दार्जीलिङ, 19 दिसम्बरः दार्जीलिङ पहाड़का राजनैतिक पार्टीका शीर्ष नेतृत्वहरूलाई केन्द्रिय गृहमन्त्री अमित शाहले दिल्लीमा 10 मिनट भेट्ने समय पनि नदिएको विषय लिएर पहाड़मा विवाद चुलिएको छ।
यसैले अब पहाड़का राजनैतिक पार्टीहरूका शीर्ष नेताहरू पहाड़ फर्किएपछि जनतालाई स्पष्टीकरण दिनुपर्ने माग उठेको छ।
आज अखिल भारतीय गोर्खा लीग (प्रताप गुट)-का महासचिव एसपी शर्माले यस विषयबारे पार्टीकै कार्यकारी अध्यक्ष प्रताप खातीले पनि स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। किनभने, गत 2 दिनअघि दिल्लीमा केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डीका साथै अन्य अधिकारीहरूसित बैठक गर्ने दार्जीलिङ पहाड़का नेताहरूमा गोर्खा लीगका कार्यकारी अध्यक्ष प्रताप खाती पनि सामेल थिए।
“अब उनले पनि पहाड़ फर्किएपछि कुन आधारमा उनी उक्त बैठकमा सामेल हुन गए भन्नेबारे स्पष्टीकरण दिनुपर्छ’’, शर्माले माग गरे।
उनले थपे, “गत केही महीनाअघि गृह मन्त्रालयबाट आएको एउटा पत्रले दार्जीलिङ पहाड़मा खलबली मच्चाएको थियो। पहिला गोर्खाल्याण्डको विषयमा वार्ता भनेर पत्र आएको थियो, तर 24 घण्टा पनि नबित्दै त्यो पत्रको मुद्दा परिवर्तन भएर गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन भएको थियो, जसमाथि गतिलै विवाद चर्किएको थियो। तर यसपालि एउटा फोन कलको भरमा पहाड़का राजनैतिक नेताहरू दिल्ली गए अनि आफ्नो लाचारीपन देखाएका छन्। तर केन्द्रिय गृहमन्त्री अमित शाहले उनीहरूलाई 10 मिनट भेट्ने समय पनि दिएनन्।’’
शर्माको दावीका अनुसार गोर्खा जातिको मूल मुद्दा विषय लिएर भाजपा र दार्जीलिङका सांसद राजु विष्टमाथि चाप दिन भाजपासँग गठबन्धन गर्ने पहाड़का पार्टीहरू विफल बनेका छन्।
विगतमा दार्जीलिङ पहाड़का जनता र बौद्धिक जमातका कारण भाजपामाथि चाप परेको तर, भर्खरै दिल्लीमा भएको वार्तापछि भाजपामाथि परिरहेको चाप पनि हल्का भएको एसपी शर्माको भनाइ छ।
“अब यो गठबन्धन केवल चुनाउमा मात्रै सीमित बनेको स्पष्ट भएको छ’’, उनले थपे।
एक प्रश्नको उत्तरमा शर्माले भने, “दार्जीलिङ पहाड़बाट दिल्ली जाँदा सबै पार्टीले अमित शाहसित बैठक भनेका थिए। तर, दिल्लीमा अमित शाहले उनीहरूलाई 10 मिनटको समय पनि दिएनन्, यसको ठीक उल्टा गृहमन्त्री शाह चुनाउका लागि 2 दिन कलकत्ता आएका छन्। यसबाट दार्जीलिङ पहाड़का शीर्षस्थ नेताहरूको महत्त्व कति छ, त्यो बुझाएको छ अनि यो बुझाउने अवसर यहाँकै नेताहरूले दिएका हुन्।’’
यसैबीच उनले एक प्रश्नको उत्तरमा अब दार्जीलिङ पहाड़का क्षेत्रीय पार्टीहरूले आफ्नै खुट्टामा उभिने प्रयास गर्नुपर्नु तथा भाजपा र तृणमूल कङ्ग्रेस जस्ता पार्टीहरूलाई आफ्नो थाँक्रो बनाउन छोड्नुपर्ने कुरामा जोड़ दिए।
“यहाँका क्षेत्रीय पार्टीहरूले थाँक्रो खोज्दा खोज्दै आफ्नो मूल मुद्दा भुलिसकेका छन्’’, एसपी शर्माले थपे, “यसैले अब आउँदो 2021-को विधानसभा चुनाउमा पहाड़का क्षेत्रीय पार्टीहरूले थाँक्रोको राजनीति छोड्नुपर्छ अनि आफ्नै उम्मेद्वार खड़ा गर्नुपर्छ।’’
केन्द्रिय गृह राज्यमन्त्रीसित भएको बैठकमा 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्ने र स्थायी राजनैतिक समाधानका लागि सकारात्मक चर्चा भयो भन्ने सांसद विष्टको दावीबारे प्रश्न गर्दा शर्माले भने, “यसमा विश्वास गर्नै सकिँदैन। किनभने, बैठकका लागि एउटा पत्र पनि दिएको छैन, त्यसैले बैठकमा विभिन्न विषयबारे चर्चा भयो भन्ने विषयलाई पत्याउनै सकिँदैन।’’