खरसाङ, 19 दिसम्बरः विनय तामाङपन्थी गोजमुमो महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापाले आउँदो 26 दिसम्बरका दिन सोनादादेखि दार्जीलिङसम्म ‘परिवर्तन पदयात्रा गर्ने घोषणा गरेका छन्।
आज खरसाङको मन्टिभियट खेल मैदानमा पार्टीको भातृ सङ्गठन भूतपूर्व सैनिक/अर्धसैनिक सङ्घद्वारा आयोजित परिवर्तन जनसभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
“26 दिसम्बरका दिन सोनादादेखि दार्जीलिङ म परिवर्तन पदयात्रा गर्नेछु। परिवर्तनको यात्रामा मसँग सहयात्रीहरू कति हुनेछन्, म हेर्नचाहन्छु”, अनितले थपे, “पहाड़ले साँच्चै परिवर्तन चाहेको हो कि होइन, हामीले कोर्दै गरेको गोरेटो सही हो कि होइन, म हेर्नचाहन्छु। त्यस दिन दार्जीलिङ पुगेर म परिवर्तन कसरी ल्याउँछु , त्यही दिन म बताउनेछु।”
थापाले आफ्नो सम्बोधनमा आफ्ना पूर्व अध्यक्ष एवं गोजमुमो पहिलो खेमाका अध्यक्ष विमल गुरुङमाथि पनि कटाक्ष गरे। साथै 2007 आन्दोलन विमल गुरुङले सरकारसँग मिलेर सुवास घिसिङलाई पहाड़बाट लखेट्न गरेको बताए।
थापाले थपे, “नेताहरू सरकारसँग मिल्छ। अनि आएर जनतालाई मुर्दाबादको नारा लगाउन लगाउँछ।”
उनले जीटीएको अडिट हुन्छ भन्ने डरले विमल गुरुङले 2017 गोर्खाल्याण्डको आन्दोलन गरेर जनतालाई गरेको आरोप पनि लगाए।
“गलत दिशामा लागेको आन्दोलनलाई सही दिशा दिन विनय दाजु र म मिलेर नयाँ गोरेटो खोज्न निस्केका हौँ। नयाँ गोरेटो बनाउन गाह्रो हुँदो रहेछ। तर मेरो भिजन स्पष्ट थियो, मेरो आत्माको आवाज शुद्ध थियो”, अनित थपे, “ त्यसैले आज हामी यसरी यहाँसम्म आइपुगेका हौँ। तर अझै हामीले हाम्रो पहाड़लाई राम्रो बनाउन धेरै काम गर्नुछ।”
अर्कोतिर उनले सबै आन्दोलनमा भूतपूर्व सैनिकहरूको उल्लेखनीय योगदान रहेको तर उनीहरूको योगदानको भने विगतमा कदर नभएको पनि बताए।
“भूतपूर्व सैनिकहरूको जमात बेग्लै जमात हो। यही जमातले अब पहाड़को नयाँ इतिहास कोर्न पर्छ। पहाड़को राजनीतिक समीकरण र इतिहास बद्लाउने क्षमता राख्न सक्ने यो जमात हो”, थापाले भने।
जनसभालाई भूतपूर्व सैनिक/अर्धसैनिक सङ्गठनका प्रमुख कर्णेल केशव राईलगायत अन्यले पनि सम्बोधन गरेका थिए।
जनसभा शुरू हुनअघि ऱ्याली पनि निकालिइएको थियो।