सिलगढ़ी, 19 सेप्टेम्बर : बिहीवार पानीघट्टा पुगेका जीटीए अध्यक्ष अनित थापाले उक्त ठाउँको गिरमिट लाइनलाई जीटीएकै सबैभन्दा अविकसित र विकास वञ्चित गाउँ बताए। साथै यसको विकासका लागि धेरै कठोर मिहिनेत गर्नुपर्ने पनि बताएका छन्। गिरमिट लाइनमा प्रायः सबै आदिवासी बस्छन्।
यो गाउँलाई भनेजस्तो सरकारी सहुलियत र अत्यावश्यक सुविधाहरू प्राप्त हुँदैन। 2015 को दशैंको मुखैमा पानीघट्टा चियाकमान बन्द भएपछि यो गाउँका मानिसहरूले सबैभन्दा अधिक कष्टप्रद जीवन झेल्दै आइरहेका छन्। किनभने शिक्षाको अभावको कारण राम्रो रोजगारी पाउन सकिरहेका छैनन्। आज जीटीए अध्यक्षले क्षेत्रको स्थलगत भ्रमण गरे।
यसअवधि उनले स्थानीय मानिसहरूसँग कुराकानी गरी गाउँलेहरूका लागि घर, खानेपानीको सुविधा, सड़क मरम्मती, विद्यार्थीहरूका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधालगायत अन्य अत्यावश्यक सुविधा उपलब्ध गराउने आश्वासन दिए।
“साँच्चै यो गाउँको अवस्था दयनीय छ। यहाँका मानिसहरूको न राम्रो घर छ न त खानेपानीको राम्रो सुविधा नै छ। गाउँलेहरूले आफूले झेलिरहेका समस्याहरू सूची मलाई दिएका छन्। म यसबारे बैठकमा छलफल गर्नेछु। यी समस्याहरू समाधानका लागि केही समय लाग्नेछ। तर, समस्याको समाधानका लागि अवश्यै काम शुरु हुनेछ”, थापाले भने। एक प्रश्नको उत्तरमा केही दिनअघि पानीघट्टासम्बन्धमा लालकोठीमा जिल्लापालसँग बैठक भएको पनि बताए।
“जोगमाया चियाकमान चलाइरहेका मालिकलाई मैले निम्ताएका थिए। उनले पानीघट्टा चियाकमान चलाउनका लागि रुचि देखाएका थिए। मलाई आशा छ, पानीघट्टा चियाकमान फेरि खोलिनेछ”, जीटीए अध्यक्ष थापाले भने।