सीएए र एनआरसीको विरोध गर्न पूर्वोत्तरका राज्यहरूलाई अघि आउने ममताको आह्वान

0
1314
उत्तर बङ्ग उत्सवमा ममता ब्यानर्जी र अन्य।

सिलगढ़ी, 20 जनवरीः राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को विरोध गर्नका लागि सिक्किम, नागाल्याण्ड र त्रिपुरालगायत उत्तरपूर्वी राज्यहरूलाई अघि आउने आह्वान गरेकी छन्।

आज सिलगढ़ीनजिक शिवमन्दिरमा उत्तर बङ्ग उत्सवको उद्घाटनपछि उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै ममताले यस्तो आह्वान गरेकी हुन्।

एनआरसी र सीएए लागू गर्ने केन्द्रको निर्णयको विरोध गर्नका लागि पूर्वोत्तरका सबै राज्य एकै मञ्चमा आउनुपर्ने उनले बताइन्।

यसका साथै उनले जनतालाई मोदी सरकारका निर्णयहरूका विरोध गर्ने आह्वान पनि गरिन्।

एनआरसीबारे चिन्ता नलिनुहोस्। म तपाईंहरूसँग छु। तपाईंहरूलाई कसैले छुन र हानि गर्न सक्नेछैन। यो माटो हाम्रो हो। कसैले तपाईंहरूलाई जबर्जस्ती यहाँबाट हटाउन सक्दैन”, उनले भनिन्।

यसैगरी बङ्गालका शतप्रतिशत जनता आफूसँग रहेको दाबी गर्दै ममताले जनतालाई सीएएलाई लिएर चिन्ता नगर्ने सुझाइन्। मुख्यमन्त्री एवं तृणमूल सुप्रिमोले भनिन्, “सीएएलाई लिएर तपाईंहरूले चिन्ता नगर्नुस्। म पूर्ण रूपले तपाईंहरूसँग छु। मसँग सय प्रतिशत जनता छन्। यो बङ्गाल हो।

मञ्चबाटै ममताले आउँदो 22 जनवरीका दिन दार्जीलिङमा सीएए र एनआरसीको विरोधमा विराट् र्‍याली निकाल्ने घोषणासमेत गरिन्। यसअवधि उनले केही राजनीतिक पार्टीका कार्यकर्ताहरू उपद्रव र गुण्डागर्दी गर्नका लागि उत्तर बङ्ग विश्वविद्यालयको परिसरमा प्रवेश गरेको आफूले जानकारी पाएको दाबी गरिन्।

साथै उनले यस्ता शक्तिहरूविरुद्ध कठोर कारबाही गर्ने पुलिसलाई निर्देश दिइन्।

म त्यस्तो कुनै समस्या सिर्जना भएको हेर्न चाहन्न, जसले विद्यार्थीहरूका पढ़ाइमा बाधा उत्पन्न गर्नेछ। विद्यार्थीहरूले समस्या भोग्न पर्नेछ”, ममताले कठोर शब्दमा भनिन्।

अर्कोतिर, उनले कुनै पनि अवस्थामा उत्तर बङ्गाललाई विभाजन गर्न नदिने प्रतिबद्धता दोहोर्‍याइन् भने क्षेत्रका मानिसहरूलाई अत्यधिक माया गर्ने भएकोले उत्तर बङ्गाल भ्रमण आइरहने पनि बताइन्।

यसैअवसरमा दार्जीलिङका बडीबिल्डर गणेशबहादुर गिरी, कालेबुङकी शिक्षिका हेमलता प्रधान, सिलगढ़ीकी टेबल टेनिस खेलाडी एवं प्रशिक्षक भारती घोष, अलिपुरद्वारका समाजसेवी राजेन्द्र नाथ दास, कोचबिहारका शिक्षक ज्योतिर्मय राय, दक्षिण दिनाजपुरका लेखक विश्वनाथ लाहा तथा जलपाइगढ़ीका डा. शुभम् मजुमदार, मालदाका डा. द्विजेन्द्र सरकार र उत्तर दिनाजपुरकी डा. ममता कुण्डुलाई उनीहरूले आ-आफ्नो क्षेत्रमा पुर्‍याएको उल्लेखनीय सेवाका लागि बङ्ग रत्नद्वारा पुरस्कृत गरियो।

यसैबीच, उत्तर बङ्ग उत्सवकै मञ्चबाट मुख्यमन्त्री ममता ब्यानर्जीले जर्नलिस्ट क्लब सिलगढ़ीको नवनिर्मित भवनको उद्घाटन पनि गरिन्।

कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देव, मन्त्री अरुप विश्वास, अनन्ददेव अधिकारीजीटीए अध्यक्ष अनित थापा र गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङलगायत उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here