‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

0
1397

चण्डीगढ़, 18 जूनः भारतका लिजेन्ड स्प्रिन्टर मिल्खा सिंह अब सशरीर रहेनन्।

कोरोना सङ्क्रमित बनेका यी ‘फ्लाइङ सिख’-को शुक्रबार राति 11:30 बजे निधन भएको हो। उनी 91 वर्षका थिए।

पछिल्ला करिब 15 दिनदेखि चण्डीगढ़को एक अस्पतालमा उनको उपचार चलिरहेको थियो। अक्सिजन लेभल (सेच्युरेसन) घटेपछि केही दिनअघि उनलाई आईसीयूमा भर्ती गरिएको थियो।

20 मईका दिन उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।

भारतका यी महान् धावक संसारभर ‘फ्लाइङ सिख’-को नामले चिनिन्थे। कमनवेल्थ गेम्स 1958 –मा उनले पहिलोपटक गोल्ड जितेका थिए।

यति मात्र होइन, एशिया कपमा पनि उनले चारपटक गोल्ड जितेका थिए।

सिंहले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन रोम ओलम्पिक 1960-मा देखाएका थिए। त्यसबेला 400 मिटरको दौड़को फाइलमा यी लिजेन्ड स्प्रिन्टर चौथो स्थानमा रहँदै कांस्य पदकबाट चुकेका थिए।

वास्तवमा दौड़ पूरा हुनैलाग्दा पछिल्तिर फर्केर हेरेकै कारण आफू कांस्यबाट चुकेको उनी ठान्थे, जसको पछुतो उनले एक अन्तर्वार्तामा गरेका थिए।

त्यस अन्तर्वार्तामा मिल्खाले भनेका थिए, ‘दौड़िरहेको समयमा एकपटक पछि फर्केर हेर्ने मेरो बानी थियो। रोम ओलम्पिकमा मैले उत्कृष्ट सुरुआत गरेको थिए। यद्यपि मैले एकपटक पछि फर्केर हेरे, सायद यहीं म चुके।’

यस दौड़मा कांस्य पदक विजेताको समय 45.5 थियो। मिल्खाले 45.6 सेकेन्डमा दौड़ पूरा गरेका थिए। अर्थात् कांस्य पदक र उनीबिच केवल एक सेकेन्ड दूरी रहेको थियो।

1959 –मा यी महान् धावकलाई पद्मश्री सम्मानद्वारा सम्मानित गरिएको थियो।  

20 नोभेम्बर 1929 –का दिन गोविन्दपुरा (अहिले पाकिस्तानमा पर्छ)-मा एक सिख परिवारमा मिल्खा सिंहको जन्म भएको थियो।

विभाजनपछि भारत आएका उनले केही वर्ष सेनामा पनि बिताएका थिए। तर खेलपट्टि अत्यधिक रुचिका कारण क्रस कन्ट्री दौड़मा भाग लिँदै 400 भन्दा बढ़ी सैनिकमा मिल्खाले छैटौँ स्थानमा ओगटेका थिए। त्यसपछि नै उनीभित्र महान् धावक हुर्केको हो।

  2013 मा उनकै जीवनमा आधारित फिल्म भाग मिल्खा भाग  बनेको हो। यो फिल्मले अप्रेल 2014-मा 61औँ राष्ट्रिय फिल्म पुरस्कारमा यो फिल्मले सर्वश्रेष्ठ मनोरञ्जक फिल्मको पुरस्कार प्राप्त गरेको थियो।

‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत अन्यले गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

उल्लेखनीय छ, पाँच दिनअघि मात्र उनकी पत्नी निर्मल कौरको पोस्टकोविड कम्प्लिकेसन्सका कारण मृत्यु भएको थियो। निर्मल कौर कुनै समय भारतको राष्ट्रिय भलिबल टिमकी कप्तान पनि थिइन्।

मिल्खा सिंहले एक छोरो र तीन छोरी छोड़िगएका छन्।

छोरो जीव मिल्खा सिंह दुईपटक एशियन टुर अर्डर अव् मेरिट् जित्ने भारतका एकमात्र गोल्फर हुन्। जीव मिल्खा सिंह पनि पद्मश्री सम्मानले सम्मानित भइसकेका छन्। खेलको क्षेत्रमा पद्मश्री सम्मानले सम्मानित हुने पिता-पुत्रको यी पहिलो जोड़ी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here