१५ वर्षीय छात्राको दुष्कर्म र हत्याको घटनाले तनाउपूर्ण चोपड़ा

0
1234

चोपड़ा, १९ जुलाईः एक १५ वर्षीय छात्रासँग सामुहिक दुष्कर्म र त्यसपछि ती छात्राको हत्या गरिएको घटनालाई लिएर आज (आइतबार) उत्तर दिनाजपुर जिल्लाको चोपड़ा तनाउपूर्ण बन्यो। यसपछि सड़कमा ओर्लेर प्रतिवाद जनाइरहेका आक्रोशित जनतासँग पुलिसको झड़पसमेत भएको घटना प्रकाशमा आएको छ।

घटनाका कारण आक्रोशित बनेका मानिसहरूले केही वाहनमा आगोका साथै तोड़फोड़ गरेका छन्।

यसैबीच स्थितिलाई नियन्त्रण गर्नका लागि पुलिसले प्रदर्शनकारी मानिसहरूमाथि लाठी चार्ज पनि गऱ्यो। यो समाचार तयार पारुञ्जेलसम्म क्षेत्रको स्थिति तनाउपूर्ण रहेको थियो।

उल्लेखनीय छ, चोपड़ा थानाअन्तर्गत कालागाछ गाउँनिवासी माध्यमिक परीक्षा उत्तीर्ण छात्रा हिजो अर्थात् शनिबार बेलुकीदेखि बेपत्ता बनेकी थिइन्।

आज बिहान उनको शव छेवैको एक रूखमुनि लड़िरहेको गाउँलेहरूले भेटे। त्यसपछि गाउँलेहरू आक्रोशित बने। यसपछि उनीहरूले राष्ट्रिय राजमार्ग ३१ मा पथावरोध गर्नका साथै केही वाहनलाई क्षति पुऱ्याए।

उनीहरूले सड़कमा पथावरोध गरी दोषी व्यक्तिहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कठोर सजाय दिने माग गरिरहेका थिए। गाउँलेहरूका आरोपका अनुसार छात्राको सामुहिक दुष्कर्मपछि हत्या गरिएको हो।

अर्कोतिर घटनाको सूचना पाएलगत्तै चोपड़ा थानाका पुलिसकर्मी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउन आँसु ग्यासको प्रयोग गर्नका साथै लाठी चार्ज पनि गरे।

दासपारा ग्राम सभा समितिका संयोजक असीम बर्मनले बताएअनुसार जुन ठाउँमा शव भेट्टाइएको थियो, त्यस ठाउँबाट पुलिसले दुईवटा साइकल, आधार कार्ड, दुईवटा छाता र एउटा मोबाइल फोन बरामद भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here