एउटी अभिभावक मित्र

0
229
  • मुना राई

२५ मई १९९८ ।

कलिलो घामले गान्तोकलाई भर्खरै तताउँदै थियो । आज सर टासी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयमा मेरो पहिलो दिन । अर्थात रानीपुल वरिष्ठ माध्यमिक विद्यालयबाट स्थानन्तारण भएर यस विद्यालयमा आएको पहिलो दिन हो आज । मनमा केही हर्ष छ । विस्मात छ केही ।  छु बढी अन्योल म ।

गान्तोकमा पढी हुर्की गरेकाले यो ठाउँ मेरा लागि नयाँ होइन, तर यस विद्यालयको परिवेश भने मेरा लागि पक्कै नयाँ नै हो । सहपाठीमध्ये ९९ प्रतिशत नै नचिनारु हुनेछन् । परिचय साट्नै समय लाग्नेछ केही त । कोही त हत्तपत्त मन मिल्ने हुँदैन पनि, मानवीय चरित्र नै हो यो । कोही छिट्टो घुलमिल हुन्छ, तर यो मित्रता क्षणिक भइदिन्छ । कोही कोही हत्तपत्त नजिक हुँदैन भएपछि जीवनभरि मित्रताले बाँधिरहन्छन् । यस्तै मित्रता गाँसिएको हो – उमेरले दिदी तर सम्बोधनले म्याडम बिना शर्मासँग, जसलाई मैले स्नेहपूर्वक मिस भन्थेँ । बिना म्याडम, जति सहपाठी, त्यति नै अभिभावकजस्ती । आँखामा राख्दा पनि नबिझाउने । कोमल हृदयकी । सहयोगी भावकी । अनुहारमा जहिल्यै घाम बोकेर हिँडिरहने आदर्श शिक्षिका । मध्यम कद । ठुल्ठुला आँखा । सलक्क नाक । बाक्लो आँखीभौँ । गज्जबको व्यक्तित्व । अग्घोरै शालीन । स्कुलका कनिष्ठ सहकर्मीहरूलाई सधैँ साथ लिएर हिँड्ने । भेदभाव गर्न पटक्कै नजान्ने । अनुशासित, जहिल्यै आफ्ना काममा इमानदार र समर्पित ।   भिडमा पनि आँखामा परिहाल्ने । न्यायकी पक्षधर । जस्तै विषम परिस्थितिलाई पनि लडेरै जित्ने साहसी योद्धा । वीणाकै धुन बिना म्याडम ।

पहिलो भेट

अझै आँखामा झल्झली छ सर टासी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयमा मेरो पहिलो दिन । अरूभन्दा केही अघि पुगेकी छु । स्टाफ रूम सिधै जान्छु । एउटा आकर्षक व्यक्तित्वले मलाई तानिहाल्छ । मेरो चौकीको ठिक देब्रेपट्टि तर आँखाकै सोझोमा उनी बसेकी छन् । नाम थाहा छैन । सोध्ने आवश्यकता पनि त्यतिबेला मैले बोध गरिनँ । किन कुन्नि हो, उनको व्यक्तित्वले मलाई घरी घरी तानिरहेको छ । सामान्य बोलचाल भयो । जस्तो सबै ठाउँमा, सबैका हुनेगर्छन् । यस्तो सामान्य बोलबाल धेरै समयसम्म चलिरह्यो, सामान्य मित्रताका रूपमा । आज पनि मेरा आँखामा नाचिरहन्छ, पहिलो देखादेखमा मुस्कानसहितको उनको त्यो स्वागत ।

थाहै पाएनौँ कसरी नजिक भयौँ

२७ वर्ष सँगै सर टासी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयमा सहपाठी रह्यौँ । यसै महिना (दिसम्बर) उनी सेवानिवृत्त हुनेछिन् । आँखा धेरैपटक रसाइसकेको छ मेरो । विद्यालयको मनै गह्रौँ भएको छ । सहपाठी सबैका मन खिन्न छ अहिले । यद्यपि सेवानिवृत्त कर्मजीवनको अनिवार्य नियम हो । भोलिका दिन एकपछि अर्का गर्दै हामी सबै सेवानिवृत्त हुन्छौँ नै । पुराना जानेछन्, नयाँ आउनेछन् । रुखले पालुवा फेरेजस्तै । विद्यालय पनि रुख न हो, शिक्षारुपी शितलता दिने विद्यार्थीहरूलाई । विद्यालयमा मेरा दिनहरू बित्दै गए । म र बिना म्याडम नजिक हुँदै गयौँ । निःस्वार्थ यो मित्रता कहिले यति दह्रो बनिसकेको रहेछ, हामीले थाहै पाएनौँ । स्कुल र प्राङ्गण हाम्रो मित्रताको साक्षी हुन् सायद, जसले बिस्तारै दह्रो बन्दै गएको हाम्रो सम्बन्धलाई सबैभन्दा नजिकबाट देखेको छ । अहिले म सम्झिन्छु, त्यो पहिलो देखादेख । र भुल्न चाहन्छु – यो दिसम्बर महिना, किनभने विद्यालयको नयाँ सत्र सुरु हुँदा स्टाफ रूमको त्यो चौकी त हुनेछ, तर मेरो अभिभावकजस्ती अत्यन्त नजिकका सहपाठी हुनेछैनन् । बजारहुँदी , केही शुभअशुभ कार्यमा उनीसँग पक्कै भेट होला । तर स्कुल प्राङ्गणमा फेरि उनलाई भेट्न, उनीसँग बोल्न स्कुलकै कुनै विशेष कार्यक्रम हुनुपर्छ, जुन कार्यक्रममा उनलाई निम्त्याइएको पनि त हुनुपर्छ ।  यो क्षण जुर्ने भनेको समय समयमा मात्र हो, प्रतिदिन होइन ।

आँखामा आँसु

प्यारी बिना मिसको सेवानिवृत्त सम्झेरै पटकपटक आँखा रसाइसकेको छ मेरो । यो आँसुलाई थप्थपाउने धेरै कोसिस गरेको हुँ मैले , तर खस्नलाई जहिल्यै हतार रहने आँसुलाई सम्झाउनै गाह्रो कार्य हो । पिठ्युँमा छुरा रोप्ने रगतका नाताहरूभन्दा साँचो मित्रता पाए जीवन अत्यन्त सहज हुँदो रहेछ । बिना म्याडमको मित्रताले यस कुरालाई प्रमाणित गरेको छ ।

भनिन्छ ओठमा मुस्कान फुलाएर हिँड्ने मानिस मनमा धेरै रोएको हुन्छ । बगैँचाजस्ता स्कुलबाट सेवानिवृत्त हुनुपर्दाको पीडाले बिना मिस पनि धेरै रुनु भएको छ । उनका आँखामा मैले पहिलोपटक आँसु देखेको हुँ । यो आँसु आँसु मात्र होइन, स्कुल र स्कुल परिवारप्रतिको असीम माया हो । आखिर संसार बाँच्ने भनेकै मायाले हो । बिना म्याडम हामी सदैव तपाईंलाई मिस गर्नेछौँ । सधैँ तपाईंको सुस्वास्थ्यको कामना गर्नेछौँ । सेवानिवृत्त जीवन थप सुखी र खुसीपूर्ण बितोस् । ईश्वरसँग प्रार्थना छ । मिस यु प्यारी मिस ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here