सीएए र एनआरसीको विरोधमा विनयपन्थी युमोद्वारा पोस्टरिङ, माइनोरिटी बोर्डद्वारा ऱ्याली

0
1011
पोस्टरिङ गर्दै विनयपन्थी युमो कार्यकर्ताहरू।

दार्जीलिङ, 19 दिसम्बर: नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) -विरुद्ध पूर्वघोषित कार्यक्रमअनुसार बिहीवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजयुमो)-ले पहाड़भरि पोस्टरिङ गर्‍यो।

आज विनयपन्थी युमोले दार्जीलिङ, खरसाङ, मिरिक र कालेबुङलगायत तराई क्षेत्रमा पनि व्यापक पोस्टरिङ गरेको छ।

पोस्टरमा एनआरसीमा गोर्खा समुदाय देशका मूलनिवासीको मान्यता नदिएसम्म गोर्खा बाहुल क्षेत्रमा सीएएद्वारा भित्रिएका शरणार्थीहरूलाई पुनर्वास नदिइने, दार्जीलि र कालेबुङ जिल्लामा चाँड़ोभन्दा चाँड़ो इनरलाइन परमिट पुनः लागू गरिनुपर्ने तथा सीएएबाट दार्जीलिङ पहाड़, तराई-डुवर्सलाई अलग राखिनुपर्ने माग गरिएको छ।

उल्लेखनीय छ, एनआरसी र सीएएको लगातार विरोध गर्दै आइरहेको विनयपन्थी मोर्चाको पछिल्ला आइतवार सुकनामा एक बैठक बसिएको थियो, जसमा अन्य कार्यक्रमहरूसँगै आज युमोद्वारा गरिएको यो पोस्टरिङ कार्यक्रमको पनि घोषणा गरिएको थियो।

त्यसदिन घोषित कार्यक्रमअन्तर्गत् भोलि अर्थात् 20 दिसम्बरको दिन विनयपन्थी मोर्चाले एनआरसी र सीएएको विरोधमा दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकमा र्‍याली निकालेर जनसभा गर्नेछ।

अर्कोतिर, नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीको विरोध गर्दै दार्जीलिङमा आज पश्चिम बङ्गाल पहाड़िया माइनोरिटी बोर्डले एक र्‍याली निकाल्यो।

स्थानीय रेलवे स्टेशन परिसरदेखि जुलूस शुरु हुनअघि पत्रकारहरूसित कुराकानी गर्दै माइनोरिटी बोर्डका अध्यक्ष सोलोमन सुब्बाले भने, “नागरिकता ऐन र एनआरसीको कारण सम्पूर्ण भारत नै आतङ्कित बनेको छ। यसले जाति र धर्मको कारण जनता विभाजन हुने सम्भावना प्रबल देखिएको छ। यसैकारण नै आज पश्चिम बङ्गाल पहाड़िया माइनोरिटी बोर्डले यो जुलूसको आयोजन गरेको हो।

सुब्बाका अनुसार आजको र्‍यालीमा बौद्ध, ईसाई, मुस्लिम, हिन्दू तथा अन्य जातहरू सामेल छन्।

हामी सबै दार्जीलिङ पहाड़सँगै सम्पूर्ण बङ्गालमा नै एकताको सूत्रमा बाँधिएर बसेका छौं, हामीमाझ सद्भाव, शान्ति अनि भाइचारा छ भन्ने देखाउने उद्देश्यले पनि यो जुलूसको आयोजन गरिएको हो”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here