सिलगढ़ी, २० फरवरीः डाइरेक्टोरेट अव् रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)-ले ठूलो सफलता हात पार्दै २४ किलो सुनसहित दुइजना युवकलाई पक्राउ गरेको छ।
जफत गरिएको सुनको मूल्य साढ़े एघार करोड़भन्दा अधिक रहेको बताइएको छ।
डीआरआई अधिकारीहरूले हिजो (शुक्रबार)-ले सिलगढ़ीको बर्धमान रोडमा एक बसबाट १५० वटा सुनको बिस्कुटसहित अक्षय शिरकण्डे र रुशिकेश गौरव नाम गरेका दुई युवकलाई पक्राउ गरेका हुन्।
जानकारीका अनुसार उनीहरू दुवै महाराष्ट्रनिवासी हुन् भने कोचबिहारबाट बस चढ़ेर सिलगढ़ीतर्फ आइरहेका थिए।
दुवैलाई आज सिलगढ़ी अदालतमा प्रस्तुत गरियो। जानकारीका अनुसार उक्त सुन म्यान्मारबाट मणिपुर हुँदै सिलगढ़ी ल्याइएको थियो भने यहाँ दिल्ली तस्करी गरिने योजना रहेको थियो। यद्यपि यसभन्दा अघि नै दुवै आरोपी तस्कर पक्राउ परेका छन्।