कोलकाता, १९ मई : बङ्गालमा मतदानअवधि पुनः हिंसाको खबर प्रकाशमा आएको छ। पछिल्ला चरणहरूमा जस्तै आइतबार सातौं चरणको मतदानअवधि पनि व्यापक हिंसाको खबर आइरहेको छ। पश्चिम बङ्गालको ब्यारेकपुरमा हिजो राति हिंसा भएको थियो। ब्यारेकपुरको भाटपाड़ामा हिजो राति भाजपा र तृणमूल कार्यकर्ताहरूबीच झड़प भयो। यो झड़पअवधि दुईवटा गाड़ीमा आगो झोसियो। अर्कोतिर बम फ्याँकिएको खबर पनि छ।
यद्यपि मतदानअवधि हिंसा भएको यो पहिलो मौका होइन। यसभन्दा पहिलो चरणदेखि हिंसा भएको थियो। यो लोकसभा चुनाउमा लगातार व्यापक हिंसाको कारण देशमा नै बङ्गाल केन्द्र बनेको छ।
पहिलो चरणमा कोचबिहार, दोस्रो चरणमा रायगञ्ज, तेस्रो चरणमा मुर्शिदाबाद, चौथो चरणमा आसनसोल, पाँचौं चरणमा हुगली र छैटौं चरणमा घाटालमा व्यापक हिंसा भएको थियो।
अर्कोतिर हिंसालाई ध्यानमा राखेर तृणमूल कङ्ग्रेसका पार्षद् सुवास बोसलाई हिरासतमा लिइएको छ, जबकि विधाननगरमा भाजपा नेता अनुपम दत्तलाई नगरबन्दी बनाइएको छ।
यसैबीच राजहाटमा रहेको भाजपा कार्यालयमा आगो लगाइएको छ। त्यहीं माकपा एजेन्टलाई कुटपिट गरिएपछि उत्तर कोलकाताका माकपा उम्मेदवार कोनिनिका घोष बेलगछियामा धरनामा बसेकी छन्।
अर्कोतिर बाशिरहाटको बूथ सङ्ख्या १८९ –मा तृणमूल कार्यकर्ताहरूले मतदाताहरूलाई भोट हाल्न भित्र नदिएको आरोप उठेको छ। भोट हाल्नमा तृममूल कार्यकर्ताहरूले रोकेको भन्दै मतदाताहरू मतदान केन्द्रअघि धरनामा बसेका छन्।
सातौं एवं अन्तिम चरणको चुनाउअन्तर्गत आज बङ्गालका ९ सीटमा चुनाउ हुँदैछ। जसमा उत्तर कोलकाता, दक्षिण कोलकाता, दमदम, बारासात, बशिरहाट, जाधवपुर, डायमन्ड हार्बर, जयनगर (एससी) र मथुरापुर सीट छन्। अर्कोतिर आजै दार्जीलिङलगायत इस्लामपुर, कान्डी, भाटपाड़ा, हबिबपुर विधानसभा सीटमा आजै उपचुनाउको मतदान हुँदैछ।