बङ्गाल पुलिसको अन्याय-अत्याचारको जाँच गर्न संसदीय कमिटी गठन गर्नुपर्ने विष्टको माग

0
1376
लोकसभा अध्यक्षसमक्ष विभिन्न विषय राख्दै सांसद विष्ट।

दार्जीलिङ, 19 सेप्टेम्बर :  दार्जीलिङका सांसद राजु विष्टले बिहीवार लोकसभाका अध्यक्ष ओम बिड़लालाई भेट गरी दार्जीलिङ पहाड़मा लोकतन्त्र र संवैधानिक अधिकार बहाल गर्नका लागि मद्दतहेतु हस्तक्षेप गरिदिने अनुरोध गरेका छन्।

विष्टले जनाएअनुसार आज उनले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका विभिन्न मुद्दाबारे चर्चा गर्नका लागि लोकसभा अध्यक्षसँग भेटवार्ता गरेका थिए।

‘तृणमूल सरकार र यसका सहयोगीहरूविरुद्ध रहेका नागरिकहरूमाथि भइरहेको पुलिस अन्याय अत्याचार, उत्पीड़न र पक्राउविरुद्ध जाँच गर्नका लागि एक संसदीय कमिटी गठन गर्ने माग गरेको छु’, उनले सोशल मिडियामार्फत् जानकारी गराएका छन्।

यसका साथै उनले लोकसभा अध्यक्षलाई राष्ट्रिय महिला आयोगको रिपोर्टबारे पनि अवगत गराएको बताएका छन्। दिसम्बर 2017 मा दार्जीलिङ आएकी राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले दार्जीलिङ पहाड़मा लोकतन्त्र नै नरहेको कुरालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको सांसद विष्टले लोकसभा अध्यक्ष बिड़लालाई बताउँदै आज पनि त्यस्तै स्थिति रहेको अवगत गराए।

सांसद राजु विष्टको दाबीका अनुसार लोकसभा अध्यक्षले दार्जीलिङमा बङ्गाल प्रायोजित पुलिसी अन्याय-अत्याचारको जाँच गर्न  संसदीय कमिटी गर्ने मागबारे विचार गर्ने तथा यसबारे न्याय दिने आश्वासन दिएका छन्।

उल्लेखनीय छ, सांसद विष्टले घरी घरी दार्जीलिङ पहाड़माथि बङ्गाल सरकारले गर्दै आएको अन्याय-अत्याचारको मुद्दालाई उठाउँदै आइरहेका छन्।  सदनको पहिलो सत्रमा पनि उनले दार्जीलिङ पहाड़मा बङ्गाल पुलिसको अन्याय-अत्याचारको मुद्दालाई उठान गर्दै यसको जाँचका लागि संसदीय कमिटी गठन गर्ने माग गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here