जिम्बालाई आफ्नो सीमामा रहेर राजनीति गर्ने विधायिका राजकुमारी थापाको अर्ती

0
1167

गान्तोक, १९ जुलाईः राङगाङ-याङगाङ समष्टिकी भाजपा विधायिका राजकुमारी थापाले दार्जीलिङका विधायक नीरज जिम्बाद्वारा दिइएको बयान सिक्किमेली जनतालाई मात्र नभएर सम्पूर्ण पहाड़वासीको बदनाम गरेको मन्तव्य गरेकी छन्।

आज उनले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘दार्जीलिङका जनता बुद्धिमानी छन्’ भन्दै त्यही बुद्धिमानी जनताबाट चुनिएका विधायकले छिमेकी राज्यका जनतालाई बदनाम गराउने प्रकारको बयान दिनुले उनलाई विधायक चुन्ने सम्पूर्ण जनता पनि बदनाम भएको मैले महसुस गरेकी छु। विधायक नीरज जिम्बाले चाँडोभन्दा चाँड़ो आफ्नो बयानलाई फिर्ता लिएर सिक्किमेली जनतासमक्ष सार्वजनिक मञ्चबाट माफी माग्नुपर्छ।’

यसैगरी उनले दार्जीलिङका जनताले पनि नीरज जिम्बामाथि सिक्किमेली जनतासमक्ष माफी माग्ने दबाउ दिनुपर्ने बताएकी छन्।

जिम्बाले जुन प्रकारले सिक्किमेली जनतालाई होच्याएर आफूलाई बुद्धिमानी साबित गर्ने कोशिश गरेका छन्, त्यसले उनको नीचतालाई झल्काएको छ भनी विधायिका थापाले बताएकी छन्।

विधायक नीरज जिम्बाले दिएको बयानले सिक्किम र दार्जीलिङका जनतामाझ वर्षौदेखि रहेको अटुट सम्बन्धमा फाटो आउनसक्ने बताउँदै राजनीतिक फाइदालाई अघि राखेर कुनै पनि परिस्थितिमा छिमेकी राज्यका जनतालाई होच्याउन अथवा बदनाम गराउन नपाउने पनि राजकुमारी थापाले बताएकी छन्।

‘सिक्किमले कहिल्यै दार्जीलिङको राजनीतिमा हस्तक्षेप नगरेको छैन भने दार्जीलिङका नेताले पनि यो विषयलाई विवेकमा राखेर आफ्नै सीमामा रहेर राजनीति गरेको असल हुनेछ’, थापाले थप भनेकी छन्, ‘उनले (जिम्बाले) जुन प्रकारले बयान दिएका छन्, त्यसले दार्जीलिङ र सिक्किमको परस्पर सम्बन्धमा फाटो आउने प्रबल सम्भावना देखिँदैछ।’

यसका साथै जिम्बाले दिएको बयानलाई कुनै पनि अवस्थामा सिक्किमेली जनता, राजनीतिक पार्टी र बुद्धिजीवीले स्वीकार नगर्ने बताउँदै सिक्किमेली जनतासमक्ष नीरज  जिम्बाले माफी मागेर जनताको शिर उठाउने काम गर्नुपर्ने विधायिका राजकुमारी थापाले बताएकी छन्।   

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here