२१ वर्षपछि अर्को ‘महातूफान’, प्रतिघण्टा करिब २०० किलोमिटरको गतिमा आइरहेछ ‘अम्फान’

0
1240

नयाँ दिल्ली, १९ मईः कोरोना कहरबीच देशका तटीय क्षेत्रमा महातूफानको खतरा बढ़ेको छ।

अम्फान आज नभए भोलि पश्चिम बङ्गालको दीघा र बङ्ग्लादेशको हटिया द्वीपको बीचस्थित तटमा ठोकिनेछ। यसको प्रभाव बिहीवारसम्म रहने बताइएको छ।

ज्यानमालको क्षतिलाई रोक्नका लागि एनडीआरएफका ५३ टिम तैनाथ गरिएको छ। तटीय क्षेत्रमा गाउँहरूलाई खाली गरिँदैछ।

जालहारीहरूलाई समुद्र किनारमा नजानका लागि अलर्ट जारी गरिएको छ। यसका साथै रेल र बस सेवाहरूको रूट परिवर्तन गरिएको छ।

अम्फान तूफानका कारण ओडिशा, पश्चिम बङ्गाल, सिक्किम, असम र मेघालयमा आउँदो २१ मईसम्म व्यापक पानी पर्ने तथा आँधी तूफानको चेताउनी जारी गरिएको छ।

एनडीआरएफका महानिर्देशक एसएन प्रधानले सोमबार बताएअनुसार ‘अम्फान’ –लाई हल्का लिन सकिँदैन। उनका अनुसार बङ्गालको खाड़ीमा आएको प्रचण्ड चक्रवातीय तूफानको भारतले दोस्रोपटक सामना गरिरहेको छ।

उनका अनुसार अम्फानले कच्चा घरको छानो, नरिवलको रूख,टेलिफोन र बिजुलीको खम्बालाई व्यापक क्षति पुऱ्याउन सक्छ। स्मरणरहोस्, १९९९ को सुपर साइक्लोनका कारण ९,००० भन्दा अधिक मानिसले ज्यान गुमाएका थिए।

भारत मौसम विज्ञान विभागका महानिर्देशक एम. महापात्रले १९९९ मा ओडिशा तटमा आएको प्रचण्ड चक्रवातीय तूफानपछिको यो त्यसै श्रेणीको तूफान रहेको बताएका छन्।

‘अम्फान’ तटमा ठोकिँदा हावाको गति १९५ देखि २०० किलोमिटर प्रतिघण्टा रहने उनको अनुमान छ। यसैले यो तूफानले क्षेत्रलाई अत्यधिक असर पार्ने महापात्रले बताएका छन्।

मौसम विभागले बताएअनुसार पश्चिम बङ्गालका दक्षिण र उत्तर परगना, पश्चिम र पूर्व मेदिनीपुर, हुगली, हावड़ा र कोलकाताजस्ता तटीय जिल्लामा वर्षा आज अर्थात् १९० मईदेखि शुरू हुनेछ। यसका साथै ५५ देखि ६५ किलोमिटरको प्रतिघण्टाको गतिले हावा चल्नेछ।

‘अम्फान’ तूफानको नाम थाइल्यान्डले राखेको हो। यो तूफान २०१४ मा ‘हुदहुद’ तूफानभन्दा धेरै डरलाग्दो र विध्वंसक हुने आशङ्का गरिएको छ।

२०१४ मा ‘हुदहुद’-ले पश्चिम बङ्गाल र ओडिशाजस्ता तटीय राज्यलगायत उत्तर प्रदेशसमेत धेरै राज्यमा व्यापक क्षति पुऱ्याएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here