माटो

0
2339

-अर्जुन यावा

घरका वरिपरि गमलामा फूल लगाउने भनेर श्रीमतीले एकबोरा जति माटो ल्याइमागेकी धेरै भयो। माटो ‘कालो कालो होस् है’ भन्थिन्। ‘कालोमाटो मलिलो हुन्छ’ भन्छे ऊ। रातोमाटोमा फूल सप्रिँदैन’रे। ‘फूल रोप्न चिम्टे माटो त झन कामै लाग्दैन’ भन्छे। ‘रूखका पातहरू मिसिएको, पातहरू मिसिएर त्यहीँ कुहिएको माटो राम्रो हुन्छ’ भन्छे। फूलकै लागि भनेर बिहान-बिहान पिउने चियाको छोक्रा पनि भेला गरिराखेकी छ उसले। ‘ल ल, ल्याइदिउँला’ भनेको धेरै भइसकेको थियो। ‘आखिर माटो नै त हो। ल्याउँदिउँला नि!’ भनेको छु। ल्याइदिन्छु।

कोपा-

माटोको कुरा गर्दा म पापा र कोपालाई खुब सम्झन्छु। कोपा पनि घरका वरिपरि फूलहरू भएको खुब मन पराउनु हुन्थ्यो अरे। बेला-बेला पापाले सुनाउनु हुन्थ्यो। पापाले ‘कोपा ब्रिटिश आर्मी’ भन्थे। कोपाको खुब गुनगान गर्थे पापा। भन्थे- ‘तेरो कोपा बढ़ो पराक्रमी थिए। वीर थिए। लड़ाइँमा दुश्मनहरूलाई छ्वाम-छ्वाम छिनाएका’रे। कोपाका गाउँले साथीहरूले पछिसम्म पनि कुरा गर्थे। बुझिस्, तँ पनि कोपाजस्तै हुनुपर्छ। देशका लागि लड़नुपर्छ। यो धरती माताका लागि लड़्नुपर्छ। देशको माटोका लागि लड़नुपर्छ।’

कोपाको झझल्कोसम्म त्यति राम्रो छैन। भित्तामा झुण्ड्याइएको ‘ब्याक एण्ड वाइट’ फोटोमा देखाएर पापा भन्थे- ‘यो तेरो कोपा हो। दोस्रो विश्वयुद्धपछि अवकाश पाएर फर्किएका। आएको दुई महिनापछि खिचेको फोटो हो यो।’ छेउमा झुण्ड्याइएको अर्को फोटो देखाएर भनेका थिए पापाले- ‘यसमा चैं ई, यो छेउको हो कोपा। कोपाको छेउको चैं दार्जीलिङका पल्टने साथी’रे। राजमान राई भन्थे तेरो कोपाले। खुब मिल्ने’रे। आर.एम. राई दुवैको नाम पनि एउटै-एउटै भएकाले सबैले राम-लक्ष्मण भन्थ्यो’रे। आर.एम. अर्थात् राममान र राजमान। बिचारा! देश-विदेश खाएर आयो। संसार जितेर गोर्खाको नाम कमाएर आयो। बुढ़ेसकालमा आफ्नै ठाउँमा अर्काले माऱ्यो राजमानलाई भन्थे तेरो कोपाले।’

मलाई अचम्म लाग्थ्यो त्यो बेला। विश्वलाई जित्ने कोपा र कोपाका साथी कति बलिया थिए होलान् जस्तो लाग्थ्यो। त्यो सबै कुरा पछि बुझें। बुझेपछि त आफैसित लाज लाग्थ्यो।

‘पापा! कोपाको साथीलाई कसले मारेको’रे?’ पापालाई सोधिरहन्थें।

‘स्यार्पीले हौ।’ पछिपछि दिक्का लाग्नथालेछ पापालाई, झर्किएझैं भन्थे। त्यो पनि बिस्तारै बुझ्दै गएँ- 1986-मा गोर्खाल्याण्ड आन्दोलनमा मारिएका रहेछन्। अहिले सम्झन्छु- ‘विश्वलाई जित्ने पराक्रमी गोर्खा भनेपछि विश्व नै डराउने। त्यही गोर्खाले ‘ल्याण्ड’-को लागि लड़्नुपर्ने। त्यै पनि आफ्नै ‘ल्याण्ड’-मा। आफ्नै माटोमा। लड़ेर केही त प्राप्त हुनुपर्थ्यो नि। बिचारा कोपाका साथीले आफैलाई गुमाए। जुन माटोका लागि लड़े आखिर त्यही माटोमा मिले।’

म कोपालाई सम्झने प्रयास गर्छु। अहँ, ठ्याम्मै सम्झन सक्दिनँ। कोपाको जवानीको फोटो हेर्छु। पापाको फोटो हेर्छु। दुवै एउटै लाग्छ। पापासितका झझल्कोहरू आँखाभरि नाचिरहन्छन्। कोपालाई फोटोमा प्रत्येक दिन हेरेर पनि उनीसितका सम्झनाहरू नाच्दैनन् आँखामा। घरदेखि तल छ कोपाको कपुर। सिमेण्टी गरिएको। वर्षमा एकपल्ट आमाले झारहरू उखेलेर सफा गरिदिनुहुन्छ।

…..

राजवीर-

हाम्रो घरदेखि तल पर्छ राजवीर मामाको घर। गोर्खा राइफलमा पाँच-सात वर्ष नोकरी खाएका भन्छन्। छुट्टीमा आएर नफर्किएपछि तीनपल्टसम्म चिट्ठी आउँदा पनि नगएका’रे। खोजेर घरैमा लिन आउँदा गाउँबाटै भागेका’रे। भागेर यता आइपुगेका भन्छन् गाउँकाहरू। पछि यतै घरबार गरेछन्। उता गाउँमा जेठी स्वास्नी, छोरा-छोरीहरू छोड़ेर आएका रहेछन्। ‘यता आएर यतै घरबार बसाइयो। त्यसपछि कहिल्यै फर्किन सकिएन, जानु पनि कुन मुख लाएर जानु र!’ भन्थे उनी। भन्थे- ‘माया त लाग्छ नि अझै तिनारको। भाग्येमै यस्तै रहेछ। परिस्थितिले जता ठेल्यो उतै ढकेलिनुपर्दोरहेछ, अब त जेठाको त नाति भइसक्यो भनेको सुन्छु भन्दा-भन्दा उनको अनुहारमा बादल छाउँछ। माया लागेर मात्रै नहुँदो रहेछ’ भन्थे उनी।

दुइ भाइ छोराहरू ‘जग्गा-जमीन बण्ड गर्नुपर्ने भयो, बाउ नभइ नहुने भयो’ भनेर खोज्दै आएका थिएछन्। ‘‘अर्को सालतिर आउँला’ भनेर फर्काए पनि अहिलेसम्म जान सकिनँ’ भन्थे राजवीर मामा।

कोही बेला खेताला जाने, कोही बेला ठेक्कामा लिएर अर्काको घर बनाउने, कोही बेला काठको व्यापार गर्ने, कोहीबेला ढुङ्गा, गिटी, सिमेण्ट बोक्ने, कोहीबेला खोलाबाट चिसो बलुवा निकालेर बोक्ने। दुःख र परिश्रमको परिभाषा राम्ररी बुझेका छन् रामवीर मामाले। भाग्य र परिस्थितिलाई स्वीकार गर्ने उनी कर्म गर्नु कहिल्यै पछि नहट्ने।

सात वर्ष भयो उनी ओछ्यान परेको। थलै परेका हुन् कुँजे भएर।

कामले लखतरान परेका उनी पहिले-पहिले थोरै-थोरै पिउँथे। पछिबाट निक्कै पिउन थालेका थिए। पिएरै राती घर फर्किरहेका समय रातो माटोमा खुट्टा जिप्टिन्छ भन्ने होश हराएपछि बिहान घाँसमा जानेहरूले भेटेका थिए उनलाई। त्यसपछि डाक्टर, अस्पताल, गुरुजी, माता, बैदाङ कहाँ-कहाँ र कस-कसकोमा पुराएनन् होला छारोहरूले। तर शरीरलाई उनकै शरीरका अङ्गहरू साथ छोड़िदिए। दुई खुट्टा र दुई हात, चल्नै छाड़े। होसमा आएदेखि बोली पनि आफैआफ हराए। अनि त भर्खर-भर्खर टङ्ग्रिँदै गरेका छोराहरू बाबुको बैशाखी बन्नु परेको थियो। कुतियाखेत कमाउन आमालाई साथ दिनु परेको थियो। सानाहरूलाई दुई अक्षर चिन्ने बनाउनु थियो।

…..

रोशन-

राजवीर मामाका जेठा छोरा हुन् रोशन। भर्खरै दुइजनाको बाबु बनेका थिए। एक छोरा र एक छोरीका पिता। निजी कम्पनीमा काम गर्थे। नजिकै ससुराली बनाएका थिए। बाउलाई पछ्याएरै हो कि, थोरै पिउन पनि थालेका थिए। तर, परिश्रम पनि उत्तिकै गर्ने। पिएर कसैको केही नबिगार्ने। गोजीमा दुई-चार रुपियाँ भए लोभ नगरी अरूलाई खुवाउने। पिएकै जोशमा कहिलेकाहिँ भन्थे- ‘मरेर केही लानु छैन।’

साँच्चै मरेर लानै त कसले सकेको छ।

एकदिन अचानक खबर फैलियो गाउँभरि- ‘रोशन त खसेछ।’

दुई वर्षदेखि निक्कै पिउन थालेको उ कहिलेकाहीँ अचानक टाउको दुखेर हुरुक हुरुक हुन्छ भनेर खुब सुर्ता गर्थी उनकी श्रीमती। निजी कम्पनी मै काम गर्ने भएपनि खुब रुपियाँ कमाउने। कमाएपनि तर लट्रीमा उत्तिकै उड़ाउने। गाउँका ठूलाहरूले- ‘यत्रो कमाउँछस, अलिक जोगाड़ पनि गर है’ भन्दा ‘एत्, केलाई साँच्नु हौ। यत्रो दुःख गरेर कमाको, मज्जाले खानुपर्छ, लाउनुपर्छ। इन्जोय गर्नुपर्छ। मरेर के लानु छ हौ!’ भन्थे।

साँच्चै उसले केही नलगी गयो। एक्लै गयो। एउटा बालखै छोरा, एउटी दुधमुखे छोरीको जिम्मा आफ्नै श्रीमतीलाई लाएर। न कहिले सोच्यो, न जानेबेला सोच्नसक्यो- ‘एक्लै भइभने यसले दुई-दुइटालाई के खुवाउँछे’ भनेर। उ गयो। एक्लै गयो। केही नलगी, सबै छोड़ेर गयो।

वेदना-

रोशनको मृत शरीर घर ल्याइपुऱ्याइएयो। गाउँका साना-ठूला सबै थुप्रिए। दुइकोठे सानो घर। भान्साघर बाहिर अलग्गै छ। घरको एउटा कोठामा लम्पसार छन् कुँजे (प्यारालाइज) बाबु। अर्को कोठामा छ रोशनको मृत शरीर। बल्ल अलिअलि बोल्नसम्म सक्ने भएका बाबु राजवीर आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै भन्दैथिए- ‘म जानेबेला यो गयो। मेरो यस्तो अवस्थामा मैले यसैलाई अघि लाउनुपर्ने। भगवानले पनि अन्याय गऱ्यो मलाई।’ मृत छोराको छेउमा बसेर हड्डी र छाला भइसकेकी आमा छाती पिटी-पिटी रोइरहेकी थिइन्। भन्दैथिइन्- ‘तैले के गरिस् नि रोशन।’ भाइहरू ट्वाल्ल परेका थिए। के गर्ने, के भन्ने सायद बुझिरहेका थिएनन्। दुई छोरा र छोरी दुईपट्टि राखेर अर्धबेहोस अवस्थामा थिइन् सम्झना। सम्झाउनेहरूले आमा-बाउ, बुहारी सबैलाई सम्झाइरहेका थिए।

चिहान-

बाहिर बूढ़ापाकाहरू भेला भइसकेका थिए। कसैले भन्यो- ‘लु लु, समय निकै गइसक्यो। अब छिटो गर्नुपर्छ।’

‘अब लाश पो कहाँ राख्ने हौ?’ एकजनाले सोध्यो।

‘तै त कहाँ राख्नुपर्ने?’ अर्काले थप्यो।

‘गाउँ-समाजहरू बोलौं है, के गर्नुपर्ने हो।’ आँगनको पल्लो कुनामा थ्याच्च बसिरहेका एकजनाले भने।

‘अब बाँचिञ्जेल समाजका लागि पर्दा कहिल्यै नाइ नभन्ने। मरेपछि अब समाजले नै टुङ्गो त लाउनैपऱ्यो होला।’ सबैलाई समेट्दै एकजना आधाबैंसेले भने।

समाजका लागि जसले जतिसुकै गरेका भए पनि समाजले उसलाई राख्नेठाउँ पाएन। भनौं, दिनसकेन। अन्ततः घरकी आमा, माइला र कान्छा छोराहरू, जेठी बुहारीहरूको खोजी हुनथाल्यो।

‘अब बाउलाई त के सोध्नु, रोशनआमा के गर्ने? कसैलाई जग्गा माग्ने हो कि??’ माइला बाङाले सोधे। अरू बूढ़ाहरूभन्दा उमेरले थोरै सानै भए पनि अरूभन्दा निक्कै बाठो मानिएका हुन् समाजमा माइला बाङा। अप्ठ्यारो पर्दा बूढ़ाहरूले उनैलाई अघि सार्छन्। बोलीमा उनीजति भाँती पुराउने अरू छैनन् यो गाउँमा भन्छन् सबै। माइलाई बाङा बोलेपछि अरूले पनि च्याप्दैलगे। अनि त भित्रै भासिएलाजस्तो भइसकेको स्वरमा रोशनकी आमाले भनिन्- ‘खै, म त के भन्नु! तपाईंहरूलाई थाहै छ। हाम्रो के छ र यहाँ। यो बसेको घरबारी त अर्काको। आफ्नो घड़ेरीसम्म नहुनेले…।’ रोशनआमाको स्वर बोल्दाबोल्दै तलSSS कतातिर पसिगयो। थोरै सास तानेर अरूको अनुहार नहेरी बलैले ‘अब घरबारी मालिकलाई नै भन्नुपर्ला। यत्रो वर्षदेखि यहीं छौं। यहींको खेतबारी कमाउँदा कमाउँदै पाखुरी गयो। नसकी-नसकी भएपनि कमाइरहेकै छौं। एउटा चिहान राख्न न देलान् नि!’ भनिन्।

सबै चुपचाप भए। घरबारी मालिक आएकै थिएनन्। दुई चारजनाको सल्लाहपछि घरआमा नै जानुपर्ने भयो। गइन् सानो छोरालाई साथ लाएर। साथ दिन गए ठूल्बा। ठूल्बा अर्थात् गाउँका सबैको ठूलाबा।

काकाले अघि नै सबै सुनिसकेका थिए। काका अर्थात् सबैको काका, घरबारीका मालिक। काकाले ठुल्बासित आएकी रोशनकी आमालाई नबुझे झैं सोधे- ‘के भन्न आयौ?’

‘रोशन अचानक खस्यो। अब हाम्रो त जो भने पनि तपाईं नै हो। त्यसलाई राख्ने सानो ठाउँ माग्न आएको काका।’

घरबारी मालिकले एकैवचनमा ‘कहाँ हुन्छ, हुँदैन’ भनेर फर्काइदिए।

‘एकबोतल रक्सी राखेर बिन्ती पो बिसाउनुपर्थ्यो त। आफ्नो माटो, त्यतिकै कसले दिन्छ त!’ उल्टै हपारे बूढ़ाहरूले रोशनकी आमालाई।

‘अघिबाटै भनिदिनुभए हुन्थ्यो। आफू त लाटी मान्छे। कहिले परेको भए त। यो बेला मेरो त होसै भएन।’ रोशनआमाले जवाबमा यति भनिन्।

अन्तमा सबैले सल्लाह गरे अनि पुऱ्याए खोलाको बगरमा।

माटोको कथा-

श्रीमतीलाई मैले फूल रोप्ने माटो ल्याइदिन सकेको छुइनँ। नसोचेको होइन। नचाहेको होइन। माटो ल्याउन भनेर धेरैचोटि नहिँड़ेको पनि होइन। बाटैमा कहिले कसले, कहिले कसले कहिले के त कहिले के भनेर त्यतिकै भुलाइदिँदा रहेछन्।

माटो सम्झेरै बालुवा र ढुङ्गाले बनाइएको थियो रोशनको चिहान। थाहा छैन, अहिले छ कि छैन। सायद बगाइसकेको हुनुपर्छ भेलबाढ़ीले। बगाइसक्यो होला खोलाले चिहान। आखिर बगर न हो।

आफ्नै माटोको लड़ाइँमा आफ्नै माटोमा विलिन भएका थिए हाम्रा कोपाका फौजी साथी राजमान। आफू सकिए पनि वर्षौंदेखि लड़्दैआएको राजमानहरूको युद्ध अझै सकिएको छैन। उनीहरूका नाति-पनातिहरू भने अहिले ‘माई ल्याण्ड, माई राइट’ नारा लगाउँदैछन् भनेको सुन्छु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here