कालेबुङ, २० फरवरीः टिस्टा नदीमा निर्माणाधीन फलामे पुल (बेली ब्रिज) भत्किँदा चारजना मजदुर घाइते भएका छन्, जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको थाहा लागेको छ ।
घाइते सबै मजदुरलाई कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
यो घटना राष्ट्रिय राजमार्ग १० अन्तर्गत तारखोला पारिपट्टि रहेको थलथलेमा आज बिहान लगभग १०.३० बजे भएको हो।
थलथले दक्षिण सिक्किममा पर्छ ।
पछिल्लो चार अक्टोबरका दिन आएको टिस्टा बाढीले दक्षिण सिक्किममा पर्ने थलथलेलाई अन्य ठाउँसँग जोड्ने पुल बगाएको थियो । यसैले यो ठाउँमा एनएचपीसीको अधीनमा केही दिन अघिदेखि नयाँ फलामे पुलको निर्माणकार्य चलिरहेको थियो ।
जानकारीका अनुसार यो पुलको निर्माणकार्य आज सकिने थियो तर निर्माणकार्य लगभग सकिन लाग्दै यो पुल भत्किएको छ ।