सहयोगी दलहरूसँग बिष्टको बैठक

0
987

सिलगढ़ी, १९ अगस्तः आज सांसद राजु बिष्टले भाजपाका सहयोगी दलहरूका नेतृत्वहरूसँग बैठक गरेका छन्।

यो बैठक स्थानीय बर्सनास्थित सांसदको कार्यालयमा बसिएको हो। बैठकमा आउँदो त्रिपक्षीय वार्ताबारे छलफल गरिएको बताइएको छ।

बैठकमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) अध्यक्ष आरबी राई, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङ, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) प्रमुख दावा पाख्रिन, अखिल भारतीय गोर्खा लीग (अभागोली) प्रताप गुटका कार्यकारी अध्यक्ष प्रताप खाती, सुमेटि मोर्चाका अध्यक्ष विकास राई, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानलगायत दार्जिलिङ र खरसाङका विधायकद्वय क्रमैले नीरज जिम्बा र बीपी बजगाइँ उपस्थित थिए।

एक विज्ञप्ति जारी गरी बिष्टले बैठकबारे जानकारी गराएका छन्। यद्यपि बैठकमा मुख्यतः कुन विषयमा छलफल भयो, त्यो भने उनले खुलाएका छैनन्।

सांसद बिष्टले भनेका छन्, ‘आज म अनि हाम्रा निर्वाचित विधायकहरूले हाम्रा गठबन्धन पार्टीहरूका नेतृत्वसँग वर्तमान राजनीतिक परिदृश्य एवं आगामी वार्ताबारे फलदायक बैठक गऱ्यौँ।‘

जनसाधारणलाई असुविधा हुने कुनै आन्दोलन या हड़ताल आह्वान नगरी केन्द्रीय गृह मन्त्रालयद्वारा  स्थायी राजनीतिक समाधानको दिशामा वार्ता आयोजित गराउन गठबन्धनका दलहरू सुनिश्चित बनेको बताउँदै उनले यसलाई दार्जिलिङ पहाड़, तराई, अनि डुवर्समा राजनीतिको ‘नयाँ बिहानी’ संज्ञा दिएका छन्।

‘हाम्रा सबै गठबन्धन साझेदारहरू एकबद्ध रहेर जनताका हित अनि आकांक्षाहरूलाई सर्वोपरि राख्न कृतसङ्कल्पित छन्। यो वार्ताको महत्त्वलाई ध्यानमा राख्दै, हामी सबै बुद्धिजीवी, शिक्षाविद् अनि सामाजिक कार्यकर्ताहरूबाट सुझाउ एवं समर्थनको आह्वान गर्दैछौँ’, बिष्टले विज्ञप्तिमा थप भनेका छन्, ‘यो वार्ता, हाम्रा सबै राजनीतिक मतभिन्नतालाई पन्छाएर जनताका लागि एकबद्ध हुने र मिलेर काम गर्ने एक मिलन बिन्दु बन्नेछ भन्ने आशा हामीले राखेका छौँ।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here