दार्जीलिङ, 20 जनवरीः दार्जीलिङ पहाड़वासीको जनाकांक्षा र सपना छुट्टै राज्य राज्य गोर्खाल्याण्डको मागलाई राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी)-ले नस्वीकार्ने स्पष्ट रूपमा बताएको छ।
यद्यपि यो पार्टीले दार्जीलिङ पहाड़मा सङ्गठन विस्तार गर्ने सङ्कल्प गरेको छ।
जानकारीका अनुसार एनसीपीले यसै सातादेखि बिस्तारै पहाड़मा आफ्नो पार्टी विस्तार गर्ने सोच बनाएको छ।
“एनसीपी छुट्टै राज्य गोर्खाल्याण्ड गठनको पक्षमा छैन। यसबारे पार्टीले आफ्नो अड़ान अघिबाटै स्पष्ट पारिसकेको छ”, शरद पावरनेतृत्व एनसीपी पश्चिम बङ्गाल राज्य कमिटीका प्रवक्ता प्रवोद चन्द्र सिन्हाले थपे, “यसैले बेरोजगारी, चियाश्रमिकहरूका समस्या, कृषकहरूका विभिन्न समस्यालाई लिएर पार्टीले दार्जीलिङ पहाड़मा सङ्गठन विस्तारको अभियान शुरु गर्नेछ।”
उनका अनुसार एनसीपीले न छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा न त छैटौं अनुसूचीको मागलाई समर्थन गर्नेछ।
“दार्जीलिङ पहाड़मा जुन क्षेत्रीय व्यवस्थाको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सञ्चालित छ, त्यसैलाई अधिक क्षमता र अधिकार दिनुपर्छ”, प्रवोद चन्द्र सिन्हाले भने।
यसैगरी एनसीपीले विशेष दार्जीलिङ जिल्लाको समतल क्षेत्र सिलगढ़ीमा पार्टी विस्तारको कार्यक्रम शुरु गरेको छ भने यसै सातादेखि पार्टीले दार्जीलिङ पहाड़मा पनि जनताको घर-घर गएर पार्टी विस्तार गर्ने योजना बनाएको पार्टीको दार्जीलिङ जिल्ला समितिका अध्यक्ष फैजल अहमदले बताए।
अहमदका अनुसार छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा र मागबारे पार्टीको अड़ान स्पष्ट छ। यसैले दार्जीलिङ पहाड़मा बेरोजगारी, चियाश्रमिक, कृषकहरूका समस्यालाई अघि राखेर पार्टी विस्तार गर्नेछ।
“किनभने, यी मुद्दाहरूबारे कुनै पनि पार्टीले ध्यान दिँदैन अनि जनता सधैं यस्ता बुनियादी समस्याहरूबाट पिरोलिरहेका हुन्छन्। यसैले एनसीपीले यस्ता विषयहरूलाई प्राथमिकता दिनेछ”, राज्य कमिटी अध्यक्ष प्रवोध चन्द्र सिन्हाले थपे, “यसैको आधारमा पार्टीको पनि विस्तार गर्नेछ। यति मात्रै होइन, सिलगढ़ी नगरनिगमको चुनाउमा एनसीपीले भाग लिने निर्णय लिएको छ।”
यसका साथै 2021-मा पश्चिम बङ्गालमा हुने विधानसभा चुनाउमा पार्टीले सहभागिता जनाउने निर्णय लिएको पनि उनले बताए। सिन्हाका अनुसार त्यस चुनाउमा एकलै लड्ने हो वा अन्य पार्टीसित गठबन्धन गर्ने, त्यो समयले बताउनेछ।
उनले भारतीय जनता पार्टी नेतृत्वाधीन केन्द्र सरकारको नीतिको विरोध जनाउँदै एनआरसी, सीएए अनि एनपीआरको पार्टीले शुरूदेखि नै विरोध गरेको बताए।
पार्टीका भावी कार्यक्रमहरू विषय लिएर नै पार्टीले हिजो सिलगढ़ीमा एक सभाको आयोजन गरेको पनि सिन्हाले बताए।
yo party lai kadapi shamarthan ngornu