–डीएस बम्जन, दार्जिलिङ।
विगत पाँचौँ शताब्दीमै प्लेटोले ‘All men are by nature equal made all of the same earth by one workman’ भनेका थिए । त्यसैले प्रत्येक मानिसको शारीरिक ढाँचा, रगतको रङ, मुटुको स्पन्दन एकै प्रकारको हुन्छ । यसलाई सृष्टिको विशेषता अथवा भनौँ निष्पक्षता मानिन्छ । मानिसको बाहिरी रूप-रङ, वर्ण, भाषा-संस्कृति, जीवनशैली बेग्ला-बेग्लै भए तापनि प्रत्येक मानिसले आफ्नो नियति (destiny) सित भेट गर्नलाई उसको रूप-रङ, वर्ण, भाषा-संस्कृति र जीवनशैलीले छेक्दैन । तर यसरी यस्तो नियतिलाई सम्भव तुल्याउनेहरूले अथक मिहिनेत र सङ्घर्षलाई साथी नबनाई कोही पनि सफल भएका छैनन् । यसैले उनीहरू समाज, जाति र राष्ट्रको गौरव बन्छ ।
आफ्ना गाउँ-घर, समाज जाति र अञ्चलको भौतिक, बौद्धिक र प्रगति र समृद्धि मन नपराउने, नचाहने कोही हुँदैनन् । तर सर्वश्रेष्ठ प्राणी भनिइने कति भने अरूहरूकै प्रतिभा, उन्नति र समृद्धि देखेर जल्ने पनि हुन्छ । कति चाहिँ भने फेरि त्यसबाट प्रेरित बनी कठोर मिहिनेतसाथ आफूलाई सफलताको शिखरमा पुऱ्याउने पनि हुन्छ । भारतीय नेपाली पनि यस्तै अवस्थाबाट गुज्रिरहेका छ भन्दा कुनै अतिशयोक्ति नहोला ।
त्यसरी शिखर चुम्नेहरूका उन्नति , सम्पन्नता शौर्य र बौद्धिकता देखेर आफ्नो अवस्था पनि त्यस्तै होस् भन्ने कामना गर्नु नौलो कुरो होइन , तर केवल कामना मात्र गर्दै कुराले कामलाई जितेर बाँच्नेहरूका उपस्थिति पनि गाउँ-समाजमा बाक्लै छ, यो अनौठो कुरा हुँदै होइन । यस्तो मनोवृत्ति मानिसको कमजोरी हो । यस्ता अवगुण मानिसमै पाइन्छ, अरूमा पाइन्न । यस्ता अवगुणले व्यक्ति अथवा जातिकै मानसिकता दुर्बल बन्दैन भन्ने किटान गर्न सकिँदैन । किनभने आजसम्मका स्वीकृत वा प्रामाणिक शोध / परीक्षण र विचारका अनुसार दुर्बल मानसिकता केवल नकारात्मक विचार र चिन्ता आदिको प्रभाव र परिणति हो । यसैले नकारात्मक विचारले ग्रस्त मनोरोगीहरू सबै ठाउँ र जातिमा हुनु अस्वाभाविक र अद्भुत घटना मानिँदैन। यद्यपि उनीहरूका रतन्धो आँखाले व्यक्ति, परिवार, समाज र जातिलाई हेर्नु अन्यायपूर्ण हो । यहाँनेर एउटा प्रसङ्ग तान्न उचित लाग्यो – ‘चार वर्षे बालक एकदिन युनिफर्मको गोजीमा एउटा चिट्ठी बोकेर स्कुलबाट चाँडै घर फर्किन्छ। चिट्ठीमा लेखिएको हुन्छ – तिम्रो छोरो लद्दु छ, बदमास छ, पढ्न सक्दैन, स्कुलबाट निकाल्नू ।’ चिट्ठी पढेपछि उनकी आमाले अठोट गरिन् – ‘मेरा छोरो टमीलाई म आफू पढाउँछु।’ केवल तीन महिना स्कुल पढेको टमीलाई त्यसपछि निकालिइएको थियो । स्कुल-कलेज नपढी उनै टमी पछि संसारका महान् र विख्यात आविष्कारक थोमस एडिसन बने । ६७ वर्ष पुग्दा उनै थोमस एडिसनको कारखानामा आगो लागेर सबै कुरा भष्म हुन्छ । आफ्ना जीवनभरका परिश्रम र मिहिनेतले अर्जेको मिलियन डलरको सम्पत्ति आगोमा दनदनी दन्किरहेको हेर्दै उनी कराउँछन् – “There is great value in disaster. All our mistakes are burnt up. Thank you god we can start anew.” यो घटना भएको तीन महिनापछि फोटोग्राफ गर्ने संयन्त्र र विधिको आविष्कारकका रूपमा उनको परिचय संसारमै विख्यात छ । उनका थुप्रै आविष्कार आज मानव जीवनका लागि आवश्यकीय उपयोगका साधन बनेका छन् । ती आविष्कारहरूमा प्रमुख Carbon Transmitter, Incandescent Lamp, Kinetograph र Kenetoscop आदि मानव कल्याणका लागि उपयोगी बनेका छन् ।
यस्तै एकजना अमेरिकी नागरिकलाई जीवनभर असफल व्यक्ति ठानिन्छन् । एक हजारभन्दा बढी असफलताको गह्रौँ भारी बोकेर आत्महत्या गर्न खोज्छन् उनी । तर अन्त्यमा जीवनको मोहले आत्महत्या गर्ने सोच त्यागेर जीवनको अन्तिम साससम्म प्रयास गर्ने सङ्कल्प गर्छन् । ६० वर्ष पुगिसकेका उनी बाटो किनार ‘क्यान्टक्सी’ भन्ने ठाउँमा कुखुराको मासु पोलेर बेच्न थाल्छन् । कुखुराको मासु बेचेर त्यही कामले ५ वर्षपछि अर्थात ६५ वर्षका उमेरमा उनले सम्पन्नता र प्रसिद्धि दुवै कमाउँछन् । आज संसारभरका संसार-बजारमा कुखुराको पोलेको मासु केएफसी हाताहाती बिक्री भइरहेको छ । उमेर र बल-बैँस भइञ्जेल असफलताले सताएर आत्महत्या गर्न खोज्न हरल्यान्ड सन्डर्स (Harland Sanders 1890-1980 ) –ले थालेको केएफसी (Kentucky Fried Chicken)-को बिक्री र वितरण संसारमै अर्थ व्यवस्थाको साधन बनेको छ ।
यस्तै असफलतालाई सफलताको सिँडी बनाउने अर्का उदाहरण हुन् – अब्राहम लिङ्कन । आफ्नो व्यवसायलाई सखाप पारेर २१ वर्षको उमेरमा भोट लड्छन् लिङ्कन तर नराम्रो घतले पराजित भएपछि फेरि व्यवसायमै फर्किन्छन् । आफ्ना प्राणप्रिय साथीको मृत्यु पीडाले उनी अझ विचलित बन्छन् । केही गर्नै नसक्ने नसोच्ने अवस्थामा पुग्छन् । त्यसपछि १२-१३ वर्षको अन्तरालमा एकपटक अमेरिकाको सदन र अर्कोपल्ट सिनेटको चुनाउमा हार व्योहोर्छन् । तर जीवनमा चारैतिर हार व्योहोर्न परे तापनि लिङ्कन निरास भने बन्दैनन् । ५२ वर्षका उमेरमा आफ्ना सबै असफलताका अनुभव र अनुभूतिको पुँजी लिएर फेरि अमेरिकाको राष्ट्रपति चुनाउमा उठ्छन् । यसपटक उनी विजय भएर अमेरिकाका राष्ट्रपति बन्छन् । उनले जीवनमा भोगेका असफलता र गरेका सङ्घर्ष आज पनि संसारकै लागि प्रेरणास्रोत मानिन्छ । ऊर्जा ठानिन्छ ।
यसैले यस लेखको शुरूमा भनिएको हो – सृष्टिले कसैलाई धेर र कसैलाई कम्ती केही दिएको छैन । सृष्टिको नियम समान छ; एक-दुई अपवाद छाडेर । यसैले छालाको रङ सेतो, कालो र भोट-बर्मेली-मङ्गोलाइट सबैका लागि प्राकृतिक नियम समान छ । यसैले अन्य जाति र सम्प्रदायहरूजस्तै नेपालीभाषी पनि मानसिक र बौद्धिक सम्पन्नता र मिहिनेतले सफलताको शिखरमा पुगिरहेकै छन् । उदाहरण एकाध होइन, धेरै छन् ।
यस्तै एकजना उदाहरण हुन् – नेपालका शताब्दी पुरुष सत्यमोहन जोशी । उनी नेपाल राष्ट्रकै सम्मानित प्रतिभा हुन् । नेपाली भाषा-साहित्य, इतिहास कला खस सभ्यताको मूल खोज, अनुसन्धान र लेखनका लागि तीनपटक मदन पुरस्कार प्राप्त गर्ने पहिलो र अन्तिम र जीवित गौरवमय नक्षत्र सत्यमोहन जोशी नै हुन् । उनी जातीय गौरवका जिउँदो प्रतीक । नेपालका जिल्लाहरूका खोला नाला साँध सिमाना तोकेर पहिलोपल्ट देशको मानचित्र तयार पार्ने जस्ता अत्यन्त जटिल काम सम्पन्न गर्ने पहिलो व्यक्ति नै उनी । देशको विकास र समृद्धिका लागि सम्पूर्ण गाउँ-घरका जनसङ्ख्या र तथ्य बटुलेर दस्तावेज तयार गर्ने जाँगरिला व्यक्ति उनी । आफ्ना घर परिवार सबै बिर्सेर बिरानो अभेक अञ्चलमा अत्यन्त कठिन र कष्टकर काम गर्न सफल भई जिउँदो इतिहास नै बनिसके। बिरानो बिरह लाग्ने अभेक अञ्चलमा केवल जुरेली चरालाई हेरेर जीवन जगत् बुझ्ने औ आफ्नो जीवन यात्रामा पनि अझसम्म त्यही आफ्नै ‘जुरेली दर्शन’ अनुकरण गर्दै आइरहेका उनको जीवनको यथार्थ जोशी स्वयंले भनेकै पाउँछौँ हामी। आज पनि १०३ वर्षका उमेर उनी दैनिक कार्यमा यथावत र क्रियाशील रहन्छन् । उनी चीनका सञ्चारकर्मीहरूलाई नेपाली पढाउन चीन गए। त्यसपछि पनि पटकपटकको चीन बसाइ अवधि जोशीले त्यहाँ निर्मित / स्थापित मूर्ति, मूर्तिकला र कलाकार विषयमा प्राप्त पुस्तक, दस्तावेजको अध्यायन र शोध गरे । चीनका सम्राट् कुब्लाई खाँकै पालामा एकजना मूर्तिकार नेपालबाट चीन पुगेर उतै घरजाम गरी सम्राट्का प्रिय मूर्तिकार बनेका अरनिको नेपाली हुन् भनेर संसारलाई चिनाउने सत्यमोहन जोशी आफ्ना शोध ग्रन्थमार्फत संसारमै चिनिएका छन् । ख्याति कमाएका छन् । २०२० मा यिनै महान् संस्कृतिविद्, इतिहासकार सत्यमोहन जोशी १०१ वर्ष पुग्दा त्यस सालभर गाउँ-घर र समग्र क्षेत्रमा अनुष्ठान, समारोह विभिन्न कार्यक्रम उत्साहपूर्ण सम्पन्न गरिएको थियो । सरकारले डाकटिकट, धातुको पैसा र कागजका नोटमा सत्यमोहन मुद्रण र सञ्चालन गरी उनलाई उच्च सम्मान जनाइसकेको छ । यही २०२२ का केही महिना अघि गिरिश गिरीज्युले उनको आत्मवृतान्तमा आधारित पुस्तक सत्यमोहन लेखेर प्रकाशित गरिसकेका छन् । १०३ वर्षको उमेरमा पनि जोशी अद्भुत स्मरण शक्तिका धनी छन् । यो उमेरमा पनि अध्ययन, चिन्तन-मनन् र लेखनमा उनको जुन सक्रियता हामीले पाइरहेका छौँ, त्यो सबैका लागि ऊर्जा र प्रेरणा बनेका छन्। १०३ वर्षको उमेरमा पनि उनको अद्भुत स्मरण शक्ति र सक्रिय जीवनशैली देखेर चिकित्सक र विद्यार्थीहरू चकित छन् । उनले आफ्नो मृत्युपछि शोध अनुसन्धान र अन्य उपयोगका लागि आफ्नो शरीर दान दिएको करार पत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् ।
भारतीय नेपाली स्वतन्त्र भए तापनि महासमूहमा अल्पसङ्ख्यक शासन-सत्ताको अधिकार अप्राप्त गोष्ठी हो । यहाँ नेपालमा जस्तो मौलिनु नसक्ने सोच भारतीय नेपालीमा हुनु अस्वाभाविक होइन तर, मानिस आँटेर निरन्तर लागिपरे नहुने र नसक्ने केही छैन । उदाहरणका रूपमा हामी लिऔँ – डा. एमके छेत्री अर्थात मणिकुमार छेत्री । टिस्टाभेल्ली चियाकमानमा १९२० को मई महिनामा जन्मेका, पहाडका धुलो-माटो, हावा-पानीमै हुर्किएर दार्जिलिङको म्युनिसिपलिटी बोइज स्कुल, टर्नबुल हुँदै गर्मेन्ट हाई स्कुलदेखि आफ्नो पढाइलाई अझ अघि बढाएर भारतीय नेपालीभाषीका गौरव संसारमै प्रसिद्धि कमाएका हृदयरोग विशेषज्ञ उनी आज पनि जीवितै छन्। हाल १०३ वर्षका उमेरमा पनि उनले पहिले जवानीमा जस्तै आफ्नो कर्ममा तल्लिन रहन्छन् । डा. छेत्री बिहानीको नित्य शारीरिक मानसिक व्यायाम सकेर चियाखाजा लिएपछि ९ बजे बिरामी जाँच्ने यन्त्र घिच्रोमा झुण्डाएर अस्पतालमा बिरामीहरू हेर्ने, औषधि तोक्ने दैनिक कार्यमा व्यस्त रहन्छन् । संसारभर छरिएका उनका भूतपूर्व विद्यार्थी चिकित्सकहरू, उनले सुझाएका औषधिले निको भएका मानिसहरू, उनलाई चिन्ने-जान्ने र शुभेच्छुकहरूले यस वर्ष जन्मजयन्ती मनाएको खबर सामाजिक सञ्जालमा पढ्न पायौँ । सायद यस्तै कुराले यो नेपाली शिर उचाली अन्धकारमा लम्कन्छ भन्ने गीत कथिएको हुनसक्छ । ठिकै हो, राम्रो ठिमाएर आफू अन्धकारमा छामछुम गर्दै बामे सर्न र हिँड्न सक्छन् सबै तर, अरूले आफूलाई देख्दैनन्/ठिमाउँदैन । यो जाति भारतमा आफ्नो दुई सय वर्षको इतिहासमा अरूले नदेखी आफ्नो राष्ट्र भारतप्रति श्रद्धा-भक्ति र निष्ठा राखेर छामछुम गर्दै ‘कछुवा’ झैँ हिँडिरहेको छ । विभिन्न विद्याका दायित्वशील पद, ओहोदा, आदिमा जिम्मेवारी निर्वाह गर्न सक्षम बनिसकेको छ ।
यति मात्र होइन, देश-विदेशका ठूल्ठूला कम्पनी-संस्थानहरूमा भारतीय नेपालीले निष्टापूर्वक दायित्व निर्वाह गरिरहेका उदाहरण हाम्रा आँखाअघि थुप्रै छन् । कतिले गफगाफ र भाषणमा ‘यो जाति त जहाँ जस्तै ठाउँमा पनि मौलिने वनमारा नै हो’ भन्थे । हो यो जाति भिर पहरा, समतल, पानी आकास जहीँ पनि दुःख-कष्ट, सङ्कट, गरिबी प्रतिकूल स्थिति र व्यवस्थाले गाल्नु, पगाल्नु नसक्ने अद्भुत जैविक अवयव सम्पन्न जाति रहेछ । यसैले सत्यमोहन जोशी र डा. मणिकुमार छेत्रीका सम्पूर्ण देह नै परीक्षण र अनुसन्धान गरिने भएको होला । यो जातिको श्रद्धा भक्ति गर्दै यो जातिकै शुद्र एकाइ भएर जिउनु प्रत्येकले गर्व गर्नु आजको आवश्यकता हो जस्तो मलाई लाग्छ । कारण प्लेटोले ने if you do not take an interest in the affairs of your government then you are doomed to live under the rule of fools भनेका छन् । आज एक समयको जातीय चेतनाको केन्द्रले प्लेटोकै भनाइ आत्मसात गरी प्रत्येकले आफू र आफ्नो ठाउँथलो समाज र जातिप्रति सचेत र जागरुक हुन नसके प्लेटोकै निष्कर्ष भोग्न पर्ने हो कि ! इति
(नोट : लेखक डीएस बम्जनले यो लेख प्रकाशनका लागि जनसंवादलाई दुई साताअघि नै उपलब्ध गराएका हुन् । तर, कतिपय कारणवश प्रकाशित गर्नमा ढिल्याइ भयो। यसैबिच आइतबार बिहान नेपालका संस्कृतिकविद् एवं इतिहासकार सत्यमोहन जोशी बित्नुभयो। उनीप्रति जनसंवाद परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ।)