अविरल वर्षाले मिरिकका विभिन्न ठाउँमा क्षति

0
884

-अजित विश्व

मिरिक, १९ अक्टोबरः हिजो रातिदेखि परेको अविरल वर्षाका कारण मिरिक महकुमाका विभिन्न ठाउँमा क्षति पुऱ्याएको छ।

विशेष गरी यहाँको सौरेनीस्थित बेँसीटार अनि बामराङ क्षेत्रमा मरमा खोलाको जलस्तर बढ़ेपछि मानिसहरूमा डर सिर्जना भएको छ।

स्थानीय युवा सङ्गम राईले गराएको जानकारीका अनुसार मरमा खोलाले बर्सेनि यहाँ उपद्रो मचाउने गर्छ भने यसपालि बर्खायाम सकिएर हिउँदो लाग्दासमेत वर्षा परिरहेकोले खोलाको जलस्तर यथावत रहेकाले  र हिजोदेखि परेको अविरल वर्षाले अझै धेर क्षति पुऱ्याउने आशङ्का रहेको छ।

विगतमा पनि उक्त खोलाले बेँसीटार र बामराङ  बस्तीमा धेरै क्षति पुऱ्याएको तर तथापि सम्बन्धित निकायले हालसम्म आश्वासनबाहेक अर्थोक केही नदिएको क्षेत्रीवासीको गुनासो छ।

यता, सोही खोलाले डुप्टिन ग्राम पञ्चायतअन्तर्गत देउराली बस्तीवासीलाई अन्य गाउँहरूदेखि सम्पर्कविहीन बनाएको जानकारी प्राप्त भएको छ।

मरमा खोलाको जलस्तर बढ़ेपछि देउराली बस्तीका मानिसहरूलाई अन्य गाउँ तथा बजारपाट गर्नदेखि वञ्चित बन्न पुगेका छन्।

स्थानीयहरूका भनाइअनुसार गत वर्ष नै खोलामा पक्की पुल निर्माण गरिदिने विभिगले वचन दिए तापनि हालसम्म पुल निर्माणको कार्य थालनी भएको छैन।

अर्कोतिर, मिरिक महकुमाकै विभिन्न ठाउँमा पैह्रो गएका कारण मानिसहरू समस्यामा परेका छन्।

यसबाहेक हावाहुरीका कारण रूखहरू लड़ेर बिजुलीको तारहरू  छरपस्ट भएकोले कतिपय ठाउँमा  बिजुली बत्ती पनि ठप्प रहेको छ।

साथै कतिपय गाउँहरूलाई जोड्ने मूल सडकमा पैह्रो गएकोले यातायात सुविधासमेत ठप्प रहेको बताइएको छ। तथापि हालसम्म प्राकृतिक आपदाका कारण ज्यानमालको क्षति भएको भने खबर प्राप्त भएको छैन।

उल्लेखनीय छ, भोलि पनि यसैगरी पानी पर्ने मौसम विभागको पूर्वानुमान छ।

हेर्नुस् फोटो फिचर्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here