कोरोनाको राम नवमी, गुड फ्राइडे कार्यक्रमहरू रद्द

0
1558
सिञ्चेल मन्दिर।

दार्जीलिङ, 20 मार्चः राम नवमी, गुड फ्राइडे आदि धार्मिक अनुष्ठानहरू पनि कोरोना भाइरसबाट प्रभावित बनेको छ।

कोरोना भाइरसको सङ्क्रमण व्यापकरूपमा बढ़िरहेको विषयलाई ध्यानमा राखेर नै आज टाइगर हिल सिञ्चेल देवी मन्दिर कमिटीले आउँदो 25 मार्चदेखि शुरु हुने राम नवमी पूजालाई सामान्य ढङ्गले पालन गर्ने घोषणा गरेको छ।

कमिटीका सचिव बुद्ध तामाङ अनि संयोजक सचिन थापाले यसैको जानकारी गराउँदै भने, “गत वर्षसम्म सिञ्चेल देवी मन्दिरमा भव्यरूपले राम नवमी पूजाको आयोजना हुने गर्थ्यो। र यसपालिका लागि सम्पूर्ण तयारी भइसकेको थियो। तर, कोरोना भाइरसले देशभित्रकै नागरिकहरूलाई पनि आफ्नो चपेटमा लिइरहेको विषयलाई ध्यनामा राखेर नै पूजा आयोजक समितिले भव्यरूपमा पालन गरिने भएको राम नवमी पूजालाई सामान्यरूपले पालन गर्ने निर्यण गरिएको हो।’’

यसैले राम नवमी पूजाका लागि दार्जीलिङ शहर वरिपरिका विभिन्न मन्दिरबाट निकालिने धार्मिक ऱ्यालीहरूलाई रद्द गर्ने पूजा आयोजक समितिले अपील गरेको छ।

तामाङले भने, “प्रत्येक वर्ष नै रामनवमी पूजाको अवसर पारेर स्थानीय महाकाल पूजा कमिटी, ईडेन धाम, रकभिल धाम आदिले धार्मिक ऱ्याली निकालेर टाइगर हिलसम्म ल्याउने गर्थे, तर यसपालि यसप्रकारको ऱ्याली कुनै पनि मन्दिरले ननिकालिदिउन् साथै सिञ्चेल मन्दिरमा पूजा गर्ने भक्तहरूले पनि आ-आफ्नै घरमा बसेर पूजा गरेको उचित हुनेछ।’’

उनले यसपालि मन्दिरमा नेपालका 8 र सिञ्चेल मन्दिरकै 6 जना गरी मोठ 14 जना पण्डितले रामनवमी पूजा गर्ने भएको जानकारी गराउँदै नेपालका पण्डितहरूलाई यो पूजामा नल्याइने पनि बताए। यसैले मन्दिरकै 6 जना पण्डितले मात्रै पूजा सम्पन्न गर्नेछन्।

उल्लेखनीय छ, आउँदो 25 मार्चदेखि शुरु हुने राम नवमी पूजा 2 अप्रेलसम्म जारी रहनेछ। तर, यो पूजा भक्तबिना नै पालन हुने निश्चित भएको छ।

एक प्रश्नको उत्तरमा उनले भने, “गत वर्षसम्म प्रत्येक पूजाको अवसरमा 9 देखि 10 हजारसम्म भक्तहरू पूजाका लागि आउने गर्थे। तर यसपालि केवल पूजा कमिटीका लगभग 25 जना सदस्यले नै पूजा गर्ने भएका छन्।’’

यसका साथै रोमन क्याथोलिक डायोसिस अफ् दार्जीलिङका विशप स्टेफन लेप्चाले हिजो 19 मार्चदेखि 40 शुक्रबारे धार्मिक प्रार्थना साथै व्यापक मात्रामा भक्तहरू भेला भएर पालन गरिने  गुड फ्राइडे कार्यक्रमहरूलाई पनि रद्द गरिएको घोषणा गरेका छन्।

उनले भने, “कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्टे्रेशन (जीटीए)-ले लिएको निर्णय स्वागतयोग्य छ। यसै कारण रोमन क्याथोलिक डायोसिस अफ् दार्जीलिङले पनि भक्तहरूको भीड़माझ आयोजना गरिने सम्पूर्ण कार्यक्रमलाई वर्तमानका लागि रद्द गरेको हो। ताकि कोही पनि यो कोरोना भाइरस जस्तो महामारीको शिकार बन्न नपरोस्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here