सिक्किममा शतप्रतिशत एसकेएमको सरकार आउनेछ : डा. एमके ढकाल

0
1596
सिङताम-खाम्दोङका एसकेएम उम्मेद्वार डा. एमके शर्मा।

गान्तोक, 19 मार्च :  आगामी चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शतप्रतिशत सरकार गठन गर्ने कुरामा सिङ्ताम-खाम्दोङका एसकेएम उम्मेदवार डा. एमके शर्मा विश्वस्त देखिएका छन्।

मङ्गलवार जनसंवादसँग कुराकानी गर्दै डा. शर्माले भने, “यसपटक हाम्रो जीत निश्चित छ। सन् 2019 -को चुनाउपछि बहुमतमा एसकेएमले सरकार बनाउनेछ। हामी हाम्रो जीतप्रति ढुक्क छौं।”

उनले सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) -को 25 वर्षे शासनदेखि वाक्कदिक्क भएका जनताले राज्यमा साँचो परिवर्तन चाहिरहेकोले सत्तारूढ़ दलको अनेकौं प्रलोभन, डर-धम्की र छेकाबारको वास्तै नगरी जनता एसकेएममा सामेल भइरहेको दाबी गरे।

उनले भने, “यसपटक जनता नै परिवर्तनका लागि सङ्कल्पित छन्। उनीहरूले राज्यमा परिवर्तन चाहिरहेका छन्। एसडीएफले देखाएको लोभ लालचको उनीहरूले वास्तै गरेका छैनन्। एसडीएफको 25 वर्षमा जनताको होइन, तर केही सीमित व्यक्तिको विकास भयो भन्ने सत्यलाई सिक्किमेली जनताले राम्रोसँग बुझिसकेका छन्। आज जुन सङ्ख्यामा जनता एसकेएमसँग जोड़िरहेका छन्, त्यो ‘परिवर्तनको सङ्कल्प’ हो।

एसकेएमले यसपटक राज्यमा सरकार बनाउने दाबी गर्ने शर्माले सिङ्ताम-खाम्दोङमा आफ्नो जीत शतप्रतिशत रहेको ठोकुवा गरेका छन्। साथै पछिल्लो 25 वर्षमा एसडीएफ सरकारले सिङ्ताम-खाम्दोङको विकास गर्नको सट्टामा ‘उपहास’ र ‘अपमान’ गरेको बताए। “यहाँका जनतालाई थाह छ, एसडीएफले सिङ्ताम-खाम्दोङ समष्टिमा विकास गरेको छ कि उपहास र अपमान। विकासको नाममा एसडीएफले यहाँका जनतालाई ढाँट्ने र छल्ने काम मात्र गरेको छ। जनतालाई ढाँट्दै र छल्दै चुनाउ जित्दै आएको छ, तर यसपटक यस्तो हुनेछैन। यहाँका जनताले एसडीएफलाई पूर्ण रूपले नकारिसकेका छन्”, शर्माले भने।

एसकेएमका उम्मेदवार डा. शर्माका अनुसार एनआईटी देखाएर  एसडीएफ पछिल्लो 15 वर्षदेखि यहाँ भोट जित्दै आयो, तर खाम्दोङमा एनआईटीको स्थापना ‘छेपारोको कथा’ भयो। पछिल्लो चुनाउ पनि यहाँबाट एसडीएफले एनआईटीको मुद्दाको भरमा जितेको  हो उनको भनाइ छ, तर एनआईटी बनिएन।

“एनआईटी मात्र होइन महिला कलेज पनि त्यस्तै भयो। मुखबाट धेरैपटक खाम्दोङमा एनआईटी र महिला कलेज बनिए, तर यथार्थमा बनिएन”, उनले थपे, “यहाँका जनतालाई एसडीएफले कतिसम्म ढाँटेको छ भन्ने कुरा सबैको आँखाअघि छर्लङ्गै छ। यहाँ एसडीएफले केवल भाषण गरेको छ, ठोस विकास एउटै गरेको छैन।”

सिङ्ताम-खाम्दोङमा रहेका पानी, शिक्षा, बाटो, बिजुली र प्राथमिक स्वास्थ्य सेवासम्बन्धित समस्याहरूको मुद्दालाई अघि राखेर  चुनाउ प्रचार गर्ने उनले बताएका छन्। डा. शर्माका अनुसार सिङ्ताम-खाम्दोङ जे जे समस्याहहरू छन्, जुन जुन मुद्दामा एसडीएफले ढाँट्दै आइरहेको छ र क्षेत्रका जनताले के कुरा चाहन्छन्, ती कुराहरूले उनले मुद्दा बनाइरहेका छन्। उनका अनुसार क्षेत्रका जनताबाट सकारात्मक उत्तर प्राप्त भइरहेको छ।

एक प्रश्नको उत्तरमा उनले भने, “हामीले राज्यको सत्ता त्यसै परिवर्तन गर्न चाहेका होइनौं। हाम्रो सङ्घर्ष राज्यको व्यवस्थाको सिर्जनात्मक परिवर्तनका लागि हो। यसका लागि हामी अन्तैसम्म सङ्घर्ष गरिरहनेछौं। जनताको चाहना र सपनालाई हामी अवश्यै पूर्ण गर्नेछौं। सिर्जनात्मक परिवर्तनको नयाँ सिक्किमको निर्माण गर्नेछौं, जसमा सबैका लागि समान अवसर हुनेछ। समान सम्मान हुनेछ।  समान हक अधिकार हुनेछ।”

एसकेएम उम्मेदवार डा. एमके शर्माले वास्तविकतामा जनतालाई  डर देखाउने, भोट जितेर सत्ता हत्याउनका लागि अनेकौं प्रोपगण्डा गर्ने पार्टी एसडीएफ नै रहेको बताए।  एसकेएमलाई एसडीएफ र यसका अध्यक्ष एवं मुख्यमन्त्रीले पवन चामलिङले पटकपटक ‘गुण्डा पार्टीको’ आरोप लगाउँदै आएको बयानप्रति प्रतिक्रिया व्यक्त गर्दै उनले भनेका हुन्।

“हामी गुण्डा भएको भए जनता हामीसँग परिवर्तनका लागि हातेमालो गर्न प्रतिदिन जोड़िने थिएनन्। हामीसँग सिक्किमको साँचो परिवर्तन चाहने जनताको बाक्लो भीड़ छन्। आज सबै वर्गका जनतालाई डर देखाउने, धम्काउने, सहुलियत काटिदिने र ‘पोलिटिकल भिक्टिमाइज’ बनाएर जबर्जस्ती आफूसँग राख्न खोज्ने त एसडीएफ पार्टी हो। हामीलाई गुण्डा पार्टीको संज्ञा दिने एसडीएफले आफ्नो साँचो चरित्र ऐनामा हेर्नुपर्छ”, एसकेएम उम्मेद्वारले भने।

उनले सिङ्ताम-खाम्दोङमा मात्र होइन, तर राज्यभरिकै जनताले परिवर्तन चाहेर एसकेएमलाई समर्थन जनाएर खुल्ला रूपले अघि आइरहेको बताए।

डा. शर्माका अनुसार जनताले चाहेको परिवर्तन  यसपटक पक्कै हुनेछ। एसकेएमले सिक्किम र सिक्किमे जनतालाई उनीहरूले चाहेजस्तै साँचो समान हक अधिकार दिने, सर्वाङ्गीन विकास गर्ने र पूर्ण सुरक्षा दिने नयाँ सोचको नयाँ सिक्किम दिनेछ। एसकेएमले पूर्ण रूपले जनताको शासन स्थापना गर्ने उनको दाबी छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here