कमान बन्द यसपालिको भोट पनि बन्द

0
1069
भोट बन्द गर्ने चेताउनीको पोस्टर टाँस्दै प्रतिनिधिहरू।

दार्जीलिङ, 20 मार्च : पेशोक कलेजभेल्ली र धोत्रे चियाकमानका श्रमिकहरूले आगामी लोकसभा चुनाउमा भोट नहाल्ने चेताउनी दिएका छन्। यी तीनवटै चियाकमान पछिल्ला तीनवर्षदेखि बन्द अवस्था छन्।

यी तीनवटै बन्द चियाकमानका मानिसहरूले बुधबार दार्जीलिङको प्रेस गिल्डमा पत्रकार सम्मेलन आयोजन गरी चुनाउअघि तीनवटै चियाकमानका श्रमिकहरूका लागि ठोस केही नगरे भोट नहाल्ने चेताउनी हुन्। यसबारे आज उनीहरूले दार्जीलिङ शहरमा व्यापक पोस्टरिङ पनि गरे।

पत्रकारहरूलाई सम्बोधन गर्दै शरण राईले भने, “लगभग तीन वर्षदेखि पेशोक, कलेजभेल्ली र धोत्रे चियाकमान बन्द छन्। कमान बन्द भएकोले हामी भोकभोकै छौं। हामीसँग आयआर्जनको अर्को कुनै स्रोत छैन। नानीहरू पढ़ाउनदेखि अन्य धेरै कुरामा हामीले समस्या भोगिरहेका छौं। हाम्रो कमान बन्द भएदेखि हामीलाई एकदमै अप्ठ्यारो  परिरहेको छ।”

राईका अनुसार कमान खोल्नका लागि उनीहरूले धेरैपटक कोलकातादेखि दिल्लीसम्म र क्षेत्रीय पार्टीहरूका कार्यालय कार्यालय पुगेर गुहार लगाइसकेका छन्। तर उनीहरूले भोगिरहेका दुःख कष्टलाई कसैले सुनिदिएका छैनन्। समस्या समाधानका लागि कसैले पनि  कुनै पहल गरिदिएका छैनन्।

“अब भोटको बजार आइरहेको छ। भोट हुन गइरहेको छ। त्यसैले हामी घोत्रे, कलेजभेल्ली र पेशोकका सबै मिलेर निर्णय लिएका छौं, यदि हामीलाई केही गरिदिन्छ भने भोट हाल्छौं। तर हाम्रो कुरामा कुनै सुनवाइ भएन भने हामी भोट हाल्दैनौं।”

राईका अनुसार यी तीनवटै कमान बन्द अवस्थामा रहे तापनि मालिकपक्षले बन्द भएको कुनै घोषणा भने अहिलेसम्म गरेको छैन।

“हामीलाई दुःख छ। हाम्रको दुःख र चित्कारलाई अहिलेसम्म कसैले सुनिदिएनन्। त्यसैले यस्तो कदम उठाउन बाध्य भएका हौं”, उनले भने।

आज पत्रकार सम्मेलनमा तीनवटै चियाकमानका प्रतिनिधिहरू उपस्थित थिए। राईका अनुसार तीनवटा चियाकमानमा लगभग 10,000 मतदाता छन्। उनीहरूको समस्याबारे कसैले सकारात्मक पहल गरेको खण्डमा भोट नहाल्ने अड़ानबाट पछि सर्नसक्ने पनि उनीहरूले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here