दार्जीलिङ, १९ जुलाईः दार्जीलिङ पहाड़लाई कोरोना सङ्क्रमणबाट बचाउनका लागि कठोर निर्णय लिन तयार रहेको जीटीए बीओएका अनित थापाले बताएका छन्।
उनले दार्जीलिङ पहाड़का जनता कोरोनाबाट डराउने पक्का समय आएको बताउँदै पहाड़का समाज, सङ्घ-संस्थाहरूलाई पुनः एकपल्ट सक्रिय बनेर आफ्नो गाउँ-घरलाई कोरोनाबाट बचाउने पनि अपील गरे।
उनले भने, “हालसम्म हामीले कोरोना सङ्क्रमणलाई जितिसकेका थियौं। देशका विभिन्न स्थानबाट आउनेहरूबाट पनि दार्जीलिङ पहाड़मा त्यति बेसी कोरोना सङ्क्रमण फैलिन पाएको थिएन। यसबाट हामीले कोरोनाको सङ्क्रमणलाई जित्यौं भन्ने सोच बनाइसकेका थियौं। यसका साथै जनताले पनि कोरानाबाट डराउन छोड़िसकेका थिए अनि हाल दार्जीलिङ पहाड़का अधिकांश मानिसहरू डरबिना नै शहर बजारतिर घुमिरहेका छन्। तर बिस्तारै कोरोना सङ्क्रमणले आफ्नो पाइला अघि बढ़ाइरहेको छ, यसको कारण दिन-प्रतिदिन उत्तर बङ्गालमा पनि मानिसहरूको मृत्यु भइरहेको छ।’’
यसैकारण दार्जीलिङका जिल्लापालले सिलगढ़ी क्षेत्रमा लकडाउनको घोषणा गरी अति सराहनीय कार्य गरेको थापाले बताए।
“यसैले दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रका जनताले पनि अब कोरोनासित डराएर केही समयसम्मका लागि आफूहरूलाई घरभित्रै सीमित राखेको उचित हुनेछ’’, उनले थपे, “अब खास लकडाउनको आवश्यकता अहिले परेको छ, तर यहाँका जनता डरमुक्त बनिरहेका छन्। कोरोनाको अझैसम्म भ्याक्सिन निस्किएको छैन, सङ्क्रमण दिन-प्रतिदिन बढ़िरहेको छ।’’
यसैले पहाड़का जनता अति नै जरूरी काम भए मात्रै घरबाट बाहिर निस्किएको उचित हुने अनित थापाको ठम्याइ छ। ताकि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन कठोर निर्णय लिनुपर्ने स्थितिमा पुग्न नपरोस्। किनभने, भोलि पश्चताप गरेर फाइदा हुनेछैन।
उनले थप भने, “अब पहाड़का सम्पूर्ण जनता एक भएर कोरोनालाई हराउनुपर्छ। कोरोनाले केही हुँदैन भन्ने मनलाई परिवर्तन गर्नुपर्छ, किनभने, कोरोनाको कारण मर्नेहरूको सङ्ख्या बढ्दै जाँदैछ।’’
विगतमा दार्जीलिङ पहाड़लाई कोरोना सङ्क्रमणबाट बचाउन समाजहरूले ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले अब फेरि समाजहरूले नै काम गर्नुपर्ने बताएका छन्।
उनका कोरोनाको सङ्क्रमण रोक्न प्रशासनिक सक्रियता मात्रै पर्याप्त हुँदैन।
यसैबीच, जीटीए बीओएका अध्यक्ष थापाले सुकनालाई आगामी २-३ दिन हेर्ने अनि त्यहाँको स्थिति अझै बिग्रिए पूर्ण लकडाउन गर्ने सोच बनाइसकेको पनि बताए।