छुट्टै राज्य हुन्छै हुन्छः अजय एड्वर्ड्स

0
900

दार्जिलिङ, १९ नोभेम्बरः “छुट्टै  राज्य हुन्छै हुन्छ। एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ। तर, कहिले हुन्छ, त्यो समय भने अहिले भन्न सकिँदैन”, दार्जिलिङ पहाड़मा नयाँ पार्टीको स्थापनाको तयारी गरिरहेका अजय एड्वर्ड्सले आज यस्तै दावी गरेका छन्।

साथै उनले गोर्खाल्यान्ड शब्दलाई जीटीए, नगरपालिका र पञ्चायत चुनाउमा भने पटक्कै उच्चारण नगर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन्।

यति मात्र होइन, एड्वर्ड्सले दार्जिलिङ पहाड़का अन्य राजनीतिक पार्टीहरूले गोर्खाल्यान्डको मुद्दालाई केवल मागिखाने भाँड़ो बनाइरहेको पनि आरोप लगाए।

यसैबिच, अजय एड्वर्ड्सले आउँदो २५ नोभेम्बरका दिन मिरिकबाट पार्टीको नाम मात्रै चयन गर्ने जानकारी गराउँदै पार्टीको स्थापनाको घोषणा हाल बन्द अवस्थामा रहेको पेशोक चियाकमानबाट गर्ने जानकारी गराए। यद्यपि उनले पेशोक चियाकमानबाट पार्टी स्थापनाको घोषणा कहिले गर्ने हुन्, त्यसको मिति भने स्पष्ट बताएका छैनन्।

एड्वर्ड्सले आज यहाँ पत्रकारहरूसित कुराकानी गर्दै भने, “गोर्खाल्यान्ड र छैटौँ अनुसूची भनेर मेरो ३५ वर्षको समय खेरो गयो। अब पीपीएस भनेर १५ वर्ष खेरो नजाओस्। यसैले दार्जिलिङ पहाड़का राजनीतिक पार्टीहरूले यथार्थको राजनीति गर्नपर्छ, पानीको कल खोल्दा पानी आउनुपर्छ। तर, अझैसम्म पनि दार्जिलिङ पहाड़मा कल खोल्दा पानी आउन सकेको छैन।”

एड्वर्ड्सले प्रश्न गरे, “पानीसम्म ल्याउन नसक्ने नेताहरूले जातिको उत्थान गर्छ भनेर कसरी विश्‍वास गर्न सकिन्छ?”

स्मरण गराइन्छ, दुई महिनाअघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा छोड़ेका अजय एड्वर्ड्सले नयाँ पार्टी बनाउने पहल शुरू गरिसकेका छन् अनि पार्टी नाम पनि उनले जनताकै इच्छाअनुसार, राख्ने भएका छन्।

यसैले जनताको तर्फबाट नै आएका धेरैवटा नाममध्ये ४ वटा नामलाई एड्वर्ड्सले मान्यता दिएका छन् अनि यीमध्ये कुन नामलाई प्राथमिकता दिनुपर्ने हो भन्नेबारे उनले सोशल मिडियामा भोटिङको प्रक्रिया नै शुरू गरेका छन्। जुन नामले सबैभन्दा बेसी भोट पाउनेछ, त्यसै नामलाई पार्टीले मान्यता दिने भएको छ।

यी नामहरू क्रमैले हाम्रो पार्टी, जन आवाज, जनशक्ति र जनता कल्याण पार्टी सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here