दार्जीलिङ, 19 सेप्टेम्बरः मालिक पक्षले पहाड़का चियाश्रमिकहरूका केवल 18.5 प्रतिशतको दरले बोनस दिने भनेपछि आज पहिलो दिन बोनस बैठक विफल बनेको छ। किनभने मालिकपक्षले पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनुपर्ने स्पष्ट अड़ान श्रमिक सङ्गठनहरूले राखेका छन्। 20 प्रतिशतभन्दा अलिकति पनि तल नझर्ने कुरामा श्रमिक सङ्गठनहरू अडिग देखिएका छन्।
आज बैठक विफल भए तापनि भोलि अपराह्न 3 बजीदेखि पुनः दोस्रो चरणको बैठक हुने भएको छ।
भोलिको बैठकमा पनि पहाड़का सबै श्रमिक सङ्गठनले 20 प्रतिशतकै दरले बोनस दिनुपर्ने माग गर्ने निर्णय लिएका छन्।
आज भर्चुअल रूपमा भएको बोनस बैठकमा चियाबगान मालिकपक्षले दार्जीलिङ पहाड़का चियाबगानहरूलाई वर्गीकृत गरेर दर्जाअनुसार, बोनस भुक्तान गर्ने र ‘ए’ श्रेणीका चियाबगानका श्रमिकहरूलाई 18.5 प्रतिशतको दरले बोनस दिने अड़ान राखेका थिए, जुन अड़ानलाई एकमतमा सबै श्रमिक सङ्गठनले खारेज गर्दै यसपालि एकैसाथ 20 प्रतिशतको दरले बोनस दिनुपर्ने माग गरेका थिए।
यसबारे जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीका प्रवक्ता सुनिल राईले भने, “कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन चलिरहेको समय पनि चियाश्रमिकहरूलाई काममा लगाइएको छ। उनीहरूलाई यसअवधि उचित स्वास्थ्य सुविधा पनि उपलब्ध गराइएको थिएन। तर अब चियाश्रमिकहरूलाई दिने अधिकारको कुरा आउँदा विभिन्न बहाना देखाउने गरिँदैछ। यसलाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन अनि दार्जीलिङ पहाड़का सम्पूर्ण चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनैपर्छ।’’
यसैगरी विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव भरत ठकुरीलाई सोध्दा उनले पनि 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ती दरको बोनस नथाप्ने निर्णय गरिएको बताउँदै यस निर्णयमा पहाड़का सम्पूर्ण श्रमिक सङ्गठनहरू एकमत बनेको जानकारी गराए।
उल्लेखनीय छ, हिजै मात्र तराई-डुवर्सका चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिने निर्णय भइसकेको छ।
यसैलाई आधार बनाएर ठकुरीले भने, “विश्व विख्यात दार्जीलिङ चिया उत्पादन गर्ने श्रमिकहरू जहिले पनि ठगिँदै आइरहेका छन्। तर यसपालि कुनै पनि स्थितिमा यहाँका कर्मचारीहरूलाई ठगिन दिइने छैन।’’
यद्यपि, उनले फेरि अपराह्न 3 बजी दोस्रो चरणको बैठक हुने तय भएको जानकारी गराउँदै यस बैठकमा चियाबगान मालिकहरूले 20 प्रतिशत दरको बोनस दिन राजी बन्ने आशा गरिएको बताए।