खरसाङ, १९ जुलाईः खरसाङ महकुमा क्षेत्रमा कोरोना भाइरसका तीनवटा मामिला प्रकाशमा आएको छ। जानकारीका अनुसार तीनैजनाको शनिबार राति कोरोना टेस्ट पोजिटिभ आएको हो भने उनीहरूलाई उपचारका लागि लगिएको छ।
कोरोना सङ्क्रमित पाइएका तीनजनामध्ये दुई खरसाङ नगरपालिकाअन्तर्गत ५ र १६ वार्डनिवासी हुन्।
यसैगरी एकजना युवक सिटोङ ग्राम पञ्चायत-तीन अन्तर्गत तल्लो बड़ा सिटोङनिवासी हुन्। यी युवक मूल रूपले चिम्नी-देवराली ग्राम पञ्चायत अन्तर्गत मझुवा चियाकमाननिवासी भए तापनि सानैदेखि तल्लो बड़ा सिटोङस्थित मावली घरमा बस्दै आएका थिए।
११ जुलाईका दिन बेङ्ग्लुरुबाट सिटोङ आइपुगेका यी युवक त्यसैदिनदेखि त्यसै गाउँमा रहेको क्लब घरमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका थिए।
जानकारीका अनुसार १६ जुलाईका दिन उनको खरसाङ महकुमा अस्पतालमा स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने हिजो कोरोना टेस्ट पोजिटिभ आएको हो।
प्राप्त जानकारीका अनुसार खरसाङका दुईजनाको स्वाबको नमूना पनि पछिल्लो १६ जुलाईकै दिन सङ्ग्रह गरी जाँचाका लागि पठाइएको थियो।