दिलीप घोषको बयानबाजीले तृणमूललाई नै फाइदाः पार्थ च्याटर्जी

0
1104
पार्थ च्याटर्जी (फोटो साभार-इन्टरनेट)।

कोलकाता, 20 जनवरीः भाजपा प्रदेश अध्यक्ष दिलीप घोषको बयानबाजीले उल्टै तृणमूल कङ्ग्रेसलाई फाइदा पुग्ने राज्यका शिक्षा मन्त्री एवं तृणमूल नेता पार्थ च्याटर्जीले बताएका छन्।

यसका साथै उनले भाजपा प्रदेश अध्यक्षको बयानको आलोचनासमेत गरेका छन्। “घोषको बयानबाजीले तृणमूल कङ्ग्रेसलाई नै फाइदा पुगिरहेको छ”, पार्थले थपे, “किनभने यसले भाजपा र यसका नेताहरूका असली अनुहार जनताले चिन्न थालेका छन्।”

यी तृणमूल नेताले भाजपाको नीति जनहितविरोधी रहेको पनि आरोप लगाएका छन्। साथै भाजपालाई अनुशासन र शिष्टाचार नै नरहेको पार्टी बताएका छन्।

आइतवार उत्तर 24 परगाना जिल्लाको मध्यमग्रामबाट निकालिएको भाजपाको अभिनन्दन ऱ्यालीलाई सम्बोधन गर्दै घोषले राज्यमा महिलाहरूको सुरक्षासमेत अन्य धेरै मुद्दालाई उठाउँदै तृणमूल सरकारको आलोचना गरेका थिए।

घोषको यसै आलोचनामाथि प्रतिक्रिया व्यक्त गर्दै पार्थ च्याटर्जीले राज्यका महिलाहरूका लागि मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी कार्य ऐतिहासिक रहेको दाबी गरेका छन्। “घोषले राज्य सरकारका कार्यहरूमाथि प्रश्न उठाउनअघि भाजपानेतृत्व केन्द्र सरकारका कार्यहरूबारे जानकारी लिऊन्”, उनले भने।

“राम्रो दिनको वाचा गरी सत्तामा आउने पार्टीको असली रूप जनताले बुझिसकेका छन्। समयसँगै बेरोजगारी र महँगाइ  बढ़्दै गइरहेको छ”, पार्थले थपे, “डलरको तुलनामा रुपियाँ कमजोर भइरहेको छ। देशको आर्थिक व्यवस्था खस्किएको छ।” आफ्नो कमीकमजोरी लुकाउनका लागि अहिले भाजपाले जनतालाई दिग्भ्रमित पारिरहेको आरोपसमेत उनले लगाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here