति सबै कदम उठाइरहेको छ। क्षेत्रमा अशान्ति सिर्जना गर्ने मानिसहरूलाई चिह्नित गर्ने कोशिश गरिँदैछ। यद्यपि यो मामिलामा कोही पनि पक्रा परेको छैन।

चुनाउ आयोगले राज्यका तीन लोकसभा क्षेत्र दार्जीलिङ, जलपाइगढ़ी, र रायगञ्जमा हिजो सम्पन्न चुनाउलाई ‘शान्तिपूर्ण चुनाउ’-को संज्ञा दिएको थियो, तर रायगञ्ज, चोपड़ा र इस्लामपुर एवं अन्य क्षेत्रमा हिंसाका केही ठूला घटनाहरू प्रकाशमा आएका थिए।

चोपड़ामा मतदाताहरूले केन्द्रिय बलको मतदान केन्द्रमा अनुपस्थितिलाई लिएर विरोध जनाउँदै बिहीवार सड़क जाम गरेका थिए। ती मतदाताहरूको अनुसार उनीहरूलाई मतदान गर्नबाट जबर्जस्ती रोक्ने काम गरिएको थियो।

अधिकारीका अनुसार भीड़लाई नियन्त्रित गर्नका लागि पुलिसले आँसु ग्यासको गोला छोड्यो। अर्कोतिर भीड़ले पुलिसमाथि ढुङ्गामूढ़ा गर्‍यो। यो हिंसामा धेरै पुलिसकर्मी घाइते भएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here