गान्तोक, 19 जुलाई : शुक्रवार संसद भवनमा सिक्किमका सांसद इन्द्रहाङ सुब्बा र दार्जीलिङका सांसद राजु विष्टले केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डालाई भेट गरी गोर्खा समुदायका 11 जातगोष्ठीले जनजातिको मान्यता पाउनुपर्ने मागबारे बुझाए। सिक्किम र दार्जीलिङका साझा मुद्दालाई सामूहिक रूपमा उठाउने सोच बनाएका यी दुवै सांसदले 11 जातगोष्ठीको जनजाति मान्यताको मुद्दालाई आज मन्त्री मुण्डासमक्ष राखेका थिए।
मन्त्रीसँगको संक्षिप्त भेटवार्तामा सुब्बा र विष्टले जनजातिको मान्यता पाउनबाट छुटेका गोर्खा जातिका 11 जातगोष्ठीको जनजाति मान्यताको माग, यसको औचित्य र आवश्यकताबारे बुझाएका थिए।
अर्कोतिर, यसै अवसरमा सांसद इन्द्रहाङ सुब्बाले जनजाति मामिला मन्त्रीलाई सिक्किम विधानसभामा लिम्बू र तामाङ समुदायका लागि अझैसम्म सीट आरक्षणको व्यवस्था हुननसकेको बताए।
“जनजाति मामिला मन्त्री अर्जुन मुण्डासँग आजको भेटमा मैले सन् 2003 -मा नै जनजातिको मान्यता पाएका लिम्बू र तामाङ समुदायका लागि आजको दिनसम्म सिक्किम विधानसभामा सीट आरक्षण हुननसकेको कुरालाई बुझाएको छु”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै सुब्बाले भने, “यी दुई समुदायले जनजाति मान्यता पाइसकेपछि तीन तीनवटा चुनाउ सम्पन्न भइसके तर, सीट आरक्षणका लागि भने ठोस कुनै पहल नभएको कुरालाई उठान गरी जनजाति मन्त्रालयबारे यसबारे हुनपर्ने र हुनसक्ने सबै कार्य चाँड़ोभन्दा चाँड़ो गरिदिनका लागि अनुरोध गरेको छु।”
सुब्बाका अनुसार यी दुईवटै मुद्दामा केन्द्रिय मन्त्रीबाट उनीहरूले सकारात्मक जवाफ पाएका छन्। “मन्त्रीले हामीलाई 11 जातगोष्ठीको जनजातिको मान्यता र लिम्बू-तामाङ समुदायको सीट आरक्षणको मागमा मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्”, थपे, “भाजपाले 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता दिने मागलाई आफ्नो घोषणा-पत्रमा समावेश गरेको छ। दार्जीलिङका सांसद राजु विष्ट भाजपाकै हुन्। म पनि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-कै सहयोगी सांसद हुँ। यसैले आज हामी दुईजनाले जनजाति मामिला मन्त्रीसमक्ष राखेका दुईवटा मुद्दालाई केन्द्र सरकारले गम्भीरतापूर्वक लिएर कार्य गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।”
उल्लेखनीय छ, गोर्खा समुदायका 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गरिनुपर्ने माग सिक्किम र दार्जीलिङ दुवै ठाउँको साझा मुद्दा हो। यो माग दुवै ठाउँबाट लगातार उठिरहेको छ। भाजपाले पनि यसपटक आफ्नो सङ्कल्प पत्रमा यी 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता दिने प्रतिबद्धता जताएको छ। यसका साथै केही दिनअघि दार्जीलिङका सांसद राजु विष्टले गृहमन्त्री अमित शाहसँगको भेटवार्तामा अन्य मुद्दाहरूसँगै यी मुद्दालाई पनि उठाएका थिए। त्यसबेला गृहमन्त्री शाहले यो मुद्दामा समुचित पहल गर्ने विष्टलाई आश्वासन दिएका थिए।
Atty uttam