सिङ्ला चियाकमानलाई शीघ्रै पूर्ण रूपमा बन्द गर्नुपर्ने माग

0
920

दार्जीलिङ, १९ जुलाईः दार्जीलिङको तकभर समष्टिमा पर्ने सिङ्ला चियाकमानलाई शीघ्र पूर्णरूपले बन्द गर्ने माग उठेको छ।

यो चियाकमान पूर्णरूपले बन्द नभएका कारण अहिलेसम्म यस चियाकमानका श्रमिकहरूले सरकारबाट पाउने सहुलियत पनि पाउन नसकेको गोजमुमो-२ को श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको भनाइ छ।

यदि यो चियाकमान पूर्णरूपले बन्द हुँदैन भने यस चियाबगानलाई खोल्नका लागि श्रम विभाग, जिल्ला प्रशासनले शीघ्र त्रिपक्षीय वार्ता गरी समस्याको समाधान गर्नुपर्ने युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले माग गरेका छन्।

सिङ्ला चियाकमान अचल अवस्थामा रहेको करिब डेढ़ वर्ष भइसकेको छ।

यसै विषय लिएर सङ्गठनले शीघ्रै दार्जीलिङका सह-श्रमायुक्तसित भेट गर्ने पनि उनले बताएका छन्।

तामाङले भने, “दार्जीलिङका धोत्रे, कलेज भेल्ली, पेशोक चियाकमान र  पानीघट्टा चियाकमानलाई पूर्णरूपले बन्द घोषणा गरिएका कारण नै यहाँका श्रमिकहरूले सरकारबाट पाउने फौलाइको रकम मासिक १५ सय रुपियाँ पाइरहेका छन्। तर, सिङ्ला चियाकमानलाई अहिलेसम्म पनि चियाबगान मालिकले बन्द घोषणा गरेको छैन। यहाँ केवल काम स्थगित मात्रै लेखेर नोटिस टाँसिएको छ; जसका कारण सिङ्लाका लगभग १२ सय श्रमिक-कर्मचारीहरू सरकारबाट पाउने फौलाइको रकम पाउनबाट वञ्चित भइरहेका छन्।”

स्मरण गराइन्छ, ९ फरवरी २०२० का दिन यस चियाबगानका एक श्रमिकले चियाबगानका प्रबन्धक ओमप्रकाश चोटियामाथि हँसियाले प्रहार गरी घाइते बनाएको घटनापछि नै भोलिपल्ट अर्थात १० जनवरीका दिन यस चियाकमान अनौपचारिक रूपले बन्द छ।

त्यसपछि यहाँका श्रमिकहरू काम गर्नका लागि अन्य चियाकमानतिर गइरहेका छन् भने सेवानिवृत्त भइसकेका श्रमिक-कर्मचारीहरूले भविष्यनिधि कोष, ग्रेच्युटी आदिको रकम पाउनमा पनि धेरै असुविधा भइरहेको छ।

यसैले गोजमुमो-२ को श्रमिक सङ्गठनले यो चियाकमानलाई पूर्णरूपले बन्द गर्ने वा यो चियाकमानलाई नयाँ कम्पनीको हातमा बिक्री गर्ने माग उठाइरहेको छ। ताकि यहाँका श्रमिकहरूले सरकारी सहुलियत पाउन सकून्, नत्र आफ्नै चियाकमानमा काम गर्ने मौका पाउन सकून्।

यसैबिच, जेबी तामाङले दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन पनि अनित थापाको साथमा नै रहेको बताउँदै आगामी दिनमा युनियनले अझै जोड़दारसित चियाश्रमिकहरूका हितमा कार्य गर्दै जाने सङ्कल्प गरेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here