पानीघट्टा विद्यालयमा शिक्षक नियुक्तिमा धाँधलीको आरोप

0
1283
गोरामुमो जनचेतना सङ्घर्ष समितिकी अध्यक्षलगायत अन्य।

मिरिक, 19 सेप्टेम्बर : मिरिक खण्डअन्तर्गत् पर्ने पानीघट्टा उच्चतर माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा धाँधली भएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले आरोप लगाएको छ।

बिहीवार समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा एक टोली पानीघट्टा उच्चतर माध्यमिक विद्यालय पुगेको थियो। समितिको आरोपका अनुसार  विद्यालयमा शिक्षक नियुक्तिमा मात्र होइन, तर यो विद्यालयका प्रधान अध्यापक दिलीप गुरुङले अन्य कुरामा पनि धेरै धाँधली र अनियमितता गरेका छन्।

शिक्षक नियुक्तिलगायत अन्य धेरै कुरा पानीघट्टा विद्यालयमा अनियमित रूपमा चलिरहेको कारण स्थानीय मानिसहरूको मागमा आज गोरामुमो जनचेतना सङ्घर्ष समितिले यो विद्यालयको भ्रमण गरेको मञ्जिला तामाङले दाबी गरिन्।

विद्यालयका प्रधान अध्यापक दिलीप कुमार गुरुङले मनमानी ढङ्गमा शिक्षक नियुक्त गरेको स्थानीय मानिसहरूको आरोप सत्य रहेको भ्रमणअवधि थाह पाएको पनि उनले बताएकी छन्।

“विद्यालयमा जसरी शिक्षक नियुक्ति गरिएको छ, त्यसले धाँधली भएको स्पष्ट हुन्छ। किनभने 2018 मा भएको अन्तर्वार्तामा असफल भएको उम्मेदवारलाई शिक्षक नियुक्ति गरेर ल्याएको छ”, तामाङले थपिन्, “2017 देखि एउटै म्यानेजिङ कमिटी अहिलेसम्म चलिरहेको छ। विद्यालय र गाउँ समाजलाई राम्रो सोच्ने गैर-राजनीतिक मानिसहरू कमिटीमा हुनुपर्ने थियो। तर, हामीले हेर्दा पार्टीबाजी हाबी भएको लागेको छ। साथै यो विद्यालयको अडिट पनि 1998 देखि भएको छैन।”

उनको आरोपका अनुसार विद्यालय नियम कानूनअनुसार होइन, तर मनमानी ढङ्गमा चलिरहेको छ।

विद्यालयका प्रधान अध्यापकविरुद्ध गैरकानुनी ढङ्गमा प्रमाण-पत्र बाँड़ेको आरोपमा विगतमा मुद्दासमेत लागेको पनि उनले बताएकी छन्। तामाङले यसको प्रमाण पनि मिडियालाई देखाइन्।

“उनीमाथि जुन मुद्दा लागेको छ, त्यो गैर जमानती हो। तर, मुद्दा लागेको प्रधान अध्यापक आज फेरि त्यै विद्यालयमा आएर जुन प्रकारले गैरकानुनी ढङ्गमा शिक्षक नियुक्त गरिरहेका छन्, त्यो कुन आधार हुँदैछ”, जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङले प्रश्न गरेकी छन्।

अर्कोतिर, स्थानीय मानिसहरूले प्रधान अध्यापकको गैरकानुनी कार्य र धाँधलीविरुद्ध उच्च न्यायालयसम्म ढोका ढकढकाएको तथा यसैविषयमा खण्ड विकास अधिकारी, जिल्ला शासक, डीईलगायत जीटीएका पूर्व र वर्तमान अध्यक्ष विनय तामाङ र अनित थापासम्म अवगत गराउँदा पनि सबै आँखा चिम्लेर बसेको थप बताएकी छन्।

“के कारण तपाईंहरू चुप लागेर बस्नु भएको?”, उनले प्रश्न गरेकी छन्, “विद्यालयका प्रधान अध्यापक नै यस्तो भए, अन्य शिक्षकहरूको के होला? अझै उनीहरूले पढ़ाउने विद्यार्थीहरूको भविष्य कस्तो होला?”

तामाङले यस्तो गैरकानुनी कार्य र धाँधलीको सम्बन्धित विभागले जाँच गरी प्रधान अध्यापकविरुद्ध कारबाही हुनुपर्ने माग गरेकी छन्। साथै यसबारे स्थानीय मानिसहरूले जुन जुन ठाउँमा ज्ञापन चढ़ाएका छन्, ती ती ठाउँमा जनचेतना समिति पुगेर आवाज उठाउने पनि थप बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here