गोजमुमो र गोरामुमो एक भएपछि विरोधी पार्टीहरू डराएका छन् : सन्दीप लिम्बू

0
1525
गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका प्रवक्ता सन्दीप लिम्बू।

दार्जीलिङ, २० मार्च :  पहाड़का जनताको चाहनाअनुरूप नै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –ले गठबन्धन गरेको गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका प्रवक्ता सन्दीप लिम्बूले बताएका छन्।

उनले गोरामुमो-गोजमुमोको गठबन्धनले डराएका पहाड़का विरोधी दलहरूले जनतामा भ्रम फैलाउने कोशिश गरिरहेको पनि बताए। लिम्बूका अनुसार डराएका विरोधी दलहरूले नै गोरामुमोलाई बदनाम गराउन गोरामुमो र गोरानासंको नाममा पोस्टर  टाँसेका हुन्।

गोरामुमो नेता लिम्बूले सोनादा र कालेबुङमा गोरामुमो र गोरानासंको नाममा टाँसिएको पोस्टर जनतालाई दिग्भ्रमित पार्ने विरोधी दलहरूको चाल भन्दै यस्तो कार्यको तीखो शब्दमा भर्त्सना जनाए।

गोरामुमोले पोस्टरिङ गर्दा कहिले पनि ‘गोरामुमो अमर रहोस्’ भन्ने शब्द प्रयोग नगर्ने भएकोले पोस्टरमा लेखिएको ‘गोरामुमो अमर रहोस्’-जस्ता शब्दले यो पोस्टर कसले टाँसेको हो भन्ने कुरा स्पष्ट भएको बताए।

लिम्बूले गोरामुमो कार्यकर्ताहरू प्रत्येक बुथ बुथमा खटिएर गोजमुमो-गोरामुमो समर्थित भाजपाका उम्मेद्वारलाई शतप्रतिशत मतले विजयी बनाउने ठोकुवा पनि गरेका छन्।

“गोजमुमो एक र गोरामुमोबीच लोकसभा चुनाउलाई लिएर जुन गठबन्धन भएको छ। हामी त्यसलाई पूर्ण समर्थन  र स्वागत गर्छौं। हाम्रा अध्यक्ष मन घिसिङले पहाड़ र पहाड़का जनताका लागि जुन निर्णय लिनुभयो। उनको भनाइ थियो, पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो। हाम्रा अध्यक्षले यो भनाइलाई शिरोपर गरेर जुन निर्णय लिनु भयो, त्यसलाई हामी पूर्ण सहयोग गर्छौं। र पूर्ण बहुमतले यसपालिको लोकसभा चुनाउमा एनडीएको उम्मेद्वारलाई विजयी बनाउनेछौं।”

“पहाड़को माग थियो। यहाँका मानिसहरूको चाहना थियो, पहाड़का दुई शक्ति एक हुनुपर्छ भन्ने’’, उनले थपे, “पहाड़का दुई शक्ति एक भए मात्र पहाड़को भलाइ हुन्छ भन्ने यहाँका जनता जनार्दनको विचार र सोचाइ थियो। यसलाई हामीले मूर्त रूप दिएका छौं।’’

सचेत भएर भोट हाल्ने उनले जनतालाई अपील गरेका छन्। आगामी भोट महत्त्वपूर्ण रहेकोले जनताले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

लिम्बूले हिजो लेबुङमा सम्पन्न गोजमुमो-दुई र तृणमूल कङ्ग्रेसको संयुक्त जनसभामा केवल दुई हजार मात्र जनता भेला भएको दाबी गरे।

उनले भने, “हामी जनतालाई धन्यवाद दिन्छौं। १६ लाख जनतामा केवल दुई हजार भेला हुनु विनयपन्थी गोजमुमो र तृणमूल कङ्ग्रेसलाई ओठे जवाफ दिएका हुन्। सन् २०१७-मा जसले जीटीएको ख्रेसा जलायो। र जो फेरि जीटीएमा नै बस्यो, उसको लागि यो ओठे जवाफ हो।”

यसलापिको लोकसभा चुनाउमा यस्ता व्यक्तिहरूलाई जनताले उचित जवाफ दिनेछन् भन्ने आफूहरूलाई विश्वास रहेको पनि यी गोरामुमो नेताले बताए।

एक प्रश्नको उत्तरमा उनले गोरामुमोले पहाड़को समस्याको स्थायी समाधान मागिरहेकोले छैटौं अनुसूचीभन्दा तलको व्यस्था नमान्ने र छैटौं अनुसूचीभन्दा माथिको व्यवस्था व्यवस्था स्वीकार गर्ने बताए।

“हामीले पहाड़को स्थायी समाधान भनेका छौं। पहाड़को स्थायी समाधानमा उनीहरूले (केन्द्र सरकार)-ले के सोच्नु हुन्छ। एनडीए सरकार बनेपछि एनडीए सरकारको के बेस्ट अफर पहाड़लाई हुन्छ, पार्टीलाई होइन’’, उनले थपे, “हामीले पहाड़को स्थायी समाधान हुनुपर्छ भनेका छौं, सेन्ट्रल एक्टमा छैटौं अनुसूचीभन्दा मुनि हामी मान्दैनौं। छैटौं अनुसूचीभन्दा माथिको कुरा केन्द्र सरकारले जे दिनुसक्छ, त्यसलाई हामी स्वीकार गर्छौं, तर छैटौं अनुसूचीभन्दा मुनि हामी मान्दैनौं भनेर हाम्रो अड़ान स्पष्ट पारेका छौं। र हाम्रो अड़ान उनीहरूलाई पनि राम्ररी थाह छ।”

उनले थप भने, “पहाड़को स्थायी समाधानका लागि यसलाई दुई शक्ति मिलेर हामी जुन उम्मेद्वारलाई जिताएर पठाउँछौं, हामीले समर्थन गरेको सरकार दिल्लीमा बनिन्छ, उनीहरूलाई यसबारे काम गर्न लगाउने हाम्रो जिम्मा हो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here